+
+
Shares

बिस्का जात्राको अवसरमा भक्तपुरमा शुभकामना र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १४:३३

२८ चैत, भक्तपुर। बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्‍याली निकालिएको छ ।

जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी, स्कुल÷कलेजका शिक्षक, विद्यार्थी, स्काउट, संस्कृतिप्रेमी, नागरिक अगुवा एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र्‍यालीमा सहभागी थिए ।

भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयबाट शुरु भएको शुभकामना र्‍याली टौमढीमा पुगी सभामा परिणत भएको थियो ।

सभामा सम्बोधन गर्दै नेमकिपाका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले स्वदेशी तथा विदेशी पर्यटकहरुले समेत प्रत्यक्ष हेर्ने ऐतिहासिक बिस्का जात्रालाई सभ्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नु सबैको कर्तव्य भएको बताए ।

विभिन्न समयमा भक्तपुर भ्रमण गर्ने विद्वानहरुले ‘भक्तपुर नघुमे संसारका आधा भाग नघुमे सरह हुन्छ’ भनेको स्मरण गर्दै उनले बिस्का जात्रालाई सभ्य र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भक्तपुरबासीसहित सबै सरोकारवालाई अनुरोध गरे ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा मर्यादित रुपमा मनाउन यही चैत १४ र १९ गते सम्बन्धित सरोकारवालाहरुको बैठक बसी आवश्यक तयारी पूरा गरीसकेको जानकारी दिए ।

संसारभर भक्तपुर साँस्कृतिक नगरका साथसाथै जीवित संग्रहालयको परिचय दिन सफल भइरहेको चर्चा गर्दै उनले सन् २०२३ मा नेपाल भ्रमणमा आएकामध्ये २५ प्रतिशतले भक्तपुर नगरको भ्रमण गरेको जानकारी गराए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले र्‍यालीमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै बिस्काको मुख्य आकर्षणको रुपमा रहने रथ तान्ने जात्रालाई सभ्य र सुरक्षित रुपमा मनाउन सम्पूर्ण नगरबासीहरुको साथ र सहयोगको अपेक्षा गरिएको बताइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, गुठी संस्थान भक्तपुर शाखा प्रमुख खिमा ओली, भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छें र वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि शुभकामना मन्तव्य राखेका थिए ।

यस वर्षको बिस्का जात्रा चैत २८ गते (आज)देखि सुरु हुँदै छ । बिस्का जात्राको पहिलो दिन, चौथो दिन, पाँचौं दिन र नवौ दिन भैरवनाथ तथा भद्रकाली देवी देवतालाई विभिन्न काठ तथा बेतबाट तयार पारिएको रथमा राखी उक्त रथलाई डोरीले तानेर नगरका बिभिन्न टोलमा परिक्रमा गराइन्छ ।

बिस्काका मुख्य आकर्षण रथ यात्रा, लिङ्गो उभ्याउने र ढलाउने समारोहलाई मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?