
काठमाडौं । युट्युबको म्युजिक प्लाटफर्म ‘युट्युब म्युजिक’मा २०८१ साल (अप्रिल २०२४-अप्रिल २०२५)सम्म धेरै हेरिएका/सुनिएका नेपाली संगीतकर्मी को हुन् ? संगीतमा चासो राख्नेलाई यो प्रश्न रोचक हुनसक्छ ।
गायिका शान्तिश्री परियार यसवर्ष ‘युट्युब म्युजिक’मा नेपालभित्र सर्वाधिक हेरिने नेपाली संगीतकर्मी बनेकी छन् । उनको स्वर रहेका २० गीतबाट उनलाई १६ करोडभन्दा धेरै पटक सुनिएको उल्लेख छ ।
रुकुम मैकोट, बसेऊ अलक्कै, बिस्ताराले पोल्यो, बन्दीपुरैमा, साँझ पर्यो झमक्कै, घर कता हो बैनीको लगायतका गीतबाट शान्तिश्रीलाई धेरै सुनिएको देखिन्छ ।
दोस्रो स्थानमा सुशान्त केसी छन् जसलाई ११ करोड पटक सुनिएको उल्लेख छ । उनका बार्दली, पर्ख न, सारंगी, झ्यालबाट, क्या कर्दिया, साथी, रिसाउने भए, सताएर लगायतका गीतबाट उनका धेरै दर्शक आएको जनाइएको छ ।
तेस्रो स्थानमा एसडी योगी छन् जसलाई ८ करोड ९४ लाख पटक सुनिएको छ । रुकुम मैकोट, सुन सुन सुन्दरी, बिन्जुरी, रुकुम मैकोट (अडियो), चन्द्रमा, धागो, लभ गर्ने मान्छे उनका धेरै सुनिएका हेरिएका गीत यो प्लाटफर्ममा छन् ।
चौंथो स्थानमा रहेका सज्जनराज वैद्यलाई ८ करोड पटक सुनिएको छ । सस्तो, मुटु, सुन कान्छी, धैर्य, नगन्य माया, हत्तेरी, ९८४१, पर्खाइ उनका २०८१ सालमा धेरै सुनिने गीतमध्ये पर्छन् ।
युट्युब म्युजिकमा नेपालभित्र यसवर्ष धेरै सुनिने संगीतकर्मी भने यी होइनन् । सूचीमा भारतीय संगीतकर्मीको दबदबा छ । सबैभन्दा धेरै सुनिने पहिलोमा अरिजित सिंह, दोस्रोमा अल्का यागनिक, तेस्रोमा उदितनारायण, चौंथोमा श्रेया घोसाल र पाँचौमा मात्र शान्तिश्री छिन् ।
सुशान्त १० औं, एसडी योगी १३ र सज्जनराज वैद्य १४ औं स्थानमा छन् । युट्युब म्युजिकले नेपाल भनेर छुट्टै खण्ड त देखाएको छैन । तर, नेपाल लोकेसन लेखेर कस्ट्युम सर्च गर्दा यसवर्षको नेपाली संगीतबारेको ट्रेन्ड थाहा पाउन सकिन्छ ।
प्रतिक्रिया 4