
२८ चैत, काठमाडौं । राँके जुलुस निकालेको आरोपमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ । राँके जुलुस निकालिएका सहकारी पीडितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पनि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए ।
‘राँके जुलुससहित हुलहुज्जत गर्नेलाई नियन्त्रणमा लिइएको हो । अवस्था हेरेर छाड्ने कि म्याद थप गर्ने भन्ने टुंगो लाग्नेछ,’ एसपी बोहोराले भने ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले नियन्त्रणमा लिइएका व्यक्तिलाई तत्काल रिहा गर्न माग गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राखेर अमानवीय व्यवहार गरिएको भन्दै अभियानका सचिव रामनारायण श्रेष्ठले विज्ञप्ति समेत निकालेका छन् ।
उनकाअनुसार माइतीघरबाट ११ जना र बाजालु क्षेत्रबाट १३ जनालाई नियन्त्रणमा लिइएको छ ।
सबैलाई बिना सर्त रिहा गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनलाई दमन नगरी वार्ताको माध्यमबाट समाधान गरिनु पर्ने र पीडितहरूलाई न्याय दिन सरकारले समाधानको बाटो खोज्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4