
२८ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न सरकारले विभिन्न नीतिगत तथा कार्यक्रमगत प्रयासहरू थालेको बताए ।
लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको, लगानी सम्बन्धी ऐन कानुनहरूलाई समयसापेक्ष बनाउने, एकल बिन्दु सेवालाई प्रभावकारी बनाउने, र विदेशी लगानी आकर्षित गर्न विशेष पहलहरू गरिएको उनको भनाइ थियो ।
उनले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नु पर्ने बताए ।
सरकारले निजी क्षेत्रलाई लगानी गर्न र उद्यमशीलता विकास गर्न प्रोत्साहित गरिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मेक इन नेपाल जस्ता अभियानहरूले स्वदेशी उद्योगलाई प्रतिस्पर्धात्मक बनाउन र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।
सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएको बताउँदै उनले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, विद्युत् आपूर्तिमा सुधार, सडक र यातायातको विकास तथा सूचना प्रविधिको विस्तारले उद्योग व्यवसायको लागत घटाउन र उत्पादन क्षमता वृद्धि गर्न मद्दत पुग्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ सरकारको महत्त्वपूर्ण साझेदार रहेको बताउँदै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।
प्रतिक्रिया 4