२९ चैत, काठमाडौं । नेपालमा आउँदो आइतबारदेखि आईसीसी यू-१९ विश्वकप एसिया छनोट सुरु हुँदैछ । मुलपानीमा रहेको दुई क्रिकेट मैदानमा खेलाइने छनोट प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छन् ।
सबै टोलीले एकअर्कासँग १-१ पटक खेलेपछि शीर्ष हुने टोली सन् २०२६ मा जिम्बाबे र नामिबियामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछन् । विश्वकप सन् २०२६ को सुरुवात अर्थात् जनवरी-फेब्रुअरीमा हुने तय छ ।
नेपालले यसअघि सन् २०२४ को यू-१९ विश्वकप खेलेको थियो जहाँ नेपाल ८ वर्षको पर्खाइपछि उक्त अवसर पाएको थियो । यसपटक नेपाललाई घरेलु मैदानमै खेलेर लगातार विश्वकपमा छनोट हुने अवसर छ ।
अघिल्लोपटकको विश्वकपमा नेपालसँगै पराजित भएको अफगानिस्तान सोही कारणले यसपटक छनोट चरणमा तानिएको छ र नेपालका लागि बलियो प्रतिद्वन्द्वीका रूपमा रहनेछ । अफगानिस्तानसँग केही दिनअघि मात्र नेपालले यूथ ओडिआई शृंखला पनि खेलिसकेको छ ।
छनोटपूर्व नेपालले विभिन्न क्याम्पहरूका साथै अभ्यास खेलको शृंखलाहरू पनि खेलेको छ । विशेषगरी नेपालले लामो समयको तयारीपछि विश्वकप छनोट खेल्दै छ र घरेलु मैदानमै छनोट पनि भएकाले नेपाल पनि दाबेदार टोलीकै रूपमा रहनेछ ।
लामो समयको तयारी
नेपाली युवा टोलीले यस छनोटका लागि लामो समयदेखि तयारी थालेको थियो । त्यसअघि यू-१९ टोलीको प्रशिक्षकमा नेपाली लेजेन्डरी क्रिकेटर शक्ति गौचन नियुक्त भए । उनको निगरानीमा यू-१९ टोली निर्माणको प्रक्रिया सुरु भयो ।
सबैभन्दा सुरुमा ३६ खेलाडीलाई क्याम्पमा बोलाएर तीन टोली- नेपाल यू-१९ रातो, नेपाल यू-१९ हरियो र नेपाल यू-१९ निलोमा विभाजित गरेर डबल राउण्ड रोबिन लिग खेलाइएको थियो । भैरहवामा शक्ति गौचनले प्रशिक्षण गराए ।
त्यहाँ गरेको प्रदर्शनका आधारमा १२ खेलाडीहरू कटौती गर्दै क्यानले २४ सदस्यीय टोलीसहित दोस्रो चरणको क्याम्पको घोषणा गरेको थियो भने त्यसपछि १८ सदस्यीय टोली घोषणा गर्दै दिल्ली यू-१९सँगको अभ्यास शृंखलाको घोषणा भयो ।
वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा भएको दिल्लीसँगको ३ अभ्यास खेलको शृंखला नेपालले ३-० ले नै जित्यो । त्यसपछि नेपालले अफगानिस्तानसँग मुलपानीमै ३ खेलको युथ ओडिआई शृंखला खेल्यो जहाँ १ खेल जित्दा २ मा पराजित भयो ।
यस हिसाबले हेर्दा नेपालले यस छनोटअघि करिब चार महिनादेखि तयारी थालेको थियो । यसबीचमा भएका तयारी र अभ्यास खेलहरूले टिम निर्माणमा धेरै नै फाइदा पुगेको प्रशिक्षक शक्ति गौचनले बताएका छन् ।
‘क्यानले व्यवस्था गरेअनुसार तयारी गर्दै यहाँसम्म आइपुगेका छौं, अहिलेसम्म आइपुग्दा टिमका कमजोरीहरू राम्रोसँग बुझेर सुधार गर्न धेरै अवसरहरू पाएका छौं’ उनले भने, ‘खेलाडीहरूलाई पनि आफ्नो क्षमता जाँच्ने मौकाहरू भए, समग्रमा राम्रो नै भयो।’
त्यस्तै कप्तान नरेन भट्टले पनि यसबीचमा भएका अभ्यासले धेरै कुरा सुधार गर्न मद्दत गरेको कुरा उल्लेख गरे । ‘तपाईहरूले पनि देख्नुभयो होला, यो सिरिजमा पनि हामीले पहिलो र दोस्रो खेलपछि सुधार गरेका छौं’ अफगानिस्तान शृंखलाबारे उल्लेख गर्दै उनले भने, ‘घरेलु मैदानमा नै यो ट्राइ गर्ने चान्स पायौं, टिमलाई धेरै फाइदा भएको छ।’
यस्ता छन् प्रतिद्वन्द्वीहरू
नेपालले यस छनोटमा खेल्ने तीन प्रतिद्वन्द्वीहरू परिचित नै रहँदा अफगानिस्तान भने फरक टोली हुनेछ । ओमान, हङकङ र यूएई नेपालका लागि सबै स्तरमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् ।
यू-१९ टोलीका लागि प्रत्येकपटक खेल्दाका बखत नयाँ खेलाडीहरू आउने भएकाले त्यस्तो केही फरक त पर्दैन । तर पनि यी टोलीहरू प्रतिद्वन्द्वीका रूपमा भने परिचित नै भन्नुपर्छ ।
यूएई धेरैपटक नेपालको हरेक उमेर समूहमा महिला र पुरुष दुवैतर्फ महत्वपूर्ण खेलमा नेपालको यात्रामा तगारो बन्ने गरेको छ । पछिल्लोपटक यूएईमाथि नै रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको थियो ।
त्यस्तै अफगानिस्तानको टोलीलाई नेपालले अघिल्लोपटक विश्वकपमा हराएको थियो । त्यही हारका कारण अफगानिस्तान विश्वकपमा समूह चरण पार गर्न नसक्दा छनोट खेल्दैछ र नेपालका लागि चुनौतीका रूपमा हुनेछ ।
भर्खरै मुलपानीमै भएको युथ ओडिआई शृंखलाको अन्तिम खेलमा सान्त्वना जित निकालेको हुनाले नेपाल हराउन सक्ने मनोबलका साथ मैदानमा उत्रनेछ ।
लगातार विश्वकपमा छनोटको लक्ष्य
सन् २००० मा पहिलोपटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार चारपटक विश्वकप खेलेको थियो । सन् २०१० मा छनोट हुन नसक्दा सन् २०१२ मा फेरि खेलेको थियो ।
त्यस्तै सन् २०१४ मा छनोट हुन नसक्दा २०१६ मा खेलेको थियो । त्यसपछि नेपाल ८ वर्षसम्म विश्वकपमा छनोट हुन सकेन । सन् २०२४ को विश्वकपमा भने नेपाल छनोट भयो । अब नेपाललाई फेरि लगातार विश्वकपमा छनोट हुने अवसर छ ।
‘यसपटकको तयारी हेर्दा हामी फेरि विश्वकप खेल्छौं भन्ने मलाई पूर्ण विश्वास छ’ कप्तान नरेनले भनेका छन्, ‘घरेलु मैदान पनि छ अनि तयारी पनि धेरै गरेका छौं, कमजोरीहरू धेरै सुधार गरेका छौं।
प्रशिक्षक शक्ति गौचन पनि विश्वकपमा फेरि छनोट हुनेमा विश्वस्त छन् । ‘धेरै नै उच्च मनोबलका साथ खेलिरहेका छन् भाइहरूले, पक्कै पनि विश्वकपमा छनोट हुनेछौं’ उनले भने ।
चुनौती पनि
घरेलु मैदानमा खेल्दै भएपनि नेपाली टोलीका लागि केही चुनौतीहरू छन् । नेपालले खेल्ने चार खेलमध्ये ३ खेल तल्लो मुलपानी क्रिकेट मैदानमा छन् जसअन्तर्गत अफगानिस्तानसँगको खेल पनि सामेल छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा हालसम्म ठुला प्रतियोगिताहरू आयोजना भएका छैनन् । त्यहाँ भएको रेड-सोइल पिच अर्थात् रातो माटोको पिच भएकाले चाँडै सुक्ने र त्यसो भएमा पेस बलरलाई मद्दत पुग्न सक्छ । नेपाल र अफगानिस्तान दुवैले माथिल्लो मुलपानीमा स्पीनरको प्रयोग धेरै नै गरेका थिए ।
यद्यपी दुवै टोलीका लागि यो पिच र मैदान नयाँ नै हुनेछ । पिच कन्डिशन बुझेर खेल्न सक्ने टोलीले जित निकाल्ने छ ।
अर्कोतर्फ नेपाली टोलीको ब्याटिङ केही कमजोर देखिएको छ। सुरुवात राम्रो गरेपनि विकेट खस्न थालेपछि चाँडै नै कोल्याप्स हुने समस्या देखिएको छ । खेलाडीहरू संयमित भएर साझेदारी बनाउन अझै परिपक्क देखिएका छैनन् ।
प्रतिद्वन्द्वीका बारेमा कुरा गर्नुपर्दा नेपालका लागि सबैभन्दा महत्वपूर्ण खेल अफगानिस्तानसँग हुनेछ जुन् सबैभन्दा अन्तिम दिन हुनेछ । त्यसअघि पहिलो दिनमै नेपालले यूएईसँग तल्लो मुलपानीमा खेल्दै छ ।
सोही खेलबाट पिच कन्डिशन र नेपाली टोलीको खेल्ने शैलीबारे केही संकेत देखिनेछ ।
***
नेपालले पहिलो खेल चैत ३१ गते आइतबार यूएईसँग खेल्ने छ भने वैशाख १ गते सोमबार ओमानसँग खेल्नेछ । त्यस्तै वैशाख ३ गते बुधबार हङकङसँग खेल्ने छ भने ६ गते शनिबार अफगानिस्तानसँग खेल्ने छ ।
नेपालको टोली : नरेन भट्ट (कप्तान), अभिषेक तिवारी, निरज कुमार यादव, शाहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिन प्रसाद शर्मा रहेका छन् ।
प्रतिक्रिया 4