+
+
Shares

बराल राजीनामाको साइडइफेक्ट : घेराबन्दीमा रेक्टर र रजिस्ट्रार

बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिविमा स्वार्थ समूहहरू भने सलबलाएका छन् । करारले स्थायी र आंशिकले करार हुन पाउनुपर्ने माग गरिरहेका छन् । सर्वोच्चले नमिल्ने फैसला गरेपछि पनि उनीहरूले बराललाई दबाब दिएका थिए । तिनै दल निकटका केही समूह बरालको राजीनामा पछि रेक्टर र रजिस्ट्रारमाथि खनिन थालेका हुन् ।

दिनेश गौतम दिनेश गौतम
२०८१ चैत २८ गते २२:३०
बायाँबाट क्रमशः रेक्टर केसी, प्राडा केशरजंग बराल र रजिस्ट्रार रिजाल ।

२८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट प्राडा केशरजंग बरालले १५ चैतमा अचानक राजीनामा दिए । १३औं दिनमा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरे ।

आफैंले बनाएको टिमलाई समेत जानकारी नै नदिई प्राडा बरालले राजीनामा दिएका थिए । राजीनामा फिर्ता गराउन केसी र रिजाल पोखरा नै पुगे । तर सम्भव भएन । प्राडा बराल फिर्ता हुन चाहेनन् ।

मेरो योजना कार्यान्वयन नभएपछि गर्न सकिन्न भनेर राजीनामा दिएँ । त्यसैले उहाँहरूलाई पनि भनिनँ । फिर्ता गर्न उहाँहरू आउनुभएको थियो । फर्किन अब आवश्यक ठानिनँ’ राजीनामा स्वीकृत भएपछि अनलाइनखबर सँग बरालले भने ।

बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिविमा स्वार्थ समूहहरू भने सलबलाएका छन् । करारले स्थायी र आंशिकले करार हुन पाउनुपर्ने माग गरिरहेका छन् । तर सर्वोच्च अदालतले नमिल्ने फैसला गरेपछि पनि ती शिक्षक-कर्मचारीले बराललाई दबाब दिएका थिए । तिनै दल निकटका केही समूहहरू बरालको राजीनामापछि रेक्टर र रजिस्ट्रारमाथि खनिन थालेका छन् ।

मूल नेतृत्वले नै छोडेर हिंडेपछि रेक्टर प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजाल घेराबन्दीमा परेका हुन् ।

तीन दिन अघिको कुरा हो । रजिस्ट्रार रिजाललाई कार्यालयमै गएर दल निकटका प्राध्यापक र कर्मचारीले राजीनामा दिन र कार्यालय छोड्न दबाब दिएका थिए ।

‘पार्टी निकटका आएर रजिस्ट्रार र रेक्टर सरलाई दपेटेका छन् । किन बस्ने ? भनेर केही समूह आएका थिए’ रेक्टर र रजिस्ट्रार कार्यालयका एक कर्मचारीले भने, ‘उहाँहरूलाई धम्क्याएको हामीले पनि सुनेका हौं ।’ ती कर्मचारीका अनुसार त्यसपछि रजिस्ट्रार रिजाल कार्यालयमा गएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्राडा केशरजंग बराल ।

रेक्टर केसी बिहीबार कार्यालय गएका थिए । रेक्टर कार्यालयका कर्मचारीका अनुसार केसीलाई पनि कार्यालयबाट निस्कन दबाब आएको थियो । ‘रेक्टर सरलाई कार्यालयमा नबस्न दबाब आएको थियो’ एक कर्मचारीले भने, ‘धम्क्याएर राजीनामा दिन भनेको सुनेका छौं ।’

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी, कर्मचारी र प्राध्यापक संघ–संगठनका केही समूहले दबाब दिएका हुन् ।

‘सबैले होइन । त्रिविमा सधैं एउटा झुन्ड छ । जसले आफू अनुकूलको सरुवा बढुवा दिन दबाब दिन्छन् । तिनै समूहको दबाब आएको हो,’ रेक्टर र रजिस्ट्रार कार्यालयका कर्मचारी बताउँछन् ।

प्राडा बरालले नै रेक्टरमा केसी र रजिस्ट्रारमा बरालाई नियुक्तिका लागि सिफारिस गरेका थिए ।

उपकुलपतिले राजीनामा दिएकाले रेक्टर र रजिस्ट्रारले पनि राजीनामा दिनुपर्ने तर्क स्वार्थ समूहको हो । यतिसम्म कि सामाजिक सुञ्जालबाट पनि रेक्टर र रजिस्ट्रारमाथि प्रहार भइरहेको कर्मचारीहरू बताउँछन् ।

बरालको जस्तै समस्या र घेराबन्दीमा फेरि रेक्टर र रजिस्ट्रार परेका छन् । अब रेक्टर र रजिस्ट्रारले के गर्छन् भन्नेमा पर्ख र हेरको अवस्था छ ।

ती समूहको नेतृत्व गर्नेहरूको नाम भने कर्मचारीहरू उल्लेख गर्न डराउँछन् । राजीनामा दिएका बराल पनि ट्रेड युनियनबाट दबाब आउने गरेको बताउँछन् । ‘शिक्षक कर्मचारीका ट्रेड युनियन भने घेर्ने आए । माग पूरा गर्न दबाब दिन्थे,’ बरालले भने ।

दबाब आएको विषयमा रेक्टर केसी र रजिस्ट्रार रिजालले खुलेर प्रतिक्रिया दिन चाहेनन् । ‘हामीले सुधारको प्रयास गरेका छौं । बराल सरलाई पनि मिलेर काम गरौं भन्न पोखरा गयौं । त्यो सम्भव भएन’ केसी र रजिस्ट्रारले भने, ‘अलिअलि दबाब त आइहाल्छ । हामीले कुनै केही अपराध गरेका छैनौं ।’

राजीनामा दिएका बराल पनि यो टिमले सुधारको प्रयास गरेको दाबी गर्छन् । १३ महिनामा दबाबका बीच सुधारको खाका कोरिएको उनको निष्कर्ष छ । ‘परीक्षामा सुधार भएको छ । विद्यार्थीले एक दुई पेपर लाग्यो भने वर्ष दिन कुर्नुपर्थ्यो । नतिजा आएको १५ दिनमा परीक्षा दिएर पढ्ने वातवरण बनाएका छौं । पदाधिकारी नियुक्तिलाई मेरिटमा गर्ने सिस्टम बसालेका छौं । पूर्ण नभए पनि विरोधका बीच सुधारको काम भएको हो । तर मुख्य समस्या भनेकै दलीयकरण रहेछ,’ बराल भन्छन् ।

बरालको जस्तै समस्या र घेराबन्दीमा फेरि रेक्टर र रजिस्ट्रार परेका छन् । अब रेक्टर र रजिस्ट्रारले के गर्छन् भन्नेमा पर्ख र हेरको अवस्था छ । अहिले नै त्रिविलाई नेतृत्वविहीन बनाउने अवस्था छैन ।

बरालले राजीनामा स्वीकृत भएको पत्र बुझेपछि मात्र त्रिविको कामु उपकुलपति तोक्ने प्रधानमन्त्री ओलीको तयारी छ । अब नयाँ उपकुलपति नियुक्तिको पनि प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ ।

उपकुलपति नियुक्ति नभएसम्म तीन महिना रेक्टरलाई कामु उपकुलपतिको जिम्मेवारी दिने प्रावधान छ । यसमा पनि अब कुलपति ओलीले निर्णय लिनेछन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?