+
+
Shares

दुर्गा प्रसाईंविरुद्ध कुन-कुन कसुरमा मुद्दा चल्छ ?

प्रसाईंमाथि राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा म्याद थप भएको छ । यदि यो कसुर प्रमाणित भएमा उनलाई २५ वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ चैत २९ गते २१:५०

२९ चैत, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं घटनाको करिब १५ दिनपछि भारतको आसामबाट पक्राउ परे । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको थियो ।

शुक्रबार पूर्वी नाकाबाट नेपाल ल्याइएका प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थलबाट शुक्रबार दिउँसो काठमाडौं ल्याइयो । विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसरको हिरासतमा पुर्‍याइएका प्रसाईंलाई प्रहरीले केहीबेरमै म्याद थपका लागि भनेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो ।

सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भएपछि अनुसन्धानका लागि पहिलो पटक प्रसाईं र उनका बडीगार्ड दीपक खड्काविरुद्ध १२ दिनको म्याद थप भयो । अहिले उनीहरूलाई परिसरकै हिरासत कक्षमा राखिएको छ ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।

राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रर्दशन भयो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । सवारी साधन जलाइए ।

प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको ज्यान गयो ।

प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भने गाडी चढेर भागेका थिए । त्यसैदिन प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर राणालाई पक्राउ गरेको थियो । प्रसाईं भने लामो समय फरार हुन भए । अन्तत: अहिले उनी प्रहरी हिरासत पुगेका छन् ।

प्रसाईंविरुद्ध शुक्रबार राज्य द्रोहविरुद्धको कसुर र संगठित अपराधको कसुरमा अदालतबाट म्याद थप भएको छ ।

ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको आरोपमा प्रसाईंविरुद्ध ड्युटीमा खटिएका प्रहरीले निवेदन दिने तयारी गरेका छन् । जसका कारण उनलाई ज्यानसम्बन्धी कसुरदेखि ज्यान मार्ने उद्योगसम्मको मुद्दा चल्नेछ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीमाथि म्याद थप भएको छ ।

संहिताको दफा ५० राजद्रोहको कसुरबारे उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन,’ उल्लेख गरिएको छ ।

यदि कसैले यस्तो कसुर गरेमा भने २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ । अब राजद्रोहको कसुरमा म्याद लिएपछि प्रहरीले उनीमाथि यसका प्रमाणहरू जुटाउनुपर्ने हुन्छ । यसका लागि काम भइरहेको प्रहरीको भनाइ छ ।

योसँगै अहिले प्रसाईंविरुद्ध संगठित अपराधको कसुर पनि लगाइएको छ । संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति लिएको हो । तीन जनाभन्दा बढीको समूह बनाएर तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा संगठित अपराध हुने कानुनी व्यवस्था छ ।

संगठित समूहको अगुवालाई समेत अनुसन्धानमा तान्न सकिने व्यवस्था भएकाले प्रहरीले पूर्वराजा ज्ञानेन्द्रलाई समेत दायरामा ल्याउन सकिनेगरी संगठित अपराध निवारण ऐन, २०७० को अनुसन्धान पनि अघि बढाएको हो ।

प्रसाईं पक्राउ परेसँगै उनीमाथि अनुसन्धान गर्दा पूर्वराजासम्म पुग्न सकिने आकलन पनि गरिएको छ । यो संगठित अपराधको मूल जरो पूर्वराजासम्म पुगेको अवस्थामा उनी पनि कानुनी दायरामा आउनेछन् ।

यता, गृहमन्त्री रमेश लेखकले समेत पूर्वराजालाई संकेत गर्दै अभिव्यक्ति दिएका छन् । ‘दुर्गा प्रसाईं पक्राउ परेका छन् । अब को–को आउँछन्, थप खुल्दै जान्छ,’ उनले प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा संसदीय मामिला समितिमा भने ।

संगठित अपराधको आरोप स्थापित भएमा अरु मुद्दामा हुने सजायको आधा सजाय थपेर कैद गर्न सकिने व्यवस्था छ । तर संगठित अपराधको आरोप अघि बढाउँदा प्रहरीले आरोपितहरूमाथि अपराध गर्ने नियतले नै संगठित समूह बनाएको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

यसबाहेक प्रसाईंविरुद्ध कुन–कुन कसुरमा अनुसन्धान हुन्छ र मुद्दा चल्छ भन्ने आम जिज्ञासा रहेको छ । यता प्रहरीले भने अहिले नै मुद्दाका विषयहरू किटान गरिसकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहरा भन्छन्, ‘म्याद थप भएको छ । अब अनुसन्धान हुँदैछ जाँदा कुन–कुन कसुर खुल्छ सोहीअनुसार मुद्दाको प्रक्रिया अघि बढ्छ ।’

प्रहरीले औपचारिक रूपमा यो विषयमा मुख नखोले पनि प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा समेत अनुसन्धान अघि बढ्ने निश्चित भएको छ । तीनकुनेमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोप उनीमाथि छ ।

ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीले निवेदन दिने तयारी गरेका छन् । ‘त्यस दिन ड्युटीमा खटिएका प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा निवेदन दिने तयारी छ । त्यसपछि ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान हुन्छ,’ परिसर स्रोतले भन्यो ।

यसका साथै प्रसाईंविरुद्ध सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति तोडफोड गरेको आरोप पनि छ । जसले सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति तोडफोड गरेको छ, जसैबाट भराउनुपर्ने भन्दै यसअघि नेताहरु सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए ।

तीनकुने प्रदर्शनमा सार्वजनिक र निजी सम्पत्तिको ठूलो क्षति भएकाले प्रसाईंविरुद्ध त्यसमा पनि अनुसन्धान गर्ने तयारी छ । यसका लागि उनीविरुद्ध मुलुकी अपराध संहिताको दफा २८५ को आपराधिक उपद्रवको कसुरमा समेत अनुसन्धान हुनसक्ने बताइएको छ । यो दफाअनुसार सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा क्षति पुर्‍याउन नहुने उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले पनि उनीविरुद्ध विविध कसुरहरू आकर्षित हुनसक्ने बताउँछन् ।

‘अहिले म्याद लिएको राजद्रोह र संगठित अपराधको कसुर हो । तर अनुसन्धान गर्दा अन्य कसुरहरू पनि आकर्षित हुन सक्छन्,’ शर्माले अनलाइनखबरसँग भने । उनका अनुसार सम्भावित कसुरको रुपमा ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव हुन् ।

तर, अब प्रहरी अनुसन्धानमा यी कुराहरू निर्भर रहने उनले बताए । प्रहरी अनुसन्धानले कस्तो कसुर गरेको देखिन्छ र के–के सबुद प्रमाण जुटाउँछ सोही अनुसार थप कसुरहरू जोडिँदै जाने उनको भनाइ छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?