कसैको अनुहारमा एक–दुईवटा टक्क मिलेका कोठीले आकर्षण थप्छ, सुन्दरताको परिचय बन्छ । कतिपयले स्टाइलका लागि अनुहारको कुनै भागमा गाजलको कोठी समेत बनाएर हिँड्ने गर्छन् ।
तर कसैलाई भने अनुहारभरि कोठी आएर दिक्क बनाउँछ । कहिल्यै सोच्नुभएको छ-यी कोठी वास्तवमा किन आउँछ ? कसरी बन्छन् ?
हाम्रो छालालाई रङ उत्पादन गर्न मेलानोसाइट भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो तहमा रहन्छ र एउटा रङ बनाउने कोषले ३६ देखि ४० वटासम्म साधारण छालाको कोषलाई रङ दिन्छ ।
कुनै-कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौँ ।
यसरी छालामा देखा पर्ने कोठी वंशाणुगत हुनसक्छ । बाबुआमामा छ भने सन्तानमा पनि आउन सक्छ । अर्को भनेको घाममा बढी एक्सपोज हुँदा पनि कोठी धेरै आउनसक्छ।
प्रायः शरीरमा घाम पर्ने ठाउँ जस्तो अनुहार, हातखुट्टा, ढाडमा आउने गर्छ । यो घाममा हिंड्ने वा काम गर्ने मानिसमा आउने सम्भावना बढी हुन्छ ।
त्यस्तै, हर्मोनको उत्तारचढाव, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा पनि कोठी आउन सक्छ ।
जन्मिएपछि जुनसुकै बेला कोठी आउन सक्छ भने कुनै माथिल्लो सतहमा देखिने कोठी, कुनै भित्री भागमा गएर बाहिर रौं पलाउने कोठी हुन्छ ।
कोठीका प्रकार
कोठी सामान्यतय दुई प्रकारका हुन्छन् । जन्मजात नै आउने कोठीलाई कन्जेनाईटल नेभस भनिन्छ । यो शरीरको जुनसुकै भागमा आउन सक्छ ।
त्यस्तै, उमेर बढ्दै गएपछि विभिन्न कारणले आउने कोठी पनि हुन्छ । जसलाई एक्वायर्ड मेलोसाइट्स नेभस भन्ने गरिन्छ ।सतहमाथि छ भने जंक्सनल मेलानोसाइटिक नेभस भनिन्छ । भित्री तहमा भए कम्पाउन्ड नेभस र गहिरो तहमै भए इन्ट्राडर्मल नेभर भन्ने गरिन्छ ।
कोठी आउनु कस्तो अवस्थामा जोखिमपूर्ण ?
सबै कोठी जोखिमपूर्ण हुँदैनन् । तर ती मध्ये केही असामान्य खालको कोठी भने जोखिमपूर्ण मानिन्छ । चिकित्सा विज्ञानमा जोखिम मानिने कोठीलाई ए, बी, सी, डी र ई मा वर्गीकरण गरिएको छ ।
‘ए’ अर्थात् एसेन्ट्रिक भनेको आकार-प्रकार समान खालको नभएको कोठीलाई बुझिन्छ । कोठीभित्र पनि विभिन्न खालको भिन्नता छ भने स्वास्थ्यको हिसाबले शंकास्पद मान्न सकिन्छ ।
‘बी’ अर्थात् बोर्डर भनेको कोठीको किनार असमान्य खालको हुनु हो । यो पनि जाखिमपूर्ण हुन्छ ।
‘सी’ भन्नाले रङ परिवर्तन हुने कोठी हो । खैरो रातो, कालो हुँदै जाने वा कालो भएपछि फिक्का हुँदै जाने खालको कोठीको पनि एकपटक परीक्षण गर्नैपर्ने हुनसक्छ ।
‘डी’ भन्नाले डायमिटर हो । कोठीको चौडाई ६ मिलिमिटर भन्दा बढी भएमा शंकास्पद मानिन्छ ।
‘ई’ अर्थात इभोल्युसन । कोठी तीव्ररुपमा वृद्धि भइरहेको छ भने पनि खतराको घन्टी मान्नुपर्छ । जस्तो कि, ४ देखि ५ महिनाभित्र आकार र रङमा अत्याधिक वृद्धि भएमा तुरुन्त परीक्षण गराउनुपर्छ ।
यो बाहेक शरीरमा सयवटा भन्दा बढी कोठी छन्, वा वंशाणुगत कोठी २० सेन्टीमिटरभन्दा ठूलो आकार छ भने पनि शंकास्पद भनेर बुझिन्छ ।
किनकि, यस्ता कोठीले कहिलेकाहीँ क्यान्सरको रुप लिन सक्छ ।
शरीरको आकारसँगै कोठी फैलिन सक्छ
बाल्यकालबाटै देखा परेका साना कोठी शरीरको आकार बढेसँगै लिनथाल्छ । जुन स्वभाविक हो । उमेरसँगै पछि देखा परेका कोठी पनि थोरै मात्रामा बढ्न सक्छन् । यी कोठी हानिकारक हुँदैन ।
कोठीले हटाउन मिल्छ ?
हटाउन मिल्छ । तर, हटाउनुभन्दा अघि सामान्य, शंकास्पद वा क्यान्सरजन्य छ कि छैन हेरिन्छ । जहाँसम्म यसलाई हटाउने कुरा छ, त्यसका लागि विभिन्न विकल्प उपलब्ध छन् ।
सामान्य खुर्किएर वा कोठी वरपरको छालासहित ठूलो चिरफार पनि हुनसक्छ । जुन कोठीको आकार-प्रकारमा भर पर्छ । त्यस्तै, तिलकोठीलाई औषधि, लेजर प्रविधि र शल्यक्रियाबाट हटाउन सकिन्छ । तर औषधिले एकदम स-सानो कोठीलाई मात्र हटाउन सकिन्छ । ठूलो-ठूलो र छालाको माथि उठेका कोठी भएमा लेजर वा शल्यक्रियाबाटै हटाउनुपर्ने हुन्छ ।
यसलाई हटाउँदा हुने साइड इफेक्ट
कोठी निकाल्दा हुने साइड इफेक्ट विरलै छ । तर, वंशाणुगत कोठी जुन ५० सेन्टिमिटरभन्दा ठूलो छ भने त्यसलाई हटाउँदा धेरै चरणको शल्यक्रिया आवश्यक हुनसक्छ ।
शल्यक्रियाबीच धेरै अन्तर हुने हुँदा त्यहाँको छाला पुर्न शरीरको अन्यभागको छाला राख्न पर्ने हुँदा उपचार जटिल भने हुनसक्छ ।
हटाउन कुन विधि उपयुक्त ?
कोठीको आकार, प्रकृति, प्रकार, रङ कस्तो छ ? सतहमा छ कि, भित्री सतहमा छ हेरेर कुन विधि उपयुक्त हुन्छ, त्यो तय गरिन्छ ।
शंकास्पद कोठी छैन भने खैरो खालको छ भने चिसोले सेक्ने विधि अपनाउन सक्छिन्छ । त्यस्तै, ब्लेडले खुर्किएको जसरी गर्ने शल्यक्रिया वा विद्युतीय माध्यमबाट पनि शल्यक्रिया गर्न सकिन्छ । यी विधि उपयुक्त हुनसक्छ ।
भित्री सतहमा भएको गाढा खालको कोठीका लागि शल्यक्रिया गरी टाका लगाइन्छ । असामान्य खालको कोठीको भाग ठूलो छ भने चरणवद्ध ढंगले शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
कोठीको भाग ठूलो छ भने इलेक्ट्रोनिक काउटेरिजिसन गर्नुपर्छ ।
कोठी फाल्नैपर्छ ?
कोठी फाल्ने, नफाल्ने नितान्त व्यक्तिगत रोजाइ हो । सौन्दर्यलाई असर पार्ने खालको कोठी भएमा चिकित्सकको सल्लाह र निगरानीमा हटाउन सकिन्छ ।
माथि उल्लेखित जोखिमपूर्ण अवस्थाका वा शंकास्पद कोठीहरू भएमा तुरुन्त हटाउने र क्यान्सरको शंका लागेको अवस्थामा बायोप्सी गर्नुपर्ने हुन्छ ।
कतिबेला चिकित्सकको सल्लाह लिने ?
कोठी हेर्दा एकनासको नभएको, असामान्य वृद्धि, रङमा परिवर्तन, घाउ वा रगत आएको खण्डमा चिकित्सकीय परामर्श आवश्यक पर्छ । किनकी, कहिलेकाहीँ यस्तै कोठी छालाको क्यान्सरमा परिणत हुनसक्छ । जुन पछि अन्य अंगमा फैलिनसक्छ।
बेलैमा क्यान्सर भएको परीक्षण भए उपचारपछि निको हुने सम्भावना बढी हुन्छ । छालाको क्यान्सर नेपालमा त्यति साझा रुपमा नदेखिए पनि विश्वमा छैठौं नम्बरमा पर्छ ।
घरेलु उपचार कति प्रभाकारी ?
कोठी हटाउन कोठीमा टुथपेस्ट, चुना, एसिड लगाउने चलन छ । यसले कोठी हट्नुको साट्टा छालामा एलर्जी तथा नकारात्मक असर मात्र गर्छ । त्यसैले यस्ता गलत प्रयास गर्नुहुँदैन। कोठी हटाउने कुनै पनि प्रमाणित घरेलु उपाय नभएकोले चिकित्सकलाई नै एकपटक देखाउनु उचित हुन्छ ।
कोठी आउन नदिन केही उपाय छ ?
वंशाणुगत कोठीलाई रोक्न सकिदैन । तर नयाँ आउने कोठीलाई कम गर्न घाममा कम हिंड्ने सन्सक्रिन लगाउने र समय–समयमा परीक्षण गराउनुपर्छ ।
कोठीको परीक्षण
चिकित्सकले आँखाबाट, ह्यान्ड लेन्सले र आधुनिक परीक्षण विधि डर्मस्कोप मेसिन प्रयोग गरेर कोठीको अवस्था जाँच गरिन्छ । यसको सहयोगबाट नै कोठीको कसरी उपचार गर्ने निष्कर्षमा पुग्न सकिन्छ । शंकास्पद कोठी वा सामान्य कोठी छुट्टाएर धेरै हदसम्म बायोप्सी गर्नबाट जोगाउँछ ।
प्रतिक्रिया 4