+
+
Shares

मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?

मूलधारका मिडियामात्रै नभई स्वयं दुर्गा प्रसाईंकै निकटस्थले समेत उनी समातिइसकेको सूचना दिँदासमेत प्रहरी आफैं खण्डन गर्न अघि सर्नुका पछाडि यस्ता पृष्ठभूमि भेटिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते २१:५२

२९ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बिहीबार मध्यराति चार हरफको विज्ञप्ति निकाल्यो, दुर्गा प्रसाईं पक्राउबारे समाचारको खण्डनसहित ।

मूलधारका सञ्चारमाध्यमहरूले उनी भारतको आसाममा पक्राउ परेको विवरणसहित समाचार प्रकाशन गरेलगत्तै केहीले केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्यको खण्डनलाई समेत स्थान दिइसकेका थिए ।

आचार्यको भनाइलाई आधार मान्दै कतिपयले मुलधारका सञ्चारमाध्यमको आलोचना समेत गरे । तर, केही बेरपछि प्रसाईंकै सचिवालयले उनले आत्मसमर्पण गरेको भन्दै सूचना समेत जारी गर्‍यो ।

उनको सचिवालयले चलाउने भनिएको फेसबुक पेजमा भनिएको थियो, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाका लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’

तर, भारतमा नियन्त्रणमा लिएर ल्याउँदै गरेको बेला उनी पक्राउ परेका छैनन् भन्ने विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्थामा प्रहरी किन पुग्यो ?

यो प्रश्नको जवाफ थाहा पाउनलाई प्रसाईंको गिरफ्तारी अघि गृह मन्त्रालयको उच्च तहमा के भइरहेको थियो भन्ने थाहा पाउनुपर्छ ।

प्रसाईं बसेको घरलाई प्रहरीले एक दिन अगाडि नै लोकेट गरिसकेको थियो । अपराह्न उनलाई पक्राउ गरिने भएपछि गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरी प्रमुख आईजीपी दिपक थापासहित केही उच्च सुरक्षा अधिकृतहरू बैठक बसिरहेका थिए ।

त्यही बेला सञ्चारमाध्यममा उनी पक्राउ परेको समाचार सार्वजनिक भयो ।

भारतबाट आरोपी ल्याएको अवस्थामा सामान्यतः प्रहरीले नेपाल प्रवेश गराइसकेपछि मात्र सूचना सार्वजनिक गर्ने गर्थ्यो । तर, यो पटक पहिल्यै सूचना बाहिरिएपछि त्यो छलफलमै यो विषयले प्रवेश पायो । सूचना चुहिँदा उनलाई स्वदेश ल्याउन कठिनाइ हुनसक्ने सम्भावनाबारे समेत छलफल भए ।

एक अधिकृतका अनुसार, पक्राउ परेको सूचना चुहिइसक्दा पनि प्रसाईंलाई करिब १० घन्टाको दूरीमा यात्रा गराएर सीमासम्म ल्याउन त बाँकी नै थियो ।

‘ल्याउनु अघि त्यसरी सूचना चुहिँदा सुरक्षा चुनौती मात्र नभई भारतीय पक्षले समेत असहयोग गर्नसक्ने सम्भावना रहन्थ्यो’, प्रहरीका एक अधिकृतले भने, ‘त्यस्तोमा कुनै समस्या नहोस् भन्ने हिसाबले प्रहरीले उनी पक्राउ परेका छैनन् भन्ने विज्ञप्ति निकालेको हो ।’

उनको दाबीमा, सञ्चारमाध्यममा यो सूचना आएपछि भारतीय पक्षले चासो समेत राखेको थियो । त्यसपछि प्रहरी महानिरीक्षक (आईजीपी) थापाले प्रवक्ता समेत रहेका सचिवालयका डीआईजी आचार्यलाई विज्ञप्ति जारी गर्न लगाएको स्रोतको भनाइ छ ।

खुला सीमाका कारण नेपाल र भारत दुवै देशका अभियुक्त एकअर्काको देशमा लुक्ने गरेका छन् । विशेष गरी संगठित र गम्भीर अपराधमा जोडिएकाहरूले एकअर्काको देशलाई आश्रयस्थल बनाउँदै आएका छन् ।

यस्तोमा औपचारिक माध्यमबाट अभियुक्तको हस्तान्तरणका लागि प्रक्रियागत झन्झट हुने भएको भन्दै दुवै देशका मुलुकले प्रहरी स्तरको सम्बन्धमा एकअर्को देशलाई सुटुक्क अभियुक्त बुझाउने गरेका छन् ।

यस्तोमा भारतीय र नेपाल प्रहरीले एकअर्काको देशमा समातिएका अभियुक्तलाई सीमा क्षेत्रमा पक्राउ परेको भनेर प्रतिवेदन बनाउने गरेको छ । प्रसाईंको हकमा समेत उनलाई काँकडभिट्टाबाट प्रहरीले गाडीमा एस्कर्ट गरेर ल्याएको भिडियो नै सार्वजनिक छ ।

तर, शुक्रबार जारी गरेको औपचारिक विज्ञप्तिमा केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले प्रसाईं र उनका सुरक्षागार्ड दिपक खड्कालाई भद्रपुरमा पक्राउ गरिएको भनेका छन् ।

‘भारतमा गएर नेपाल प्रहरीले समातेर ल्याउने भन्ने औपचारिक रूपमा हुने कुरा होइन, त्यसैले कानुनी विषय मिलाउनलाई मिलाउन यस्तो गर्ने गरिन्छ’, प्रहरीका एक अधिकृत भन्छन्, ‘अहिले धेरै चर्चा भए पनि यो लामो समयदेखि प्रचलनमा रहेको विषय हो ।’

मानवअधिकारकर्मीहरू यस्तो हस्तान्तरण अवैध भएको भन्दै प्रहरी अधिकृतहरू नै जुनसुकै बेला अफ्ठ्यारोमा पर्नसक्ने बताउँछन् ।

उनीहरू एकअर्काको देशमा कतिपय अभियुक्तहरू मारिने सम्भावना समेत रहने भएकाले औपचारिक माध्यमबाटै अभियुक्तको हस्तान्तरण हुनुपर्नेमा जोड दिन्छन् ।

‘यो नेपाल र भारतको दुवैको आवश्यकता मात्र होइन, अपराध नियन्त्रणका लागि दुवै देशको हितमा भएको विषय हो’, नेपाल प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘यसलाई कसरी औपचारिक बनाउने भन्ने चाहिँ राजनीतिक तहमै छलफल हुनुपर्ने विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?