
कोठिडाँडाबाट जसवीरे नियाल्दै गर्दा थुम्का–थुम्कामा कार्पेट विछ्याएझैँ देखिने चियाका बुट्यानहरूमा बिहानीको सुनौलो किरण परिसकेको थियो । चियाको कलिलो मुनामा घामको सुनौलो किरण पोतिएपछि मन त्यसैत्यसै फुरुङ्ग हुने। त्यसक्षण मलाई यस्तो लाग्यो कि-प्रकृतिको यो क्षण सधैँ यथास्थितिमा रहिरहोस् ।
अनि म घोत्लिएँ, ‘यो डाँडापाखालाई कसले यसरी रुपवती बनाइदियो होला ?’
त्यसबेला मेरो अन्तरहृदयमा एउटा आदरणीय नाम झंकृत भयो, ‘भैरव सर ।’
२०५३ साल । म पहिलो पटक इलाम पुगेको थिएँ । त्यसअघि मैले चियाको बोट देखेको थिइनँ, फिल्म र पुस्तकमा बाहेक । जब म जसवीरे आसपासको चिया बगानमा टेक्न पुगें, बेग्लै उमङ्गले शरीरमा फूर्ति बढ्यो ।
अनन्तसम्म देखिने चिया बगान, बगानको किनारमा कुनै सुरक्षाकर्मी तैनाथ भएझैँ ठिङ्ग उँभिएका धूपी सल्लाका बोट । मनोरम चिया बगानले मेरो आँखालाई सम्मोहित गरिरहँदा मेरो मनले भने भैरव रिसाल खोजिरह्यो ।
सूर्य बुबा (सूर्यबहादुर सुब्बा)ले मलाई भन्नुभएको थियो, ‘यी सबै भैरव सरको देन हो । उहाँ यहाँसम्म नआइपुगेको भए हाम्रो डाँडापाखाले यस्तो रुप फेर्ने थियो वा थिएन यसै भन्न सकिँदैन।’

भैरव रिसाल, जसलाई मैले फगत एक पत्रकारको रुपमा मात्र चिनेको थिएँ । तर, जसवीरे पुगेपछि मैले उनलाई फरक पाएँ ।
गाउँ फेर्ने पत्रकार
भैरव सर २०४२ सालतिर जसवीरे पुग्नुभएको रहेछ । आलुको वीउ उत्पादन सम्बन्धी कार्यक्रममा । जसवीरेमा स्वीस सरकारले आलुको वीउ उत्पादन सम्बन्धी कार्यक्रम सञ्चालन गरेको रहेछ । स्वीस सरकारले सहयोग गरेको आलुको वीउ उत्पादन संस्थाको अध्यक्ष त्यतिबेला सूर्य बुबा नै हुनुहुँदोरहेछ । त्यसैले पनि उहाँको निकटता भैरव सरसँग थियो ।
आलुको वीउ उत्पादन सम्बन्धी कार्यक्रममा पुग्नुभएका भैरव सरले गफैगफमा भन्नुभएछ– यो भूमि आलुको लागि मात्र हैन चिया, दूध र अलैँचीका लागि पनि उर्वर छ । अनि के थियो र भैरव सरकै पहलमा जसवीरेले कृषि क्रान्ति सुरु गर्यो ।
चिया विस्तार आयोजना सञ्चालन भयो । चिया खेती प्रर्वद्धनकै लागि तत्कालीन राजा विरेन्द्रको भ्रमण भयो । पशुपालन (ओलन), अलैची खेती र अकबरे खुर्सानीको खेती सुरु भयो । जसवीरेमा आफ्नो प्रयोगका लागि २०३४÷३५ सालबाट चिया रोप्न सुरु गरिएको भए पनि, व्यवसायिक खेती भने भैरव सरको आगमन पछि नै सुरु गरिएको हो ।
मैले जसवीरे नटेकेको २३ वर्ष नाघ्यो । तर म प्रत्येक दिन जसवीरे नियालिरहेको हुन्छु । कोठिडाँडा र चियाका बगानहरूमा रमाइरहेको हुन्छु, शब्द र तस्वीरहरूसँग । किनभने मलाई कोठिडाँडाको सौन्दर्य, जसवीरेको भावना र भैरव सरको मेहेनतले त्यही वरिपरि घुमाइरहेको हुन्छ ।
जसवीरेको कृषि क्रान्तिमा भैरव सरको भूमिकाको चर्चा गरिरहँदा मैले उहाँलाई नेपाली माटोको अर्गानिक अभियन्ताका रुपमा ठम्याउँदै गए ।
इमानको अर्को नाम
नेपालको पहिलो सामुदायिक रेडियो, ‘रेडियो सगरमाथा’मा उहाँको आवाजसँग मितेरी लगाएँ । छापा पत्रकारिताको इतिहासमा उहाँका योगदानहरू पढेँ । इमान र सक्रियताको पत्रकारितामा उहाँको आर्दशलाई आत्मसाथ गरेँ । तर उहाँसँग जम्मा एकपटक मात्र भेट्ने अवसर पाएँ । र, त्यो भेट मेरा लागि इथिक्स र इमानको पाठशाला गएजस्तै भयो।
भैरव सरसँग भेट भएको २०७१ सालमा हुनुपर्छ । त्यतिबेला म नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य थिएँ । सिन्धुपाल्चोकको चौताराबाट प्रशारणमा रहेको ‘रेडियो सिन्धु’को सातौँ वार्षिक उत्सवमा मलाई अतिथिका रुपमा निम्ताइएको थियो । कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो भैरव सर ।
चरिकोटबाट म पत्रकार रामचन्द्र गिरीसँग चौतारा पुगेँ । कार्यक्रमको औपचारीक सुरुवाता हुनुअघि मैले भैरव सरसँग चिनजान गरेँ । जसवीरेको प्रशंग निकालेर उहाँको प्रशंसा गरेँ ।
उहाँले सूर्य बुबासहित जसवीरेका धेरै मेहेनती र इमानी स्थानीयको चर्चा गर्नुभयो ।
थोरै विश्राम र बिहानको खानापछि कार्यक्रम सुरु भयो । आयोजकले तिब्बती अक्षर कोरिएका खादा ल्याए । भैरव सरले त्यसलाई अस्वीकार गर्नुभयो । कार्यक्रम सञ्चालकले अतिथि वक्ताको बखान गर्दै मन्तव्यका लागि आमन्त्रण गर्ने र पछि अतिथि वक्ताको भनाइलाई समराइज गर्ने क्रमलाई निरन्तरता दिँदै थिए । किनभने कार्यक्रम सञ्चालनका यो तरिका नेपालीहरूका लागि अनिर्वाय आवश्यकता जस्तै बनिसकेको छ ।
अब बोल्ने पालो आयो भैरव सरको । हामी सबै चनाखो भयौँ, पत्रकारिताका केही अनुकरणीय टिप्स सुन्ने अभिलाषासहित ।
मञ्चमा उक्लिनुभएका भैरव सरले खादा अस्वीकार गरेको प्रशंगबाट मन्तव्यको आरम्भ गर्नुभयो । भन्नुभयो– तिब्बती अक्षर कोरिएका खादा हाम्रा लागि उपयुक्त छैन, किनभने तिब्बती अक्षरमा कोरिएका मन्त्र हाम्रा लागि आवश्यक र फाइदाजनक नहुन सक्छ । त्यसैले खादा दिनै छ वा खादा लगाउनै छ भने सादा सेतो खादामात्र प्रयोग गरौँ ।
खादाको प्रशंग सकेर उहाँले कार्यक्रमको सञ्चालन विधि सुरु गर्नुभयो । भन्नुभयो– सञ्चालकले अतिथि वक्तालाई आमन्त्रण गर्दा अनावश्यक फुदा– टुक्का जोडेर प्रशंसा गर्नुको औचित्य के ? यसरी समयको बर्बादी गर्नु उपयुक्त हो ? अनि वक्ताको अभिव्यक्तिलाई थप ब्याख्या र समराइज गर्ने अधिकार सञ्चालकलाई कसले दिन्छ ?
त्यतिबेला भैरव सरको कुराले आयोजकलाई थोरै असहज भएकै हो । तर उहाँको कुरा सत्य थियो । कार्यक्रमहरूमा सञ्चालकले अनावश्यक फुदा– टुक्का जोडेर समय बर्बाद गरिरहँदा दर्शक-दीर्घाका सहभागीहरू उग्ने अवस्थामा पुगिसकेका हुन्छन् । अनि वक्ताको भनाइलाई व्याख्या र समराइज गरेर उपबुज्रुक बन्ने सञ्चालकलाई सहभागीहरूले धारेहात लगाएर सरापिरहेका हुन्छन् ।
जीवन एक पाठशाला
जेहोस, दीर्घजीवन बाँच्नुभएका भैरव सरको दैनिकी अर्गानिक थियो । उहाँले बाँच्नुभएको पत्रकार र अभियन्ताको जीवनमा कहीँकतै खोट थिएन । कहीँकतै बनावटी थिएन । जसविरे जस्ता नेपालका धेरै गाँउघरमा कृषि क्रान्ति भित्राउनुभएका भैरव सरले पत्रकारितामा रिर्पोटिङको महत्वलाई मृत्युपरेन्त आत्मसाथ गर्नुभयो।
भैरव सरले रेडियो सगरमाथामा सुरु गर्नुभएको ‘कुरोकन्थो’ कार्यक्रम ९७ वर्षको उमेरसम्म चलाउनुभयो । उहाँको यो जागरुक सक्रियताले पनि पत्रकारिताप्रति उहाँको सर्मपणको मापन गर्न सकिन्छ । जीवनको अन्तिम पलसम्म ठिटो– ठट्टेउलो उमेर बाँचुभएका भैरव सर भन्नुहुन्थ्यो– अब चाहीँ मनको उत्साहलाई तनको बुढ्यौलीले जित्दै गएजस्तो लागेको छ ।
साँच्चै त्यस्तै भयो । मनको उत्साह बाँचिरहे पनि तनको बुढ्यौलीले विश्राम लिएपछि उहाँ ब्रमहलीन हुनुभएको छ । जेहोस, बाँचुञ्जेल पत्रकारिता र अभियन्ताको अर्गानिक पाठशाला बन्नुभएका भैरव सरले मृत्युपछि आफ्नो शरीर अस्पताललाई अर्पण गरेर जिन्दगीको पाठशालालाई थप अध्यनका लागि छोडिदिनुभएको छ ।
प्रतिक्रिया 4