
२९ चैत, काठमाडौं । सरकारलाई प्रमुख कृषि बालीको समर्थन मूल्य बाली लगाउनुभन्दा १५ दिन अगाडि नै तोक्न सुझाव दिइएको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार प्रमुख कृषि बाली धान, मकै, गहुँ, चिया र अलैँचीको लागतका आधारमा प्रत्येक वर्ष बाली लगाउने सामान्य समयको कम्तीमा १५ दिन पहिले राष्ट्रिय समर्थन मूल्य तोक्न सुझाव दिएको हो ।
‘चक्रवर्ती कोष खडा गर्ने उक्त कोषमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रत्येक वर्ष रकम जम्मा गर्दै जाने व्यवस्था गर्ने र त्यसैगरी कृषकलाई मूल्य स्थिर गर्न र किसानलाई आफ्नो कृषि उपजको मूल्य सुनिश्चितता प्रदान गर्न अनुबन्ध (करार) खेती र बाली लगाउनुपूर्व बजारको माग अनुरूप अनुबन्धहरूको प्रवद्र्धन गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था गर्ने,’ आयोगले कृषि क्षेत्रमा दिएको सुझावमा छ ।
बिक्री केन्द्रदेखि करार खेतीसम्मका सुझाव
आयोगले किसानको मोलतोल गर्ने क्षमता बलियो बनाउन प्रमुख बजार केन्द्रमा किसान सहकारी र स्थानीय तहको सहकार्यमा बिक्री केन्द्र स्थापना गर्न सुझाव दिएको छ ।
बजार सम्बन्धी सूचना र जानकारीमा पहुँच पुर्याउन मोबाइल एप्स, एसएमएस र अन्य माध्यमबाट किसानलाई मूल्य, माग र आपूर्ति तथ्यांक उपलब्ध गराउने सूचना प्रणाली थप प्रभावकारी बनाउन समेत भनिएको छ ।
‘अनुबन्ध खेती (करार खेती) प्रवद्र्धन गर्ने, कृषि बजार नियमन ऐन जारी गर्ने, मध्यस्थकर्ताहरूको नियमन गर्न दर्ता गर्नुपर्ने कानुनी व्यवस्था गर्ने,’ सरकारलाई आयोगले सुझाव दिएको छ ।
प्रतिक्रिया 4