
२८ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।
माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले आन्दोलन गरिरहेका छन् । मुख्य लेनमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् । तर दुवै तर्फका सहायक लेनबाट भने मंगलबारसम्म निर्वाध गाडीहरू गुडिरहेका थिए ।
तर आज विहीबार शिक्षकहरूले दक्षिण तर्फको लेन पनि कब्जा गरेर प्रदर्शन गरेका छन् । जसका कारण बानेश्वरबाट माइतीघरतर्फ गइरहेका गाडीलाई उनीहरूले बिजुलीबजार पुलबाट अगाडि बढ्न दिएका छैनन् ।
बानेश्वर भएर माइतीघरतर्फ गइरहेको गाडीलाई शिक्षकहरूले अगाडि बढ्न नदिँदा बिजुलीबजार पुल क्षेत्रमा केहीबेर तनाव सिर्जना भयो । प्रहरी र आन्दोलित शिक्षकहरूबीच धकेलाधकेलसम्मको अवस्था सिर्जना भयो ।
आन्दोलनकारी शिक्षकहरूले गाडी अगाडि बढ्न नदिएपछि बिजुली बजार पुगेका गाडीहरु बाध्य भएर ब्याक हुनु पर्यो । अहिले पनि तीन वटै लेन कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् ।
शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भनिएको छ । सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4