अहिले खानपान र जीवनशैलीमा ध्यान दियो भने भोलि ठूलो रोग लाग्नबाट बच्न सकिन्छ भन्ने धेरैलाई थाहा हुन्छ । तर त्यसमा त्यति चासो नदिएको देख्छौँ हामी । स्वस्थ समाज निर्माणका लागि यो ठूलो समस्याको रुपमा रहेको छ ।
यस्ता सुझाव हामीले उपचार गर्न आएका बेला बिरामीलाई पनि भनिरहेका हुन्छौँ । मिडियामार्फत धेरै कुरा जानकारी दिइरहेका हुन्छौँ । तर, मान्छे आफ्नै दुनियाँमा रमाउने क्रममा स्वास्थ्यका विषयमा त्यति धेरै सचेत भएको पाइँदैन ।
अहिले हात धोएर खाना खानुपर्छ, बासी, सडेगलेको, झिँगा भन्किएको खानुहुँदैन भनेर धेरैलाई सिकाइरहनु पर्दैन । ती कुरामा बानी बसिसक्यो ।
नियमित व्यायाम गर्ने, हिँडडुल गर्ने, खाना स्वस्थ खालको खाने, कार्बोहाइड्रेडहरु, चिनीजन्य कुरा कम खाने, चुरोट रक्सी नखाने, धेरै चिन्ता नलिने, तनावमा नरहने जस्ता सुझाव अहिले हामीले दिइरहेका हुन्छौँ। हरिया तरकारी, सागपात धेरै खान भनिरहेका हुन्छौँ ।
अनि तौल बढेको छ भने, त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्छौँ । तौल नियन्त्रणमा राख्दा उच्च रक्तचाप, मधेमुह, उच्च कोलेस्टेरोल, मुटुरोग र क्यान्सरबाट समेत बच्न सकिन्छ, भन्ने कुरा भनिरहेका छौँ । नियमित रुपमा घाममा बस्ने बानी गर्यो भने भिटामिन ‘डी’ प्राप्त गर्न सकिन्छ।
अरू भिटामिनसँगै भिटामिन ‘डी’ पनि शरीरमा यथेष्ट मात्रामा छ भने मुटु रोग, उच्च रक्तचाप, मधुमेह, मनोरोग, कोलेस्टेरोल तथा केही क्यान्सरको सम्भावना पनी कम भएर जाने विभिन्न अनुसन्धानले देखाएको छ। यस्ता जानकारी चिकित्सकहरूले पटक-पटक दिएरहेका छन् । तर जानकारी पाएर मात्रै भएन, मान्छेले त्यसलाई खासै पालना गरिरहेको देखिँदैन ।
चिकित्सकले जे राम्रो हो, त्यो मात्रै गर्नुपर्छ
अन्य व्यक्तिमा जस्तै हामी चिकित्सकमा पनि स्वस्थकर जीवनशैली नअपनाउने खालको समस्या हुन्छ । यो अरुले घुसाइदिएर मात्रै नभई आफ्नै मनबाट आउनुपर्ने हुँदोरहेछ । हामीले अरुको उपचार गरिरहेका हुन्छौँ तर आफैँलाई हेर्न बिर्सिन्छौँ ।
चिकित्सकका विभिन्न फोरममा हामीले अहिले यो विषयलाई उठाइरहेका छौँ । हामीले अरुलाई सिकाइरहँदा, हामी आफैँ चाहिँ कस्तो खालको जीवनशैली बाँचिरहेका छौँ त, त्यो स्वस्थकर छ कि छैन ? भन्ने विषयमा बहस चलाउन प्रयत्न गरिरहेका छौँ ।
चिकित्सक, उसको रहनसहन, व्यवहारलाई समाजमा सबैले हेरिरहेका हुन्छन् । स्वास्थ्यको दृष्टिकोणले त झन् सबैले उसलाई रोलमोडल मान्ने नै भए ।
चिकित्सकले गरेका कुराहरु राम्रै होलान्, ऊ स्वास्थ्यको विषयमा सचेत नै होला भन्ने सोचिरहेका हुन्छन् ।
चिकित्सक भइसकेपछि स्वास्थको दृष्टिकोणबाट के राम्रो छ, त्यसलाई अनुसरण गर्नुपर्छ । चिकित्सक आफैँले चुरोट, गुट्खा, रक्सी जस्ता कुरा खानुभएन । नियमित व्यायाम गर्नुपर्यो । त्यसले के गर्छ भनेर मान्छेहरुले चिकित्सकलाई हेरिरहेका हुन्छन् ।
चिकित्सकले राम्रोसँग स्वस्थ बानीव्यहोरा अनुसरण सर्नसक्यो भने अरुलाई पनि सुझाव दिन सजिलो हुन्छ । अरुले पनि त्यही कुरा अनुसरण गरेर स्वस्थ जीवनशैली अपनाउन सक्छन् ।
प्रतिक्रिया 4