
२८ चैत, काठमाडौं । यूएन (संयुक्त राष्ट्रसंघ) शान्ति मिसनमा जानका लागि बिचौलियालाई रकम बुझाउने ८ जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको छ । बिचौलियालाई रकम बुझाएर मिसन जान खोज्नेलाई आन्तरिक छानबिन गरी सशस्त्र प्रहरी हेडक्वार्टरले कारबाही गरेको हो ।
कारबाही भोग्नेहरूमा जवानदेखि वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारी छन् । उनीहरूलाई नसिहतदेखि पद घटुवासम्मको कारबाही गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले बताए ।
‘आन्तरिक छानबिन गर्दा कैफियत देखिएपछि आठै जनालाई विभागीय कारबाही गरेका छौं । जसमा नसियतदेखि पद घुवासम्म छ,’ प्रवक्ता न्यौपानेले अनलाइनखबरसँग भने ।
मिसनका लागि भन्दै रकम बुझाउन बिचौलियासँग भेट गराउन मुख्य भूमिका खेलेको आरोप लागेका सशस्त्रका हवल्दार टुकबहादुर थापाको एक तह घटुवा गरिएको छ । उनलाई हवल्दारबाट सहायक हवल्दारमा झारिएको प्रवक्ता न्यौपानले बताए ।
अन्य सात जनालाई भने नसिहत, एक वर्ष बढुवा रोक्का, ग्रेड घटुवासम्मका कारबाही गरिएको छ । विगतमा विभागीय कारबाही भए/नभएको हेरेर सोहीअनुसार विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी हेडक्वार्टरले जनाएको छ ।
थापाले बिचौलियासँग सशस्त्रका सुरक्षाकर्मीलाई सम्पर्क गराएपछि उनीहरूले रकम बुझाएका थिए । बिचौलियालाई रकम बुझाएको सूचना पाएपछि सशस्त्रका डीएसपी नवराज बोहराको अध्यक्षतामा सात सदस्यीय समिति बनाएर छानबिन गरिएको थियो । उक्त समितिले २१ पुसमा प्रतिवेदन बुझाएको थियो ।
जसमा, १५ नम्बर हेडक्वार्टर काभ्रे दरबन्दी भएका वरिष्ठ हवल्दार भीमप्रसाद सुवेदीले १ लाख, पशुपति बाहिनी मुख्यालयमा कार्यरत हवल्दार राजकुमार लामाले १ लाख ५० हजार, सशस्त्र हेडक्वार्टरमा कार्यरत हवल्दार ईश्वर कार्कीले ८० हजार रुपैयाँ बुझाएको खुलेको छ ।
त्यसैगरी २२ नम्बर गण हेडक्वार्टर गुहेश्वरी भक्तपुरमा कार्यरत हवल्दार बेदबहादुर तामाङले १ लाख ५० हजार, सोही ठाउँमा कार्यरत सहायक हवल्दार कमल बानियाँले २ लाख, सशस्त्र हेडक्वार्टरको डग ह्यान्डलर शाखामा कार्यरत सहायक हवल्दार कुमार आले मगरले १ लाख ५० हजार, १९ नम्बर गुल्म हेडक्वार्टर नुवाकोटमा कार्यरत सहायक हवल्दार शंकर थापाले १ लाख ५० हजार र २२ नम्बर गण हेडक्वार्टर गुहेश्वरी भक्तपुरमा कार्यरत जवान यज्ञ खत्रीले १ लाख ५० हजार रुपैयाँ बुझाएको खुलेको थियो ।
उनीहरूले रकम हवल्दार टुकबहादुर थापाले सम्पर्क गराएका बिचौलिया दिनेश सापकोटालाई बुझाएका थिए । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ का २६ वर्षीय सापकोटाले आफू प्रहरीको असई भएको र उच्च तहका नेता र सुरक्षाकर्मीसँग राम्रो चिनजान भएको बताउँदै मिसनमा पठाउने प्रलोभन देखाएका थिए ।
उनीहरूमध्ये भीमप्रसाद, राजकुमार र ईश्वरले प्रहरी हवल्दार टुकबहादुर थापामार्फत आफूलाई असई बताउने व्यक्तिलाई रकम बुझाएको खुलेको थियो । सशस्त्र हवल्दार टुकबहादुरकै राष्ट्रिय वाणिज्य बैंकको खातामा उनीहरुले ३ लाख ३० हजार रुपैयाँ हालेका थिए । त्यसपछि टुकबहादुरले उक्त रकम आफूलाई असई बताउने व्यक्तिलाई पठाएको भेटिएको थियो ।
बाँकीले उनै टुकबहादुरमार्फत आफूलाई असई बताउने व्यक्तिसँग सम्पर्क गरी सोझै ती व्यक्तिलाई रकम बुझाएको आन्तरिक छानबिनबाट देखिएको थियो ।
तस्वीर र उच्च तहका व्यक्तिसँग गरिएको कुराकानी तथा च्याटसमेत देखाएर उनीहरूलाई विश्वासमा दिलाउने गरेको खुलेको थियो । आन्तरिक छानबिनबाट प्रहरीको असई बताउने व्यक्तिले ठगी गरेको खुलेपछि सशस्त्र प्रहरी हेडक्वार्टरले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै छानबिन गरिदिन आग्रह गरेको थियो ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग हुँदै अनुसन्धान लागि भने उक्त पत्र काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आइपुगेको थियो । अपराध अनुसन्धान कार्यालयले उक्त विषय छानबिन गरी ठगीको आरोपमा एक जनालाई पक्राउसमेत गरेको थियो । पक्राउ गरेपछि प्रहरीको असई बताउने व्यक्ति असई नभएको खुलेको थियो ।
नक्कली असई बनेर ठगी गर्ने चौतारा साँगाचोकगढी नगरपालिका–२ का २६ वर्षीय दिनेश सापकोटा पक्राउ परेका थिए । उनले आफूलाई चितवन ब्यूरोको असई बताउने गरेका थिए ।
पक्राउ परेका नक्कली असईले यूएन मिसनमा पठाएवापत प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिन खोजेको सशस्त्रका सुरक्षाकर्मीहरूले छानबिन समितिसमक्ष बयान दिएका थिए ।
असई बताउँदै ठगी गर्ने व्यक्ति चोरी तथा डाँकासम्बन्धी कसुर, बैकिङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसुरमा यसअघि पनि कारबाहीमा परेको व्यक्ति रहेको खुलेको थियो ।
प्रतिक्रिया 4