+
+
Shares

गुल्मीमा हावाहुरीले विद्यालय र घरका छानो उडायो, विद्युत् सेवा अवरुद्ध (तस्वीरहरू)

जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा बहादुर सारुका अनुसार हावाहुरीका कारण घर, होटल, विद्यालय लगायतका संरचनाको छानो उडाएको छ

अनिल खत्री अनिल खत्री
२०८१ चैत २८ गते १३:२७

२८ चैत, गुल्मी । गुल्मीमा गएराति वर्षासहित आएको हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा बहादुर सारुका अनुसार हावाहुरीका कारण घर, होटल, विद्यालय लगायतका संरचनाको छाना उडाएको छ ।

धुर्कोट गाउँपालिका–४ स्थित जैसीथोक रौताडीका पूर्णप्रसाद पाध्याको दुईतले टिनको घरको छानो पूर्ण रूपमा उडाएको छ । त्यस्तै, सोही गाउँपालिका–३ बर्दबासका कृष्ण विष्टको दुईतले घरको पालीे र बाख्राको खोरमासमेत हावाहुरीका कारण क्षति पुगेको छ ।

धुर्कोट गाउँपालिका–४ बर्बोट बजारमा सञ्चालित अरुण गैरेले संचालन गरेको सुपारी होटल एण्ड लज पनि हावाहुरीको क्षती पुर्‍याएको छ । उक्त होटलको जस्ताले छाएको छानो पूर्ण रूपमा उडाएको छ ।

प्रहरीको टोलीले अहिले उद्धार तथा क्षतिको विवरण संकलन गरिरहेको डीएसपी सारुले जानकारी दिए ।

त्यस्तै, रेसुंगा नगरपालिका वडानम्बर–५ गोवानेका अर्जुन विकको दुईतले टिनले छाएको घरको छानो उडाएको छ ।

रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ ग्वादीका कृष्ण प्रसाद ज्ञवालीको ढुङ्गा–माटोले बनेको कच्ची घरको छानोसमेत उडाएको प्रहरी नायब उपरीक्षक सारुले बताए ।

उनका अनुसार जिल्लामा हालसम्म हावाहुरीका कारण मानवीय र पशुचौपायको क्षति भएको छैन् । ग्रामिण क्षेत्रका केही विद्यालय पनि हावाहुरीको चपेटामा परेका छन् ।

यसअघि गत चैत १७ गते मालिका गाउँपालिका वडानम्बर–४ अर्खाबाङ्गस्थित अर्खाबाङ्ग माध्यमिक विद्यालयको छानो हावाहुरीले उडाएको थियो । गाउँपालिका भित्रका ५ वटा विद्यालय, महिला समूहको भवन र अर्खाबाङ्ग बजार क्षेत्रका केही घरका छाना उडाएको प्रहरीले जनाएको छ ।

अहिले ग्रामिण क्षेत्रमा सामान्य पानीसहित हावाहुरी चलिरहेको छ । साथै विद्युत् सेवा समेत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

जिल्लाका केही गाउँका नागरिकको जनजीवन प्रभावित भइरहेको छ । साथै पानी र हावाहुरीका कारण विद्युत् र टेलिफोन सेवा समेत अवरुद्ध भएको छ ।

प्रहरी र स्थानीय प्रशासन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?