२९ चैत, काठमाडौं । ब्राजिलियन लेजेण्डरी फुटबलर रोबर्टो कार्लोस २०८२ साल वैशाख ५ गते नेपाल आउने भएका छन् । उनी अहिले भइरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलको गेष्टको रुपमा नेपाल आउन लागेका हुन् ।
एनएसएलका आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार राति रिलिज जारी गर्दै रोबर्टो कार्लोस् वैशाख ५ गते नेपाल आइपुग्ने जानकारी दिएको छ ।
‘विश्वप्रसिद्ध ब्राजिली फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिग २०२५ को विशेष पाहुना (गेष्ट) को रुपमा सहभागि हुन आगामी १८ अप्रिल (५ बैशाख) मा काठमाडौं आउँदैछन्’ रिलिजमा भनिएको छ ।
आयोजक एनएसइमएका अनुसार रोबर्टो कार्लोस १९ अप्रिल (६ बैशाख) मा दशरथ रंगशालमा हुने एनएसएलको पहिलो क्वालिफायर खेलमा गेष्टको रुपमा रहनेछन् ।
फुटबल इतिहासकै उतक्ष्ट लेफ्ट-ब्याकमध्ये एक मानिने रोबर्टो कार्लोसले सन् २००२ मा ब्राजिलका लागि फिफा विश्वकप जितेका थिए । उनले क्लबको करियरको अधिकांश समय स्पानिस जायन्ट रियल मड्रिडमा बिताएका थिए ।
रोबर्टो कार्लोस दुई दिने भ्रमणमा नेपाल आउने लागेका हुन् । क्वालिफायर वानको गेष्ट बाहेक अप्रिल १८ र १९ मा रोबर्टो कार्लोसको सहभागितामा विभिन्न रमाइला कार्यक्रमहरू आयोजना हुने पनि एनएसइएमले जनाएको छ ।
रोबर्टो कार्लोसको भ्रमण नेपाली फुटबलका लागि ऐतिहासिक अवसर हुने र नेपाली समर्थकहरूलाई एक अन्तर्राष्ट्रिय फुटबलका लेजेण्डसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्ने मौका हुने एनएसएल आयोजक एनएसइएमले जनाएको छ ।
‘फुटबल इतिहासका एक महान खेलाडीलाई नेपाल स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौं’, नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले भने । ‘उहाँको आगमनले लिगको प्रतिष्ठा अझ बढाउनेछ र सम्पूर्ण नेपाली फुटबल समुदायका लागि यो प्रेरणादायी क्षण हुनेछ ।’
रोबर्टो कार्लोसको आगमन एनएसएलको बढ्दो अन्तर्राष्ट्रिय पहिचान र यस क्षेत्रको फुटबल विकासप्रतिको प्रतिबद्धताको प्रमाण रहेको समेत एनएसइएमले दाबी गरेको छ ।।
प्रतिक्रिया 4