
२०८१ साल नेपाली नाट्य क्षेत्रका लागि सक्रियता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय सहकार्यले भरिएको वर्ष रह्यो । विभिन्न नाट्य समूह, स्वतन्त्र कलाकार तथा शैक्षिक संस्थाहरूको सहकार्यमा काठमाडौं मात्र होइन, बाहिरका सहरहरूमा पनि थुप्रै नाट्य गतिविधि सम्पन्न भए । पोखरा, जनकपुर, विराटनगरजस्ता सहरले आ-आफ्नै पहिचानमा रंगमञ्चलाई अँगाल्न थालेका छन् ।
नयाँ पुस्ताको रंगमञ्चप्रतिको आकर्षण २०८१ सालमा झनै बढेको देखियो । युवाहरूले लेखन, निर्देशन, अभिनय, प्रविधि र व्यवस्थापनका पक्षमा समेत सक्रिय सहभागिता जनाउँदै थिएटरलाई समयसापेक्ष बनाउन योगदान पुर्याए । आधुनिक प्रविधि प्रयोग, दृश्य र ध्वनि संयोजन, नृत्य तथा संगीतको नवीन प्रयोगसहितको नाटक प्रस्तुत गरिए जसले परम्परा र आधुनिकताको संयोजनमार्फत दर्शकसँग अझ प्रभावकारी सम्पर्क कायम गर्यो ।
नेपालको नाट्य क्षेत्रमा पछिल्ला वर्षमा निजी थिएटरको स्थापना, अन्तर्राष्ट्रिय सहकार्य, बालनाटक तथा समावेशी विषयवस्तुमा केन्द्रित सिर्जनाको बढ्दो रुचि देखिएको छ । २०८१ साल पनि यसै यात्राको विस्तारको प्रतीक बन्यो । थिएटरलाई समाजको ऐनाका रूपमा प्रस्तुत गर्दै, कलाकारले लैङ्गिक मुद्दा, मानसिक स्वास्थ्य, वातावरणीय संकट, जनजाती समाजको कथा जस्ता विषय उठाएका छन् ।
अर्कोतर्फ, अनुभवी निर्देशक तथा रंगकर्मीको निरन्तर सक्रियता पनि उल्लेखनीय रह्यो । राष्ट्रिय नाचघर, मण्डला थिएटर, थिएटर मल लगायतका रंगमञ्चमा नियमित नाटक मञ्चन हुनु नाट्य संस्कृतिको निरन्तरताको प्रतीक हो ।
२०८१ सालभर नेपाली नाट्य क्षेत्रमा विविध, सशक्त र सृजनात्मक गतिविधि भइरहे । वर्षको सुरुवातदेखि नै विभिन्न सहरमा नाटक महोत्सव आयोजना भए, जसले रंगमञ्चलाई स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनायो । पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ले अन्तर्राष्ट्रिय सहकार्यको नयाँ ढोका खोल्यो भने, काठमाडौंमा सम्पन्न ‘छुनुमुनु नेपाल-भारत बाल नाटक महोत्सव’ले बालबालिकाको नाट्य प्रतिभा उजागर गर्न सहयोग गर्यो ।
राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘राष्ट्रिय नाटक महोत्सव’ले मुलुकभरका नाटककार, निर्देशक र कलाकारलाई एउटै छानामुनि ल्यायो, जहाँ उत्कृष्ट नाटक छनोट गरी सम्मानित गरियो । यसैवर्ष, ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५’ को घोषणा गरियो, जसले नेपाली नाटकलाई विश्वमञ्चमा स्थापित गर्न ठुलो कदम चलायो ।
काठमाडौं मोडल कलेजमा सम्पन्न ‘थीम ड्रामा प्रतियोगिता’जस्ता शैक्षिक नाट्य गतिविधिले युवा पुस्तामा थिएटरप्रतिको आकर्षण र सिर्जनशीलताको नयाँ लहर ल्याएका छन् । यी सम्पूर्ण घटनाक्रमले २०८१ साललाई नेपाली नाट्य इतिहासमा एक ऊर्जाशील र उचाइतर्फ अग्रसर वर्षको रूपमा स्थापित गरेका छन् ।
२०८१ सालको नेपाली नाट्य क्षेत्रको समृद्धि र अहिलेको अवस्थालाई ध्यानमा राख्दै, रंगमञ्च अब केवल मनोरञ्जनको माध्यम नरहेर, समाज रूपान्तरणको बलियो हतियार बनिरहेको छ । २०८१ साल नेपाली रंगमञ्चका लागि धेरै दृष्टिकोणबाट सकारात्मक रह्यो । विविध विषयमा आधारित नाटकको संख्यामा वृद्धि हुनुका साथै, युवाको सक्रिय सहभागिताले नयाँ ऊर्जा छ । विशेषतः प्रविधिको प्रयोग, दृश्य संयोजन, संगीत र शारीरिक अभिव्यक्तिको प्रयोगले नाटक अझ प्रभावशाली बनेको छ ।
‘निटफेस्ट २०२५’ जस्ता अन्तर्राष्ट्रिय महोत्सवले नेपाली रंगमञ्चलाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । १२ देशका १७ वटा नाटक एउटै मञ्चमा देखिनु आफैंमा उपलब्धि हो । यस्तो अन्तर्राष्ट्रिय सहभागिताले नेपाली कलाकारलाई सिक्ने र आफ्ना सिर्जनालाई बाहिर पुर्याउने अवसर दिएको छ ।
कलात्मक उपलब्धिको सन्दर्भमा २०८१ साल निकै सशक्त र विविधताको वर्ष बन्यो । यसवर्ष मञ्चन भएका नाटक विषयवस्तु, प्रस्तुति शैली र प्रविधिको प्रयोगमा निकै फरक र नवीन थिए । नाटकले समाजका गहिरा प्रश्न उठाउनुका साथै दर्शकलाई पनि सोच्न बाध्य बनाएका थिए ।
व्यवसायिक उपलब्धिको पक्षमा अझै चुनौतीपूर्ण रह्यो । थिएटरले आफ्नो खर्च धान्ने स्थिति त बनाएका छन् तर व्यावसायिक रूपमा फाइदामा जाने अवस्था भने अझै केही समय लाग्छ । दर्शकको सहभागिता बढिरहेको भए पनि आर्थिक दृष्टिकोणबाट थिएटरहरू अझ स्थायित्व खोजिरहेका छन् ।
२०८१ सालमा मञ्चन भएका नाटकमध्ये ‘हरि हजुरबा’ अत्यधिक रुचाइएको नाटक बन्यो । द्वन्द्वकालको पृष्ठभूमिमा आधारित यस नाटकले एक हजुरबाको प्रतीक्षाको कथामार्फत दर्शकको मन छुने काम गर्यो । यस्तो भावनात्मक गहिराइ भएको विषयवस्तु दर्शकसँग जोडिनुको मुख्य कारण हो ।
यो वर्ष भावनात्मक रूपमा गहिरो र सामाजिक यथार्थ झल्काउने नाटकहरू बढी हेरिए । ‘हरि हजुरबा’जस्तो नाटक दर्शकले त्यसैले रुचाए, किनभने त्यो नाटकको कथा उनीहरूकै वरिपरिको जीवनसँग जोडिएको थियो । अहिलेका दर्शक केवल रमाइलो खोजिरहेका छैनन्, उनीहरू नाटकबाट केही अनुभूति गर्न, केही सोच्न चाहन्छन् । त्यसैले गम्भीर, सामाजिक, र संवेदनशील विषय समेटिएका नाटक हेर्ने रुचि बढेको देखिन्छ ।
२०८१ सालमा नाटकको प्राविधिक पक्ष, विशेषतः सेट डिजाइन, लाइटिङ, ध्वनि संयोजनमा उल्लेखनीय लगानी गरिएको देखियो । निर्देशकले कथा र प्रस्तुतिलाई थप प्रभावशाली बनाउने उद्देश्यले भौतिक संरचना र श्रव्यदृश्य प्रभावमा खास ध्यान दिएका थिए ।
यस्तो लगानीले नाट्य प्रस्तुुतिलाई कलात्मक उचाइमा पुर्याए पनि, आर्थिक नाफा भने सधैँ सुनिश्चित हुँदैन । एउटा गुणस्तरीय नाटक निर्माण गर्न १५-१६ लाखसम्म खर्च लाग्न सक्छ । सेट, लाइट, र टेक्निकल पक्षमा धेरै लगानी गर्नुपर्छ, तर आम्दानीको स्रोत भने केवल टिकट बिक्री हो ।
त्यसैले, दर्शक संख्या राम्रो भए पनि लगानी उठेपछि बाँकी रहने नाफा खासै ठूलो हुँदैन । थिएटर व्यवसाय भनेको आर्थिक भन्दा पनि कलात्मक सन्तुष्टिलाई प्राथमिकता दिने भावनात्मक लगावमा आधारित यात्रा हो ।
यसवर्ष, फिल्मका केही कलाकारले नाटकमा फर्केर रंगमञ्चमा नयाँ ऊर्जा ल्याए । यसले नाटकको बारेमा सोच्ने तरिका बदलिरहेको छ । पहिले फिल्म कलाकारले नाटकलाई कम महत्व दिने गर्थे, तर अहिले नाटक र फिल्मका कलाकारको बीचमा सीमा नदेखिने भएको छ ।
अब फिल्मका कलाकारले नाटकलाई गम्भीरता र ध्यान दिएर हेर्न थालेका छन् । नाटकलाई पहिलो प्राथमिकता दिने सोच बढ्दै गएको छ, जसले रंगमञ्चलाई नयाँ दिशा दिएको छ । यसरी, नाटक क्षेत्रमा आएका यी परिवर्तन र फिल्म कलाकारको नाटकप्रतिको रुचिले नेपाली रंगमञ्चको भविष्यप्रति सकारात्मक संकेत दिएको छ ।
पहिले नेपाली रंगमञ्चमा प्रायः विदेशी नाटकलाई नेपालीमा अनुवाद गरेर देखाइन्थ्यो । यसले कलाकारलाई नयाँ किसिमका नाटक र प्रस्तुति सिक्न मद्दत पुर्यायो । अहिले नेपाली नाटकको क्रेज र माग धेरै बढेको छ । पहिले विदेशी नाटक ल्याएर प्रस्तुत गर्नु राम्रो तरिका थियो, तर अहिले नेपाली नाटकले रंगमञ्च भरिरहेका छन् । यो एक राम्रो परिवर्तन हो ।
आजका दर्शकलाई नेपाली कथा र नेपाली पात्र मन परिरहेका छन् । यसले नाटकलाई थप वास्तविक र प्रभावकारी बनाएको छ ।
यसवर्ष, विदेशी नाटक नेपालमा र नेपाली नाटकहरू विदेशमा मञ्चन गरिएको देखियो, जसले नेपाली नाटकको अन्तर्राष्ट्रिय महत्व र प्रभावकारिता बढेको कुरा प्रमाणित गर्दछ । यो नाटक क्षेत्रको एक ठूलो प्रगति हो । पहिले नेपाली नाटक केवल देशमै सीमित थिए, तर अहिले नेपाली नाटकको प्रस्तुतिका लागि अन्तर्राष्ट्रिय मञ्चमा माग बढेको छ ।
यसले नेपाली नाटकलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गरेको र नेपाली रंगमञ्चलाई एक नयाँ दिशा दिएको छ । अब नेपाली नाटकलाई अन्तर्राष्ट्रिय दर्शकले पनि रुचाउने स्थिति बनिसकेको छ, जसले नेपाली नाटकलाई एक सशक्त कला रूपको रूपमा प्रस्तुत गरेको छ ।
अहिले पनि नेपाली रंगमञ्चमा केही कसरत गर्न बाँकी छ । रंगमञ्चको पहुँचलाई अझ व्यापक बनाउनु, विशेष गरी अवसर नपाउने क्षेत्रमा नाटकको प्रचलन र महत्व बुझाउनु अत्यन्त आवश्यक छ ।
सरकार र अन्य नीतिकारहरूले रंगमञ्चको विकासमा गम्भीर ध्यान दिनुपर्छ । नाटकको लोकप्रियता र प्रभाव बढाउन सांस्कृतिक लगानी गर्नु आवश्यक छ । यो केवल कला मात्र नभएर, हाम्रो संस्कृति र पहिचानको विकास पनि हो । आज पनि थुप्रै गाउँमा नाटकको बारेमा थाहा छैन । यसको पहुँच सीमित छ । यसका लागि कसरी नाटकलाई जनसाधारणसम्म लैजाने, यसबारेमा ठोस नीति बनाउनुपर्छ । यस्ता कार्यक्रम र महोत्सवको आयोजना गर्नुपर्छ, जसले नाटकलाई आधुनिक र समावेशी तरिकामा जनतासम्म पुर्याउन मद्दत पुर्याओस् ।
२०८१ साल नेपाली रंगमञ्चका लागि एक उत्साहजनक र परिवर्तनकारी वर्ष सावित भएको छ । यसवर्ष नाटकको लोकप्रियता र मागमा वृद्धि भएको छ, जसले नेपाली रंगमञ्चको भविष्यप्रति सकारात्मक संकेत दिएको छ । यसवर्ष रंगमञ्चले नयाँ ऊर्जा प्राप्त गरेको छ र यसले दर्शकसँग सशक्त सम्बन्ध बनाएको छ ।
यद्यपि, रंगमञ्चको अझै पहुँचलाई विस्तार गर्नुपर्छ र सांस्कृतिक लगानीमा थप ध्यान दिनु आवश्यक छ । सरकार र अन्य संस्थाले रंगमञ्चलाई प्रोत्साहन दिने नीति र योजना बनाउनुपर्छ, जसले नाटकलाई जनतासम्म लैजानसक्छ ।
समग्रमा, २०८१ नेपाली रंगमञ्चको लागि एक सकारात्मक वर्ष रह्यो। तर अझै भोलिका दिनहरूमा रंगमञ्चको क्षेत्रलाई अझ मजबुत बनाउन र सामाजिक सन्देश पुर्याउन थप सृजनात्मक प्रयास र योजनाहरू ल्याउनु आवश्यक छ ।
प्रतीक्षा रिजालसँगको कुराकानीमा आधारित ।
ग्राफिक्स : अरुण देवकोटा
प्रतिक्रिया 4