२९ चैत, काठमाडौं । भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल २०२५ मा दर्शकहरूको भावना टिमभन्दा खेलाडीप्रति बढी केन्द्रित देखिएको छ।
एक नयाँ अध्ययनले देखाएअनुसार ९८% दर्शकसँग आफ्नो मनपर्ने खेलाडी त छन्, तर मात्र ३७% ले कुनै एक टिमलाई समर्थन गर्छन्। यसले दर्शकहरू टिमभन्दा बढी मनपर्ने खेलाडीतर्फ बढी लगाव राख्छन् ।
क्रिस्पइन्साइट–क्याडेन्स इन्टरनेशनल को ‘ईडार्ट आईपीएल २०२५’ अध्ययन अनुसार, विराट कोहली र एमएस धोनी जस्ता स्टार खेलाडीहरू अझै पनि फ्यानको पहिलो रोजाइमा छन्। रोहित शर्मा, सूर्यकुमार यादव र ऋषभ पन्त पनि लोकप्रियतामा तीव्र गतिमा उक्लिरहेका छन्। तर, नयाँ टिमहरू भने फ्यानको माया जित्न संघर्षरत छन्।
विश्लेषकहरूका अनुसार, यो प्रवृत्तिले दर्शकको भावना खेलाडीको व्यक्तित्व र यात्रासँग गहिरो रूपमा जोडिएको छ भन्ने देखाउँछ। क्रिस्पइन्साइटका रितेश घोषाल भन्छन्, ‘खेलाडीप्रति बनेको सम्बन्ध बलियो हुन्छ। यसैले उनीहरू ब्रान्डहरूका लागि पनि प्रभावशाली माध्यम बनेका छन्।’
पुराना र स्थापित टिमहरू जस्तै बेंगलुरु, मुम्बई र चेन्नईले भने आफ्नो क्षेत्रभित्र अझै बलियो पकड कायम राखेका छन्। बेंगलुरुका फ्यानमध्ये ९१% ले यसलाई पहिलो वा दोस्रो मनपर्ने टिम बताएका छन्।
तर टोलीभन्दा खेलाडीप्रतिको यो वफादारीले आईपीएलको प्रचार रणनीति नै बदल्दैछ। क्याडेन्स इन्टरनेशनलका अमन मक्कर भन्छन्, ‘टिमको विज्ञापनभन्दा खेलाडीको अनुहार देखाएर गरिएको प्रचार धेरै बढी असरदार देखिएको छ। दर्शक खेलाडीसँग भावनात्मक रूपमा जोडिन्छन्।’
रिपोर्टले आईपीएल ‘सुपरफ्यान’ को चर्चा पनि गरेको छ—जो कुल दर्शकको केवल १५% हुन्, तर उनीहरू नै सबैभन्दा बढी ब्रान्ड सम्झिन्छन् र विज्ञापनमा प्रतिक्रिया जनाउँछन्।
आईपीएलको लोकप्रियता अझै उकालो लागिरहेको बेला, दर्शकको यो ‘खेलाडी-प्रेम’ ले ब्रान्ड र फ्रेन्चाइजहरूलाई नयाँ सोच र रणनीति अपनाउन बाध्य बनाएको छ।
-एजेन्सीबाट
प्रतिक्रिया 4