
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित कथानक फिल्म ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा सार्वजनिक टिजरमा शीर्ष कलाकार खगेन्द्र लामिछाने लगायत चित्रित छन् ।
टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रण दर्शाउँछ । यो फिल्म सहरीया मध्यमवर्गीय परिवारले भोग्नुपर्ने कठिनाइको कथामा आधारित छ ।
काठमाडौंमा सेट गरिएको फिल्मले पशुपतिनाथ मन्दिरको किनारमा बसोबास गर्ने दुई दुःखी पात्रको कथा प्रस्तुत गरेको छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ ।
खनालले यसअघि अभिनेता लामिछानेलाई लिएर पशुपति मन्दिर वरपरको परिवेश र पात्रमा फिल्म ‘पशुपति प्रसाद’ बनाएका थिए, जुन निकै हिट फिल्ममध्ये पर्छ ।
यो फिल्मको टिजरमा चाहिँ पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको नैतिक सन्देश दर्शाउन खोजिएको छ ।
फिल्ममा लामिछानेसहित निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टको पनि अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । यसको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धिसागरले लेखेका हुन् । ।
कृष्णबहादुर थापाको छायांकन छ । फिल्मको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।
‘के घर के डेरा : घर नं २’ जेठ २ मा रिलिज तयारीमा छ ।
प्रतिक्रिया 4