
२९ चैत, पेरिस । विश्वमा पुनः प्रयोग गरिने प्लास्टिकको मात्रा १० प्रतिशतभन्दा कममा स्थिर रहेको र अधिकांश नयाँ प्लास्टिकहरू अझै पनि जीवाष्म इन्धनबाट बनिरहेका एक नयाँ अध्ययनले जनाएको छ ।
चीनको सिन्हुआ विश्वविद्यालयका अनुसन्धाताहरूले प्लास्टिक उत्पादनमा वृद्धि भए पनि पुनः प्रशोधन र प्रयोग (रिसाइक्लिङ) को दरमा खासै कमी नआएको र यसले विश्वव्यापी वातावरणीय चुनौती खडा गरेको बताएका छन् ।
‘कम्युनिकेसन्स अर्थ एन्ड इन्भाइरोमेन्ट’ नामक जर्नलमा प्रकाशित उक्त अध्ययनको निष्कर्ष पछिल्लो चरणको वार्तामा सहमति हुन नसकेपछि प्लास्टिक प्रदूषणलाई सम्बोधन गर्ने सन्धिका लागि राष्ट्रहरू फेरि वार्ता गर्नेे तयारीमा जुटेका बेला आएको हो ।
प्लास्टिक जमिनबाट टाढा समुद्रको गहिराइमा र अग्ला हिमालमाथिको हिउँमा फेला परेको छ भने जनावरका रगत र दूधमा पनि स–साना कण फेला परेका छन् ।
‘बढ्दो अन्तर्राष्ट्रिय चिन्ताको बाबजुद विश्व समुदायको आपूर्ति शृङ्खलामा प्लास्टिकको असरबारे व्यापक विश्लेषणको उल्लेखनीय अभाव देखिएको छ,’ अनुसन्धानका लागि जुटेका क्वानिन टान र सहकर्मीहरूले लेखेका छन् ।
यसलाई सम्बोधन गर्न उनीहरूले राष्ट्रिय तथ्याङ्क, उद्योग रिपोर्ट र अन्तर्राष्ट्रिय तथ्याङ्कहरूमा आकर्षित गरेका छन् । सन् २०२२ मा प्लास्टिक क्षेत्रको पहिलो विस्तृत विश्वव्यापी विश्लेषण बनाइएको थियो ।
सन् २०२२ मा ४० करोड टन नयाँ प्लास्टिकमध्ये ९.५ प्रतिशत मात्र रिसाइकल गरिएको सामग्रीबाट उत्पादन भएको पाइएको छ ।
‘वैश्विक रिसाइक्लिङ दर स्थिर रहेको देखिएको छ । विगतका वर्षहरूको तुलनामा थोरै मात्र सुधारलाई प्रतिबिम्बित गर्दछ,’ अनुसन्धान रिपोर्टमा उल्लेख छ ।
बाँकी प्लास्टिकको उत्पादन मूलतः तेल र ग्याँसजस्ता जीवाष्म इन्धनहरूबाट पाइएको छ र यसले प्लास्टिक उत्पादनसँग सम्बन्धित वातावरणीय चिन्ताहरूलाई सम्बोधन गर्न ‘थोरै प्रगति’ भएको पुष्टि गर्दछ ।
‘प्लास्टिक उत्पादनका लागि जीवाष्म–इन्धनका स्रोतहरूमा उच्च निर्भरताले जलवायु परिवर्तनलाई कम गर्ने विश्वव्यापी प्रयासहरूमा थप सम्झौता गर्नेछ,’ लेखकहरूले लेखेका छन्।
अवरुद्ध छ पुनः प्रयोग प्रक्रियाको मार्ग
अनुसन्धाताहरूले प्लास्टिक रिसाइकल गर्न गाह्रो हुनुका कारणहरू यसरी उल्लेख गरेका छन्-
फोहोर र लेबल: प्लास्टिकमा खानाका अवशेषहरू वा लेबलहरू टाँसिएको हुँदा त्यसलाई पुन: प्रयोग गर्न कठिन हुने देखिएको छ। किनकि त्यसलाई सफा गर्नका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ।
प्रकार र जटिलता: प्लास्टिक विभिन्न प्रकारका हुन्छन् र तिनीहरूलाई बनाउँदा विभिन्न रसायनिक पदार्थहरू मिसाइएको हुन्छ। त्यसैले, सबै प्रकारका प्लास्टिकहरूलाई एकै तरिकाले पुन: प्रयोग गर्न सम्भव हुँदैन।
आर्थिक कारण: नयाँ प्लास्टिक उत्पादन गर्नु, पुरानो प्लास्टिकलाई पुन: प्रयोग गर्नुभन्दा सस्तो हुन्छ। यसले गर्दा पुरानो प्लास्टिकलाई रिसाइकल गर्ने उद्योगहरूमा लगानी गर्न मानिसहरू उत्साहित हुँदैनन्। यसले गर्दा प्लास्टिकको पुन: प्रयोग गर्ने कामलाई निरन्तरता दिन कठिन बनेको देखिन्छ ।
अमेरिकाकी अभ्यास निरासाजनक
अनुसन्धाताहरूले प्रतिव्यक्ति प्लास्टिकको सबैभन्दा ठूलो उपभोक्ता संयुक्त राज्य अमेरिकालाई पाँच प्रतिशत मात्र पुनः प्रयोग गरिएको सबैभन्दा कम रिसाइक्लिङ दर भएको देशहरूमध्ये एकका रूपमा पहिचान गरेका छन् ।
उनीहरूले विश्वव्यापी फोहोर विसर्जनमा ‘महत्वपूर्ण परिवर्तन’ बारे पनि उल्लेख गरेका छन्, ल्यान्डफिल घट्दो क्रममा छ र लगभग एक तिहाई प्लास्टिक फोहोर जलाइएको छ।
विश्वव्यापी कुल फोहोरको ४० प्रतिशत ल्यान्डफिल अधिकांश प्लास्टिक फोहोरको मुख्य समस्या मानिएको छ ।
तर युरोपेली सङ्घ, चीन र जापानमा सबैभन्दा बढी जलाउने दर रहेको र प्लास्टिकजन्य फोहर मैला व्यवस्थापन नगर्ने सबैभन्दा बढी अभ्यास गरिएको विधिका रूपमा देखिएको छ ।
यद्यपि समग्र रिसाइक्लिङ दरलाई असर गर्न सक्ने अनौपचारिक फोहोर विस्थापन योजनाहरूको ‘महत्त्वपूर्ण भूमिका’ लाई प्रदूषण बढ्नुको प्रमुख जिम्मेवार अध्ययनले मानेको छैन ।
अर्को अध्ययनको नतिजा पनि उस्तै
प्लास्टिक जलाउँदाको खतरा बारे अर्को अध्ययनको नतिजा पनि त्यस्तै चेतावनीपूर्ण रहेको छ ।
गत सेप्टेम्बरमा ‘युनिभर्सिटी अफ लिड्स’का अनुसन्धाताहरूले गरेको अध्ययनले प्लास्टिकलाई जथाभावी फाल्नु वा खुला ठाउँमा जलाउनु दुवै पृथ्वीको लागि हानिकारक भएको देखाएको छ।
प्लास्टिक जलाउँदा वातावरणमा हानिकारक धुवाँ फैलिन्छ, जसले हावाको गुणस्तरलाई खराब बनाउँछ। विशेषगरी गरिब देशहरूमा जहाँ प्लास्टिक जलाउने अन्य विकल्पहरू छैनन्, त्यहाँ काम गर्ने मानिसहरूले यी विषाक्त रसायनहरूको सामना गर्नुपर्छ, जसले उनीहरूको स्वास्थ्यमा नराम्रो असर पार्छ।
प्लास्टिक सम्बन्धी विश्वव्यापी सम्झौता
यो अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले प्लास्टिक सम्बन्धी विश्वव्यापी सम्झौताका लागि भइरहेको वार्तालाई यो अनुसन्धानले सहयोग गर्ने आशा गरेका छन्।
यो सम्झौतामा भएको छलफलको अन्तिम चरणको मतदान अगस्टमा जेनेभामा हुनेछ।
प्रतिक्रिया 4