+
+
Shares

भारतमा लुक्दा किन दिल्ली-लखनउ गर्दै थिए दुर्गा प्रसाईं ?

तीनकुने विध्वंशपछि भागेका दुर्गा प्रसाईं दिल्ली, प्रयागराज र लखनउ समेत गएको भेटिएको छ । यद्यपि, सबैतिरबाट निराश भएपछि उनी अन्तिममा आसाममै एक स्थानीय नेताको घरमा फर्किए । त्यहीँबाट पक्राउ परे ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ चैत २९ गते २१:५४
Photo Credit : Aryan Dhimal/onlinekhabar.com

२९ चैत, काठमाडौं । १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पूर्वी नाका काँकडभिट्टा हुँदै भागेका दुर्गा प्रसाईं भारतको राजधानी नयाँदिल्ली, प्रयागराज र लखनउसमेत पुगेको भेटिएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिरेका प्रसाईं त्यहाँबाट नयाँदिल्ली, लखनउ लगायतको स्थानमा पुगेको आधार भेट्टाएका छन् ।

प्रारम्भिक सोधपुछमा प्रसाईंले समेत त्यहाँ पुगेको स्वीकारेका छन् । यद्यपि, औपचारिक बयान लिन बाँकी छ । अनुसन्धानका लागि अदालतबाट म्याद लिएपछि बयान लिने क्रम सुरु गर्ने प्रहरी तयारी छ ।

राजसंस्थासँगै हिन्दूराष्ट्रको अजेन्डा उठाइरहेकाले भारतीय पक्षबाट कुनै सहयोग प्राप्त हुन्छ कि भन्ने अपेक्षासहित प्रसाईं त्यता गएको हुनसक्ने शंका गरिएको छ ।

‘भारतमा आरएसएसका केही प्रदेशस्तरीय नेताहहरूसँग उनको सम्पर्क देखिन्छ, त्यही आधारमा सहयोग खोज्दै उनी पुगेका रहेछन्’, स्रोतले भन्यो, ‘तर कसैले सहयोग गर्ने छाँट नदेखेपछि उनी फर्किएर फेरि आसाम आएका थिए ।’

आरएसएस भारतको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) को मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ हो ।

काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई २५ फागुनमा स्वागत गरेका बेला एक प्रदर्शनकारीले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटोसमेत देखाएका थिए ।

प्रसाईंले एक सार्वजनिक कार्यक्रममा आदित्यनाथ ‘हिन्दू धर्मको प्रतीक’ भएको भन्दै फोटो देखाउनु सामान्य विषय भएको तर्क गरेका थिए । ‘उनीहरूले मार्क्स, लेनिन र स्टालिनको फोटो राख्दा केही नहुने तर, यो विषयलाई चाहिँ त्यत्रो ठूलो विषय बनाउनुपर्ने ?’, उनले प्रश्न गरेका थिए ।

नेपालको राजावादी प्रदर्शनमा उत्तरप्रदेशका मुख्यमन्त्रीको फोटो देखाइएको विषयलाई भारतीय सञ्चारमाध्यमहरूले समेत प्राथमिकताका साथ प्रसारण गरेका थिए । यसपछि परराष्ट्र मन्त्रालयले समेत चासो देखाएको थियो । र, १९ चैतमा भारतका लागि नेपाली राजदूत शंकर शर्माले लखनउ पुगेर मुख्यमन्त्री आदित्यनाथलाई भेटेका थिए ।

दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार, शर्माले त्यो भेटमा नेपालमा भइरहेको राजावादी प्रदर्शनबारे कुराकानी गरेका थिए ।

त्यस क्रममा आदित्यनाथले आफ्नो नेपाली राजपरिवारसँग पुरानो सम्बन्ध भए पनि ‘काठमाडौंमा भइरहेको गतिविधिबारे आफ्नो कुनै पोजिसन नभएको’ जवाफ दिएको स्रोतको भनाइ छ । उनले त्यसबेला त्यो विशुद्ध काठमाडौंको आन्तरिक विषय भएको जवाफ दिएको स्रोतको बताउँछ।

कुनै सम्पर्क सुत्रले आदित्यनाथसँग नजोडिदिएपछि प्रसाईंले उल्टै जोखिम महसुस गरेर आसाम फर्किएको हुनसक्ने एक अधिकृत बताउँछन्

राजदूत शर्माको यही भेटलाई लिएर चार दिनअघि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘नेपालमा राजसंस्था पुनर्स्थापनाका लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो भएको’ अभिव्यक्ति दिएका थिए ।

‘मलाई के थाहा छ भने आदित्यजीले मेरो कुनै हात छैन, नेपाली जनताले जे चाह्यो त्यही हुन्छ । म राजा ल्याउने पक्षमा छैन भनेर आफैंले भन्नुभएको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भनेका छन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले रायसिना डायलगमा सहभागी हुन भारत गएका बेलासमेत समकक्षी एस जयशंकरसँग यो विषयमा छलफल गरेकी थिइन् । देउवाले काठमाडौंमा रहेका भारतीय राजदूत नविन श्रीवास्तवसँग समेत राजावादी आन्दोलनबारे कुराकानी गरेकी थिइन् ।

नेपालको एक उच्च सुरक्षा स्रोतका अनुसार, काठमाडौंमा भएको हिंसात्मक राजावादी प्रदर्शनबारे भारतसँग यति धेरै पटक छलफल भइसकेको थियो कि भागेर दक्षिणतिर जाँदा त्यहाँ उनले साथ पाउने अवस्था नै थिएन ।

‘यद्यपि, उनी लखनउतिर पुग्न सक्छन् भन्ने हामीलाई पहिल्यै शंका थियो, त्यहीअनुसार भारतीय सुरक्षा अधिकृतहरूसँग समन्वय भइरहेको थियो’, स्रोतले भन्यो, ‘केही अधिकृतले त उनी आदित्यनाथलाई भेट्न जाने समेत दाबी गरेका थिए, तर त्यसलाई गम्भीरतापूर्वक लिइएको थिएन ।’

लखनउका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालका पूर्वराजपरिवारसँग लामो समयदेखि सम्बन्ध रहँदै आएको छ ।

१८औं शताब्दीका शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपालमा एकीकरण अभियान चलाउनुअघि उत्तर प्रदेशको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरको पुजारीबाट आशिर्वाद लिएको विश्वास गरिन्छ ।

पछि नेपालका अरु शाहवंशीय राजाहरू पनि गोरखपुर गएर धार्मिक अनुष्ठानमा सहभागी भएको इतिहास छ । मुख्यमन्त्री हुनुअघि योगी आदित्यनाथसमेत त्यहाँको पुजारी थिए ।

सन् २०१७ मा मुख्यमन्त्री भएपछि आदित्यनाथलाई पूर्वराजा ज्ञानेन्द्र शाहले दुई पटक भेटेका छन् । मुख्यमन्त्री हुनुअघि काठमाडौं आएका बेला आदित्यनाथले नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तोमा, नेपालमा प्रहरीले खोजी गरिरहेका बेला लखनउमा लुक्न सहयोग पाउनसक्ने अनुमान प्रसाईंले गरेको हुनसक्ने आशंका छ ।

तर, त्यहाँ उनका कुनै पनि सम्पर्क सुत्रले भेट नदिएपछि प्रसाईंले उल्टै जोखिम महसुस गरेर फर्किएको पाइएको एक अधिकृत बताउँछन् ।

प्रसाईं स्वयंले चाहिँ अहिलेसम्म आदित्यनाथलाई नभेटेको अधिकृतहरू बताउँछन् । तर, अघिल्लो पटक पक्राउ परेका बेला उनले आफ्नो उत्तरप्रदेशका मुख्यमन्त्रीसँग टेलिफोनमा कुरा हुने गरेको दाबी गरेका थिए । प्रहरीले उनको दाबी पुष्टि हुने आधारहरू भेटेको थिएन ।

यसरी पुगेका थिए आसाम

तीनकुने प्रदर्शनको दिन सुविधानगर अगाडि प्रहरी घेरा हालेर बसेको ठाउँमा प्रसाईं ‘बाग्मती प्रदेश ०२७ च ३८४७’ नम्बरको गाडी हुइँक्याउँदै हिँडेका थिए । सुरक्षाकर्मीलाई नै किच्याउने गरी हिँडेका प्रसाईंलाई प्रहरीले त्यसबेलै नियन्त्रणमा लिएको थियो ।

तर, सुरक्षागार्ड दिपक खड्काले प्रहरीबाट उनलाई फुत्काएपछि प्रसाईं भागेर तीनकुनेस्थित एक घरको भुइँतलामा रहेको सटरभित्र लुकेर बसेका थिए । त्यहाँबाट अपराह्न ३ः३६ बजे ‘बी ए बी ४२०८’ नम्बरको स्कोर्पियो चढेर उनी भागेका थिए ।

तीनकुनेबाट निस्किएर इमाडोलमा आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडाको घरमा बसेर उनी ५ः२५ बजे गोदावरीतिर हानिएको रेकर्ड छ । त्यसपछि लुभु–सिरुटार हुँदै प्रसाईं ठिमी निस्किएका थिए ।

हाम्रो टोलीका अधिकृतहरूले उनले भिडियो खिचेको मन्दिरमा गएर दर्शन नै गरेर आइसकेका छन्, पछि प्रमाण हुने भएकाले त्यसको तस्वीरहरू समेत ल्याइएको छ– प्रहरीका एक अधिकृत

नेपाल प्रहरी उच्च स्रोतका अनुसार, त्यहाँबाट सल्लाघारीबाट नालाको बाटो हुँदै उनी बनेपाको चारदोबाटो निस्किएका थिए । चारदोबाटोमा उनलाई देखेको भन्दै एक प्रत्यक्षदर्शीले प्रहरीलाई खबरसमेत गरेका थिए ।

तर, प्रहरीले खोजी थाल्दा उनी त्यहाँबाट सिन्धुलीतिर हिँडिसकेका थिए । सिन्धुलीमा नियमित जाँचमा रहेको प्रहरीले गाडी रोकेर सामान्य सोधपुछ गरेको समेत खुलेको छ ।

उपत्यका छाड्ने क्रममा दुर्गा प्रसाईंले प्रयोग गरेको सवारी

‘तर, लोकल प्रहरीले प्रसाईंलाई त्यहाँ देखेन, अरुलाई चिनेनन्,’ एक अधिकृत भन्छन्, ‘त्यसपछि उनी सिन्धुली–उदयपुर हुँदै उनी झापा पुगेको भेटिएको छ ।’

अधिकृतहरूका अनुसार, प्रसाईं झापा पुग्दा शनिबार बिहान करिब ५ बजेको थियो ।

प्रसाईंलाई काठमाडौंबाट झापा लिएर गएको स्कोर्पियो धनी मुकुन्द दाहाल र चालक ईश्वर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । दाहाल र विकले प्रसाईंलाई ‘बिएन्डसी मेडिकल कलेज’मा छाडेर आएको बयान दिएका थिए ।

प्रसाईंलाई छाडेपछि फर्किएर दाहालले आफ्नो ससुरालीमा त्रिपालले छोपेर गाडी राखेका थिए । प्रसाईं चाहिँ केहीबेर बिएन्डसीमा बसेर काँकडभिट्टातिर निस्किएका थिए ।

सीमा क्षेत्रबाट पारिपट्टि पानीट्यांकी गएर उनी सिक्किम प्रदेश सरकारका एक जना पूर्वमन्त्रीले संयोजन गरिदिएको फ्ल्याटमा केही समय बसेको स्रोत बताउँछ ।

‘त्यसको भुइँतलामा उनी बसेको भए पनि झापाबाट गएका केहीसँग भेट भएपछि जोखिम हुने ठानेर उनी ५ किलोमिटर दक्षिण सालबारी पुगेका थिए,’ स्रोतले भन्यो, ‘त्यसपछि १७ चैत (३० मार्च) आइतबार उनी आसाम पुगेको देखिन्छ ।’

आसाम राज्यको बास्का जिल्लामा एक स्थानीय नेताको घरमा उनी बसेका थिए ।

दुर्गा प्रसाईं बसेको स्थानीय नेताको घर र सँगै रहेको उनले भिडियो बनाएको मन्दिर ।

‘ती नेतासँग पार्टीगतभन्दा पनि व्यक्तिगत सम्बन्ध हो, त्यसैले यो विषय बाहिर सार्वजनिक हुनु त्यति उपयुक्त हुन्छ जस्तो लाग्दैन,’ एक अधिकृतले टिप्पणी गरे, ‘तर, उहाँले फरार रहेका बेला सार्वजनिक गर्नुभएको भिडियो पनि त्यहीँ खिचेको पाइएको छ ।’

सिक्किममा एकपटक प्रसाईंलाई एउटा सामाजिक संस्थाले सम्मानसमेत गरेको थियो ।

सबैतिर निराश भएपछि फेरि आसाम

१७ चैतमा दिउँसो १ः१२ बजे प्रसाईंको नाममा पहिलो भिडियो सन्देश जारी भएको थियो, जसमा उनले ‘आफू काठमाडौंकै एक मन्दिरमा रहेको दाबी’ गरेका थिए । त्यसमा प्रसाईंले आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा हिँडेको दाबी गरेका थिए ।

त्यो भिडियो आसाममा तिनै नेताको घरमा रहेको मन्दिरमा खिचेको पाइएको छ ।

‘हाम्रो टोलीका अधिकृतहरूले त्यही मन्दिरमा गएर दर्शन नै गरेर आइसकेका छन्, पछि प्रमाण हुने भएकाले त्यसको तस्वीरहरूसमेत ल्याइएको छ’, ती अधिकृतले भने, ‘दोस्रो भिडियोसमेत त्यही क्षेत्रमा खिचेको पाइएको छ, यद्यपि एडिट गरेर पृष्ठभूमि परिवर्तन गरिएको छ ।’

प्रसाईं त्यहाँबाट १८ चैत (३१ मार्च) मा उत्तरप्रदेशको प्रयागराजतर्फ हिँडेको पाइएको छ । त्यहाँ भएको कुम्भमेलामा सहभागी हुन गएका बेला प्रसाईंले भारतका केही धर्मगुरु र आरएसएससँग जोडिएका व्यक्तिहरूसँग भेट गरेको सुरक्षा संयन्त्रले सूचना पाएको थियो ।

प्रयागराजबाट उनी लखनउ पुगेको प्रहरीले पत्ता लगाएको छ । लखनउमा उत्तरप्रदेशको मुख्यमन्त्री आदित्यनाथको कार्यालय लोकभवन छ । ‘उनले त्यहाँबाट कुनै सहयोग मिल्छ कि भन्ने हिसाबले प्रयास गर्न खोजेका थिए, तर उनले सोचेअनुसार केही भएन,’ एक अधिकृतले भने, ‘त्यसपछि उनी दिल्ली आएर राजस्थान, भरतपुर हुँदै २२ चैत (४ अप्रिल) मा फेरि आसाम पुगेका थिए ।’

आसाम पुगेर उनले बुधबार दोस्रो भिडियो सन्देश जारी गरेका थिए, त्यसमा ‘सुरक्षाको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुने’ दाबी गरेका थिए । यद्यपि, त्यतिञ्जेल प्रहरी उनको अड्डा नजिक पुगिसकेको थियो । प्रहरी अधिकृतहरूका अनुसार, आफूले भारतमा सहयोग नपाउने र जुनसुकै बेला पक्राउ पर्नसक्ने ठानेपछि प्रसाईंले दोस्रो भिडियो जारी गरेका थिए ।

त्यो भिडियो सन्देश जारी भएको २४ घन्टा नबित्दै प्रहरी अधिकृतहरूले प्रसाईंको अड्डामा पुगेर रेकी गर्न थालिसकेका थिए । त्यसपछि उनी त्यो घरमा रहेको यकिन सूचना फेला पारेर भारतीय प्रहरीसमेतको सहयोग लिएर पक्राउ गरिएको थियो ।

तर, प्रसाईंको सचिवालयले भने सुरक्षा कारणले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ ।

आसाममा पक्राउ गरेर उनलाई स्थलमार्गबाट पूर्वी नाका काँकभिट्टासम्म ल्याइएको थियो । ‘जुन नाकाबाट छिरेका थिए, त्यहीँबाट समातेर विमानमार्फत काठमाडौं ल्याएका छौं,’ एक अधिकृतले टिप्पणी गरे, ‘यो गिरफ्तारी अरु अपराधीहरूलाई समेत भागेर जाने जोसुकै लामो समयसम्म लुकेर बस्न सक्दैनन् भन्ने सन्देश हो ।’

विगतमा प्रसाईंको निर्देशनमा भारतमा रहेर नेपाली व्यवसायीहरूलाई धम्की दिने नवीन प्रधान भनिने हरिचन्द्र फुयाँल पनि आसाममै लुकेर बसेका थिए । घ्यू व्यापार गर्न आउजाउ गरिरहने फुयाँलले आसाममा रहेका बेला आफू भारतीय ग्याङ्स्टर लरेन्स विश्नोईको समूहको सदस्य भन्दै प्रसाईंका लागि फिरौती माग्ने गरेको खुलेको थियो ।

तस्बिरहरू : आर्यन धिमाल

थप समाचार,

राजावादी विध्वंशको स्थलगत : अनि, रणमैदान बन्यो तीनकुने

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?

प्रसाईंसँगै भागेका दुई जनाको बयान : दाइलाई बीएण्डसीमा छाडेर आएका थियौं

स्पष्टीकरण दिएर कमजोरी छोप्ने प्रहरीको प्रयास

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?