+
+
Shares

गौतमबुद्ध विमानस्थलको सकस, सिद्धार्थनगर मेयरले पठाए पर्यटनमन्त्रीलाई पत्र

उद्घाटनको तीन वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन नसक्नु दुःखद र पीडादायी रहेको उल्लेख गर्दै उनले शीघ्र अन्तर्राष्ट्रिय उडान नियमित गराउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १९:३८
नगरप्रमुख इस्तियाक अहमद खाँ/फाइल तस्वीर

२८ चैत, बुटवल । उद्घाटनको तीन वर्षसम्म विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि सरोकारवाला सरकारी निकायमाथि निरन्तर दबाब सिर्जना भइरहेको छ ।

रुपन्देहीका तीन व्यावसायिक संस्थाले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् भने सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै विमानस्थल सञ्चालनको सार्थक र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

उद्घाटनको तीन वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन नसक्नु दुःखद र पीडादायी रहेको उल्लेख गर्दै उनले शीघ्र अन्तर्राष्ट्रिय उडान नियमित गराउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।

‘विमानस्थल बनाउन यहाँका नगरवासीले आफ्नो पुर्ख्यौली थातथलो समेत छाडेर जग्गा दिए, समयमै निर्माण सम्पन्न गर्न पनि महत्त्वपूर्ण सहजीकरण गरे,’ उनले लेखेको पत्रमा छ, ‘तर, निर्माण सम्पन्नपछि पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा नगरवासी, उद्योगी–व्यापारी लगायत सिंगो रुपन्देही सहित लुम्बिनी प्रदेश समेत प्रभावित भएको छ, निजी क्षेत्र र नागरिक स्तरमा देखिएको उत्साह क्रमशः निराशामा बदलिँदै गएको छ ।’

नेपालका धेरै दूरगामी महत्त्व हेरेर विमानस्थल भैरहवामा बनाउने निर्णय भएको उल्लेख गर्दै उनले यो विमानस्थल लुम्बिनी प्रदेश र पश्चिम नेपालकै जनताको विकास र समृद्धिसँग जोडिएको बताएका छन् ।

उनले विमानस्थललाई मध्यनजर गर्दै अर्बाैं रकम ऋण सहयोग लिएर तयार भएकोमा हाल यो विमानस्थललाई आवश्यक पर्ने भौतिक पूर्वाधार, चार लेनका सडक, तारे होटलहरूमा अर्बाैं रुपैयाँ निजी क्षेत्रले गरेको लगानी समेत मध्यनजर गर्दै विमानस्थल सञ्चालनको विकल्प नरहेको समेत बताए ।

‘नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेको विमानस्थललाई अझै व्यवस्थित गरी पूर्णक्षमतामा चलाएर यो क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा सरकारले ८ महिना पहिला विमानस्थल सञ्चालन गर्नका लागि गरेका निर्णय पनि कार्यान्वयन नगर्दा झनै निराशा र चिन्ता थपिएको छ,’ उनले भने, ‘अत्यावश्यक कार्यालय पनि नखोल्ने, वायुसेवा कम्पनीलाई दिने भनिएको छुट सुविधा पनि नदिइएको हुँदा यहाँको सिंगो निजी क्षेत्र आक्रोशित छ, जुन स्वाभाविक पनि हो ।’

पछिल्लो समय केही महिना उडान गरेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान रोक्दा विमानस्थल सुनसान भएको र विमानस्थल निर्माणका क्रममा गरिएको अर्बाैं लगानीलाई समेत सुरक्षित गर्न तत्काल अन्तर्राष्ट्रिय उडान तालिका बनाइ पूर्णक्षमतामा सञ्चालनमा ल्याउन उनले आग्रह गरेका छन् ।

निजी क्षेत्रले विमानस्थल सञ्चालनका लागि दिँदै आएको दबाब स्वाभाविक रहेको जनाउँदै उनले यसलाई गम्भीरतापूर्वक लिएर विमानस्थल सञ्चालनका लागि सार्थक प्रयास नभए आफू एवं सिंगो पालिकाले नै नेतृत्व गरेर दबाब सिर्जना गर्न बाध्य हुने अवस्था सिर्जना नगराउन समेत सचेत गराएका छन् ।

यसअघि सिद्धार्थनगर उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

वैदेशिक रोजगारीमा जान चाहने श्रमिकका लागि म्यानपावर कम्पनीका कार्यालय र श्रम तथा स्वास्थ्य परीक्षण कार्यालय स्थापना नहुँदा एयरलाइन्स कम्पनीलाई यात्रु अभावको बहाना भएको व्यवसायीको तर्क छ ।

माग पूरा गराउन दबाब दिन सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरी भएको करिब एक खर्ब लगानीले प्रतिफल दिनुको सट्टा डुब्ने चिन्ताले व्यवसायी आक्रोशित छन् ।

मंसिर पहिलो साता एक नेपाली र चार विदेशी वायुसेवा कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरवेजले उडान सुरु गरे पनि एक महिना ‘भिजिबिलिटी’ को समस्या र कतिपयले यात्रु अभाव कारण देखाउँदै उडान रोकेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिबिलिटीको समस्या समाधान गर्न आईएलएसको विकल्पमा आरएनपीएआर प्रविधि लागु गरेपछि १६ चैतसम्म विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु भएका थिए ।

यसबीच काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि केही घण्टा बन्द थियो ।

त्रिभुवन विमानस्थल मर्मतपछि १८ घण्टा सञ्चालनमा आउन थालेपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द हुन थाले । यहाँका व्यवसायीले सरकार र सम्बन्धित मन्त्रालयका उच्च पदस्थ कर्मचारी काठमाडौं केन्द्रित व्यवसायीको अनुचित दबाब र प्रभावमा परेर गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न नचाहेको आशंका गरिरहेका छन् ।

वैदेशिक रोजगारीमा जान चाहने श्रमिकका लागि म्यानपावर कम्पनीका कार्यालय र श्रम तथा स्वास्थ्य परीक्षण कार्यालय स्थापना नहुँदा एयरलाइन्स कम्पनीलाई यात्रु अभावको बहाना भएको व्यवसायीको तर्क छ ।

भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीहरूले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेको, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय पनि नखोलेको र स्थानीय ट्राभल एजेन्सीलाई टिकट काट्न पोर्टल खुला नगरेकाले ९५ प्रतिशत टिकट काठमाडौंबाटै बिक्री हुँदा गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा चल्न नदिइएको टुर तथा ट्राभल व्यवसायीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?