२८ चैत, काठमाडौं । पोखरामा भइरहेको दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज टोली सेमिफाइनलमा पुगेको छ।
समूह ‘बी’ का अन्तिम खेलहरू मौसम खराबीका कारण हुन सकेनन्। त्यसैले नेट रनरेटको आधारमा गण्डकी हिरोज समूहको शीर्ष स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गर्यो।
गण्डकी र हिमालयन क्रिकेट एकेडेमी दुबै टोलीले दुई–दुई खेल खेलेर समान ५ अंक जोडेको थियो। तर गण्डकीको रनरेट उच्च (१.४३४६) भएकाले उसले अग्रता पायो, जबकि हिमालयनको रनरेट ०.८१५८ थियो।
ग्रेट हिमालयन क्रिकेट एकेडेमी र चितवन क्रिकेट क्लबले पनि दुई–दुई खेल खेलेका थिए तर दुवैले १/१ अंक मात्रै जोडे। ग्रेट हिमालयनको रनरेट माइनस २.११२८ र चितवनको माइनस ३.४७२५ थियो।
यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौं सेमीफाइनलमा पुगिसकेको छ। काठमाडौंले तीनै खेल जितेर ६ अंक बनाएको थियो।
प्रतियोगितामा १६ टोली सहभागी छन्, र ४ वटा समूह छन्। हरेक समूहबाट शीर्ष टोली मात्र सेमीफाइनल पुग्नेछ। प्रतियोगिता चैत २३ देखि सुरु भएर बैशाख ५ सम्म चल्नेछ।
भोलि समूह ‘सी’ अन्तर्गत कर्णाली एकेडेमी र मधेश प्रदेश क्रिकेट क्लब र हिमाल फ्रेन्डस क्रिकेट क्लब र लुम्बिनी खुकुरीबीच खेलहरू हुनेछन्।
प्रतिक्रिया 4