खानेकुरा देख्दा वा कल्पना गर्ना साथ हरकोहीको मुखमा र्याल आउँछ । एकछिन सोचौं त, यस्तो किन हुन्छ ?
धेरैलाई लाग्न सक्छ, र्याल फाल्ने पदार्थ भएकोले शरीरका लागि अनावश्यक कुरा हो । अर्थात् यसको कुनै आवश्यकता छैन । जुन वास्तवमा गलत हो ।
खानेकुरा चपाउन, टुक्र्याउन र खानानलीसम्म पुर्याउने काममा मद्दत गर्ने नै र्यालले हो ।
पहिला बुझौं, र्यालले शरीरमा के गर्छ ?
र्याललाई वैज्ञानिक भाषामा ‘सलाइभा’ भनिन्छ । हाम्रो मुखमा रहेका सलाइभरी ग्रन्थीहरूबाट यो उत्पादन हुन्छ । मानव मुखमा मुख्य रूपमा तीन जोडी सलाइभरी ग्रन्थीहरू हुन्छन् । पारोटिड, सबम्याक्सिलरी र सबलिङ्गुअल ।
यी ग्रन्थीहरूले दिनमा करिब १ देखि १.५ लिटर र्याल उत्पादन गर्छन्, जुन हाम्रो पाचन, मुखको स्वास्थ्य, र खाना चपाउन सजिलो बनाउन आवश्यक हुन्छ ।
र्यालमा एमाइलेज नामक इन्जाइम हुन्छ, जसले कार्बोहाइड्रेटलाई स-साना अणुहरूमा टुक्र्याउन सुरु गर्छ । र्यालको मुख्य काम खानालाई नरम अर्थात् गिलो बनाउनु, चपाउन सजिलो बनाएर खानानलीबाट निलेर पेटमा पुग्न सहज पार्ने र आन्द्राको लागि सोस्न योग्य पार्ने गर्छ ।
अर्को, र्यालमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले मुखलाई ब्याक्टेरियाबाट बचाउँछ । एन्टिब्याक्टेरियल गुण भएको र्याल जम्मा भएपछि खानेकुरामा भएको किटाणुहरु मार्ने काम गर्छ ।
त्यसैले, खानेकुरा देख्दा र्याल आएमा थुक्ने होइन, निल्नुपर्छ । यसरी निल्दा मुख र पेटमा भएका किटाणु मर्छन् ।
त्यस्तै, पेटमा भएको एसिडलाई सन्तुलनमा राख्ने काम पनि र्यालको हो ।
अब कुरा गरौं, खानेकुरा देख्दा नै र्याल किन आउँछ ?
यो प्रश्नको जवाफ हाम्रो मस्तिष्क र संवेदनासँग जोडिएको छ । खानेकुरा देख्दा र्याल आउनु एक स्वचालित शारीरिक प्रतिक्रिया हो, जसलाई ‘सेफालिक फेज अफ डाइजेसन’ भनिन्छ । यो पाचन प्रक्रियाको पहिलो चरण हो, जुन खाना मुखमा प्रवेश गर्नुअघि नै सुरु हुन्छ ।
जब हामी खानेकुरा देख्छौं वा यसको बारेमा सोच्छौं । हाम्रो मस्तिष्कको स्नायु प्रणाली सक्रिय हुन्छ । जसले पाचन प्रणालीलाई तयार गर्न तुरुन्त संकेत पठाउँछ । यो संकेत स्नायु प्रणालीमार्फत सलाइभरी ग्रन्थीहरूलाई सक्रिय बनाउँछ, जसले र्याल उत्पादन गर्छ ।
पहिला आँखा मोहित हुन्छ
हाम्रा आँखालाई खानेकुरा आकर्षक लाग्यो भने मस्तिष्कको हाइपोथालामस र लिम्बिक प्रणाली सक्रिय हुन्छ ।यी भागहरू भावना र भोकसँग सम्बन्धित छन् ।
उदाहरणका लागि, मिठो खानेकुरा देख्यो भने खाउँखाउँ लाग्नुको कारण हो, मस्तिष्कले तुरुन्तै यो खानयोग्य र स्वादिष्ट छ भन्ने संकेत पाउँछ । यो संकेतले सलाइभरी ग्रन्थीहरूलाई र्याल उत्पादन गर्न प्रेरित गर्छ ।
गन्धको प्रभाव
खानेकुराको गन्धले पनि र्याल उत्पादनमा ठूलो भूमिका खेल्छ । हाम्रो नाकले गन्ध पत्ता लगाउँदा, यो सूचना मस्तिष्कको ओल्फ्याक्ट्री बल्बमा पुग्छ र त्यहाँबाट पाचन प्रणालीलाई सक्रिय बनाउने संकेत जान्छ ।
मनोवैज्ञानिक प्रभाव
कहिलेकाहीँ खानेकुराको बारेमा सोच्दा वा सम्झँदा पनि र्याल आउँछ । यो हाम्रो मस्तिष्कको स्मृति र कल्पनाशीलतासँग जोडिएको छ । यदि तपाईंले पहिले कुनै स्वादिष्ट परिकार खानुभएको छ र त्यसको स्वाद याद छ भने मस्तिष्कले त्यही अनुभवलाई पुनःप्राप्त गर्न खोज्छ, जसले र्याल उत्पादनलाई उक्साउँछ ।
भोकको संकेत
र्याल आउनुले हामीलाई भोक लागेको संकेत दिन्छ, जसले हामीलाई खाना खान प्रेरणा दिन्छ। खानेकुरा देख्दा मुख रसाउने कारण पत्ता लगाउने वैज्ञानिक इभानले नोबेल पुरस्कार जितेका थिए ।
खानेकुरा देख्दा मुख रसाउने कारण पत्ता लगाउने पहिलो वैज्ञ इभान
यो कुरा पहिलोपटक पत्ता लगाउने व्यक्ति रसियन फिजियोलोजिस्ट इभान प्याभलोभ थिए । उनले कुकुरको हाउभाउलाई अध्ययन गरे । उनले कुकुरलाई दिनहुँ घण्टी बजाएर खाना दिन थाले । त्यसपछि घण्टी बज्नेबित्तिकै र्याल चुहाएर उत्साहित भएको देखे।
यसले उनले के पाए भने कुकुरहरू खानाका लागि मात्र नभई खानासँग जोडिएका संकेतहरू, जस्तै घण्टीको आवाज वा व्यक्तिको उपस्थिति सुन्दा पनि र्याल चुहाउँछन् ।
उनको यो पाचन प्रणालीसम्बन्धी अनुसन्धान र र्याल निस्कने अवलोकनले सन् १९०४ मा फिजियोलोजी तथा मेडिसिनको नोबेल पुरस्कार समेत जितायो ।
र्याल नआउन पनि सक्छ
कहिलेकाहीँ, तनाव, डिहाइड्रेसन, वा औषधिको प्रभावले र्याल उत्पादन कम हुन सक्छ, जसलाई ड्राइ माउथ (जेरोस्टोमिया) भनिन्छ। यस्तो अवस्थामा खाना चपाउन र निल्न गाह्रो हुन्छ, र मुखमा संक्रमणको जोखिम पनि बढ्छ। त्यसैले, खानेकुरा देख्दा र्याल आउनु स्वस्थ शरीरको संकेत पनि हो।
प्रतिक्रिया 4