२९ चैत, काठमाडौं । मन्डिखाटार दोस्रो एमेच्योर टेनिस प्रतियोगितामा वरिष्ठ राजनीतिज्ञ कमल थापा सिंगल्स र डबल्स दुवै इभेन्टको फाइनलमा प्रवेश गरेका छन् ।
मन्डिखाटार टेनिस कोर्टमा विहीबार ६५ वर्ष माथिको सिंगल्समा ध्रुव घलेललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । उनले ६–२, ६–२ को अंकमा जित निकालेका थिए ।
यसैगरी कर्मा घलेले पनि फाइनलमा स्थान बनाए । घलेले वाल्टर स्मिथलाई ६–३, ६–४ को स्कोरमा स्तब्ध पारेका हुन् । उपाधिका लागि घले र थापा भिड्ने छन् ।
यही उमेर समूहको डबल्समा पनि कमल थापा र छाम्बा ढुन्डुपको जोडीले ध्रुव घले र कर्मा घलेको जोडीलाई ६–१, ६–० को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
यसैगरी, ५५ वर्ष माथिको सिंगल्समा मनोज शाहले राजु राईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । पहिलो सेट ६–१ ले मनोजले वाजी मारेका थिए ।
दोस्रो सेट ३–१ भएका बेला राजु राई रिटायर्ड हट भए पछि नतिजा मनोजको पक्षमा गएको हो । जीवन घिमिरेले सुशिल पाण्डेलाई ६–१, ६–१ को स्कोरमा पराजित गर्दै सेमिफाइन्लमा स्थान बनाउँदा विमल वाइवा र प्रताप मोक्तानबीचको खेल भने वर्षाका कारण स्थगित भएको थियो । यही उमेर समूहमा उत्तम बोगटीले प्रदीप शाहबाट वाकओभर पाएर सेमिफाइनलमा स्थान बनाए ।
५५ वर्ष माथिकै डबल्समा हिमाल शाह र शिव सेढाईको जोडीले सुनिल गुरुङ र नवाङ लामाको जोडीलाई पराजित गर्दा मनोज शाह र सन्जीव श्रेष्ठको जोडीले सागर केसी र राम राणाको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।
४५ वर्ष माथिको डबल्समा धर्म सिंह लामिछाने र गोपी भट्टराईको जोडीले आशिष सिग्देल र अमित गुरुङको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान बनायो । यही उमेर समूहको महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठ तथा विमल वाइबा र निमा लामाबीचको खेल भने वर्षाका कारण स्थगित भयो ।
३५ वर्ष माथिको उमेर समूहमा भिष्म जंग गुरुङले नविन श्रेष्ठलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् । उनले दुवै पटक ६–२ को समान स्कोरमा पराजित गरेका हुन् । यसैगरी सिमान्त गुरुङले दीप राणालाई ६–४ र ६–२ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाए । यो इभेन्टमा दुवै गुरुङ उपाधिका लागि खेल्ने छन् ।
यही इभेन्टमा मनोज राणा र डिगेन्द्र गिरीको जोडीले इब्राहिम र करिमको जोडीलाई पराजित गरेको थियो । दीप जवरा र देव क्षेत्रीको जोडीले निमा लामा र एमपी गिरीलाई स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएको छ ।
प्रतिक्रिया 4