
भनिन्छ, दाम्पत्य सुखको एउटा कडी हो आनन्दमयक यौन जीवन पनि । सक्रिय यौनले दाम्पत्य सुख मात्र होइन प्रेम र विश्वास पनि प्रगाढ हुन्छ ।
यद्यपि समस्या कहाँ छ भने धेरैजसो दम्पतीले खुलेर यौनको विषयमा चर्चा गर्दैनन् । न उनीहरूले यसबाट कसरी अधिकतम सन्तुष्टि हासिल गर्न सकिन्छ भनी अभ्यास गर्छन् । जबकि यौन जीवनलाई कसरी आनन्दमयक बनाउने भनी प्राचीन कालदेखि नै विभिन्न अभ्यास र खोज हुँदै आएको छ । यस सम्बन्धमा कति ग्रन्थ नै लेखिएको छ ।
त्यस अनुरुप यौनलाई तीन चरणमा विभाजन गरिएको छ । यौनक्रिया सुरु गर्नुअघि, यौनक्रियाका क्रममा र यौनक्रिया पछि । यसमध्ये यौनक्रिया अघि गरिने प्रक्रियालाई प्राकक्रीडा भनिन्छ ।
प्राकक्रीडाले यौन क्रियाका लागि दुवैलाई मानसिक, शारीरिक रुपले तयार राख्ने मात्र नभई थप उत्कर्षमा पुर्याउन सहयोग गर्छ ।
के हो त प्राकक्रीडा ?
प्राकक्रीडा भनेको यौन सम्बन्ध स्थापित गर्नुअघि गरिने शारीरिक, भावनात्मक र मानसिक तयारीको प्रक्रिया पनि हो । जसमा अंगहरूको स्पर्श, चुम्बन, अंगालो, स्पर्श, प्रेमील तवरले गरिने मसाज यस्तै गतिविधिहरू पर्छन । जसले दुई व्यक्तिबीचको आत्मीयता, आकर्षण र यौन उत्तेजना बढाउँछ ।
प्राकक्रीडा कसैको लागि रोमान्टिक कुराकानी र भावनात्मक संवाद हुन सक्छ भने कसैका लागि छोटो शारीरिक स्पर्श वा प्रेमालाप पनि पर्याप्त हुन्छ ।
उदाहरणका लागि, हात समात्ने, कपाल सुम्सुम्याउने, एकअर्कालाई मायालु शब्दहरू भन्ने वा हल्का मसाज गर्ने जस्ता क्रिया पनि प्राकक्रीडाको हिस्सा हुन सक्छन् । यो प्रक्रियाले शारीरिक रूपमा यौन उत्तेजना बढाउनुका साथै मनोवैज्ञानिक रूपमा पनि दुवै पक्षलाई तयार बनाउँछ।
यसरी अंगहरूमा गरिने स्पर्श र चुम्बनले शरीरमा खुसीको हर्मोन ‘डोपामाइन’ र ‘अक्सिटोसिन’को स्राव बढाइदिन्छ । जसले रक्तसञ्चार बढाउने, आनन्द दिने र उत्तेजनाको अनुभव गराउँछ ।
यही तालमेलले महिलाकाे याेनीमार्गमा लुब्रिकेशन (चिप्लोपना) बढाएर शरीरलाई यौनसम्पर्कका लागि तयार गर्छ । उत्तेजित र विचारशून्य भई यौनक्रियामै मात्र ध्यान हुन्छ । पुरुषहरूमा पनि यो प्रक्रियाले उत्तेजनालाई लामो समयसम्म कायम राख्न र नियन्त्रण गर्न मद्दत गर्छ ।
प्राकक्रीडाले यौन आनन्द र उत्तेजनालाई उच्च बनाएर चरमसुखसम्म पुग्न मद्दत गर्छ।
प्राकक्रीडाको आवश्यकता किन ?
कतिपय भन्छन्, ‘प्राकक्रीडा किन चाहियो ?’ कतिले त यसलाई समयको बर्बादी ठान्छन् । उनीहरूका लागि मुख्य कुरा भनेको यौनसम्पर्क नै हो ।
हो, प्राकक्रीडा बिना सम्भोग गर्न सकिन्छ, तर प्राकक्रीडा भएको सम्भोग र नभएको बीचको फरक महिला पार्टनरलाई सोध्नुहोस् ।
यौन उत्तेजनाको सुरुवात मानसिक तथा शारीरिक कारण दुवैले हुनेगर्छ । एकातिर यौन उत्तेजनात्मक कुरासम्बन्धी सोचाइ तथा परिकल्पना हुन्छ भने अर्कोतिर यौनसंवेदनशील अंगहरूकै सीधा घर्षण पनि ।
प्रायःजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुवात नै एकै पटक योनीमा लिङ्ग प्रवेशका साथ गर्छन् ।
यसो गर्नाले पुरुष तथा महिला यौन प्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन सक्दैनन् ।
एक राम्रो प्राकक्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ ।
वैज्ञानिक अध्ययनहरूले पनि प्राकक्रीडाले यौन सन्तुष्टिको स्तर बढाउने देखाएका छन् । यो केवल यौनसम्पर्कको तयारी मात्र होइन, बरु सम्पूर्ण अनुभवलाई सुखद् र यादगार बनाउने माध्यम हो।
अहिलेको विज्ञानले मात्र होइन, प्राचीन ग्रन्थ ‘कामसूत्र’ मा पनि प्राकक्रीडालाई विशेष महत्त्व दिइएको छ । वात्स्यायनले यौन सम्बन्धलाई कला र विज्ञानको रूपमा हेरेका छन्, जहाँ प्राकक्रीडाले शारीरिक र भावनात्मक सन्तुलन कायम गर्न भूमिका खेल्छ ।
उनले चुम्बन, अंगालो र स्पर्शका विभिन्न तरिकाहरूको वर्णन गरेका छन्, जसले प्रेमी–प्रेमिकाबीचको सम्बन्धलाई गहिरो र बलियो बनाउँछ ।
प्राकक्रीडा बिनाको सम्भोग
प्राकक्रीडा बिना नै यौनसम्पर्कमा प्रवेश गरियो भने दुवै पक्षलाई शारीरिक असहजता हुन सक्छ र अनुभव अपूर्ण रहन सक्छ। शरीर पूर्णरूपमा उत्तेजित नहुन सक्छ । जसले महिलामा लुब्रिकेशनमा कमी गराउँछ ।
यौनसम्पर्कका क्रममा दुखाइ पनि हुनसक्छ । महिलामा पुरुषको जति चाहाना नहुन पनि सक्छ । दुवैजना मध्ये एकजनामा मात्र यौनइच्छा कम भएमा यौनआनन्द दुवैले प्राप्त नगर्न पनि सक्छन् । सम्भोगका लागि उत्साह र जाँगरमा कमी आउन पनि सक्छ ।
प्राकक्रीडाको भावनात्मक महत्व
प्राकक्रीडाले दुई व्यक्तिबीचको विश्वास, आत्मीयता र प्रेमलाई अभिव्यक्त गर्ने अवसर दिन्छ । जब दुई व्यक्तिले एकअर्कालाई समय दिन्छन् । माया र सम्मान देखाउँछन् । तब उनीहरूको सम्बन्धमा गहिराइ आउँछ । प्राकक्रीडाबिना यौनसम्पर्क केवल शारीरिक आवश्यकताको पूर्तिमा सीमित हुनसक्छ, जसले भावनात्मक दूरी बढाउन सक्छ।
उदाहरणका लागि, लामो समयसम्मको प्रेमालाप वा एकअर्काको भावनालाई बुझ्ने प्रयासले सम्बन्धमा सुरक्षाको भावना पैदा गर्छ । विशेष गरी महिलाहरूका लागि भावनात्मक जोड र सुरक्षित महसुस गर्नु यौन सन्तुष्टिको महत्त्वपूर्ण पक्ष हो । त्यसैले, प्राकक्रीडाले सम्बन्धलाई केवल शारीरिक स्तरमा नराखी भावनात्मक रूपमा पनि बलियो बनाउँछ।
प्राकक्रीडा अन्य फाइदा
सम्भोगलाई मात्र होइन, शरीरका लागि पनि फाइदा पुग्छ
जस्तो कि,
-मुटुको धड्कन, सञ्चार र रक्तचाप बढ्छ ।
-रक्तनलीहरू फैलिएर योनाङ्गमा रक्तसञ्चार बढाएर यौनक्रिया सहज पार्छ ।
-योनिमा लुब्रिकेशन बढाएर यौनक्रियालाई सहज पार्ने र घर्षण हुँदा हुने दुखाइबाट बचाउँछ ।
पार्टनरसँग प्राकक्रीडाबारे कुरा कसरी गर्ने ?
आफ्नो पार्टनरलाई प्राकक्रीडा किन आवश्यक छ भनेर खुलेर भन्ने आँट गर्नुपर्छ । किनकी, सम्भोगमा उत्तिकै साझेदारी मात्र होइन, आनन्दको सह-अनुभूति पनि हुनु आवश्यक छ।
पार्टनरलाई सबैको उत्तेजना हुने गति एकै हुँदैन, कसैलाई बढी समय चाहिन्छ भनेर सम्झाउन सकिन्छ ।
प्रतिक्रिया 4