२९ चैत, काठमाडौं । होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको जुनियर यु–१९ उमेर समूहमा बिहीबार च्याम्पियन बनेका छन् । सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा इभाना पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६–११, ११–६, ११–९ र ११–६ को सेटमा पराजित गरे ।
गर्ल्सतर्फ उपाधि भिडन्तमा इभानाले एभीएमकै वियंका राईलाई ७–११, ११–१, ११–७ र ११–९ को सेटमा हराइन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा खोल्छा पुखुका समिप श्रेष्ठ पहिलो भए । उनले फाइनलमा इखाछें स्पोर्ट्स क्लबका मुकेश महर्जनलाई ११–९, ९–११, ११–९ र ११–५ को सेटमा पाखा लगाए ।
प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१५ सिंगल्सको ब्वाइजमा एभीएमका जयस्नु महर्जन र गल्र्समा नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ, भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेंका निसान श्रेष्ठ तथा ६० वर्षमाथि पुरुष सिंगल्समा रजन सुब्बाले स्वर्ण जितेका थिए ।
विजेतालाई आयोजक एकेडेमीका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र डा. मधुसुधन सुवेदी, प्रतियोगिता संयोजक धर्ममान वज्राचार्य, टेबलटेनिसको महिला सिंगल्समा ९ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
चारदिने प्रतियोगितामा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । सातै स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय/२ हजार ५ सय नगद पुरस्कार हात पारे ।
प्रतिक्रिया 4