+
+
Shares

ह्याम्स अस्पताल २८ वर्षमा,  सुरु गर्‍यो नीतिगत बहस श्रृङ्‍खला

‘यस्तो संवाद हामीले अघिल्लो वर्षदेखि नै सुरू गरेका हौं । यस्तो संवाद २०औं वर्ष चल्ने छ,’ डा. शर्माले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १८:५४

काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) अस्पतालले वार्षिकोत्सवको अवसरमा ‘बृहत् सामाजिक हितका लागि ह्याम्सको पहल’ भन्दै अस्पतालले नीतिगत बहस श्रृङ्‍खला सुरु गरेको छ ।

दुई सत्रमा विभाजित कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र नागरिकको स्वास्थ्यमा हुने लगानी सम्बन्धी विषयमा छलफल भएको छ ।

कार्यक्रमको पहिलो सत्रमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच’ बहसमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले गुणस्तरीय स्वास्थ्य सेवाको अभावका कारण प्रत्येक वर्ष ८० लाख मानिसको अकालमा नै ज्यान जाने गरेको बताए ।

यीमध्ये ५० लाख मानिसको मृत्यु निम्न गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र ३० लाखभन्दा बढी मानिसको मृत्यु स्वास्थ्य सेवामा पहुँच अभावले हुने गरेको उनले बताए ।

उनले स्रोत साधनको अभावमा विकसित मुलुक र विकासोन्मुख देशमा मृत्युदर समेत निकै ठूलो खाडल रहेको बताए ।

‘मुलुक जस्तोसुकै धनी वा स्वास्थ्य संस्था जस्तोसुकै ठूलो पूर्ण गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेका हुँदैन । यो निरन्तर सिकाइ हुने विषय हो,’ कोइरालाले भने, ‘ तर गरिब देशमा भने गुणस्तरीय स्वास्थ्य सेवा हुनसक्दा मृत्युदर अत्यधिक छ ।’

डा. कोइरालाका अनुसार विकासोन्मुख देशमा शल्यक्रिया गर्दा संक्रमण भएर हुने मृत्युदुर ६ प्रतिशत छ । जबकि विकसित देशमा ०.९ प्रतिशतको मृत्यु हुने गरेको छ ।

गुणस्तरीय सेवा दिनका लागि उपकरण, भौतिक संरचना साथ साथ दक्ष जनशक्तिको पनि आवश्यकता रहेको औंल्याए । ‘राजनैतिक नेतृत्वको उपकरण, भवन मात्रै निमार्ण हुँदा मात्रै स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने धारणा छ । जुन गलत हो,’ उनले भने, ‘ गुणस्तरीय सेवा प्रवाह गर्नमा स-साना कुराबाट चुकिरहेका हुन्छौं ।’

सर्जिकल चेकलिस्टलाई पूर्ण कार्यान्वयन, हात धुने प्रोटोकल, औषधि/रक्तक्षेपणलाई दुई कर्मचारीद्वारा परीक्षण, अस्पतालमा हुने संक्रमण न्यूनीककरण घटाउन सक्दा पनि धेरै हदसम्म गुणस्तरीय सेवा दिन सकिने डा. कोइरालाको भनाइ छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी समस्या रहेको उजागार गरे ।

तीन दशक यता नेपालको स्वास्थ्य क्षेत्रले फड्को मारेको भएता पनि अझै पनि राजनीतिक दलका नेताहरूले बाहिर देश गएर उपचार गराइरहेको बताए । अब समातामूलक स्वास्थ्य प्रणालीको विकास गनुपर्ने उनको भनाइ थियो ।

‘पहुँचवाला वा नेताहरु उपचार गर्न बाहिर देश जाने टेन्ड्र अझै घट्न सकेको छैन,’ खतिवडाले भने, ‘तर सर्वसाधारणलाई न्युनतम सेवा समेत पाउन सकेका छैनन् ।’

सरकारले गर्ने कार्यक्रम स्वास्थ्यका कार्यक्रम घोषणमा मात्रै समिति भएकाले पनि गुणस्तरीय सेवा दिन नसकिएको खतिवडाले बताए ।

‘आधारभूत अस्पताल एकैपटक प्रचार कमाउनका लागि शिलायान्स गरियो । अहिले भवन बन्न्नु परै जाओस्, जग खन्नै काम समेत भएको छैन,’ उनले भने, ‘स्वास्थ्य बीमा झन् भद्रगोल बन्दै गएको छ । स्वास्थ्य संस्थाले बीमाको भुक्तानी नपाएको महिनौं भइसक्यो ।’

मधेश प्रदेशका ९६ वटा अस्पताल अनुगमनको क्रममा ८१ वटा मापदण्ड नपुगेका अस्पताल भेटिएको सन्दर्भ उल्लेख गर्दै उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि राज्यले नै बलियो नीति बनाउनुपर्ने बताए ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले अझै पनि नागरिकले उपचार खर्चका लागि खल्तीबाट प्रतिसय ५४ रुपँया खर्च गर्नुपर्ने बाध्यता रहेको बताए । जनशक्तिको अभाव र कमजोर भौतिक संरचना हुँदा गुणस्तरीय सेवा दिन चुकिरहेको उनको भनाई छ ।

‘हामीले उपचारको पाटोलाई मात्रै जोड दिएका हुन्छौं । तर अब यो सँगसँगै रोग नै लाग्न नदिन रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ,’ डा. देवकोटाले भने ।

राजनैतिक नेतृत्वले पनि स्वास्थ्यका कार्यक्रमलाई प्रचारवादीको रुपमा घोषणा गर्दा थप समस्या आएको उनको भनाई थियो ।

तीन दशक अगाडिदेखि स्वास्थ्यको जनशक्ति १३०० बाट बढ्न सकेको छैन । छात्रवृत्तिको करारका डाक्टरलाई परिचालन गरेर पनि सेवा दुर्गम ठाँउमा पुर्र्र्याएका छौं,’ डा. देवकोटाले भने, ‘ स्वास्थ्यमा लगानी गर्दा अन्य क्षेत्रको खर्च समेत घट्छ भनेर बुझाउन सकिएको छैन ।’

डा. देवकोटाले गुणस्तरीय सेवाका लागि तीन तहको बीचको समवन्यलाई प्रभावकारी बनाउनुपर्ने जीकिर गरे ।

सांसद पूर्णबहादुर घर्तीले रुकुम पूर्वका नागरिकले स्वास्थ्य सेवा लिनका लागि हेलिकोप्टर प्रयोग गर्नुपर्ने बाध्यता अझैसम्म रहेको समस्याबारे उजागर गरे ।

गर्भवतीलाई सुत्केरी गराउनका लागि हलिकोप्टरको प्रयोग गरेर काठमाडौंसम्म ल्याउनुपर्ने बाध्यता छ,’ घर्तीले भने, ‘ जिल्ला अस्पताल भखरै बन्दै छ । एमबीबीएस गरेका समेत चिकित्सक जान मान्दैनन् ।’

सरकारले तोकेको आधारभूत स्वास्थ्य पनि लागु हुन नसकेको उनले बताए ।

नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसीले नर्सिङ जनशक्तिको पनि सहि सदुपयोग हुन नसकेको जिकिर गरिन् ।

‘अहिले मिडवाइफीको उत्पादन भइरहेको छ । तर त्यसको सही सदुयोग छैन,’ केसीले भनिन्, ‘मिडवलाइफी जनशक्तिलाई प्रसूति अस्पताल वा प्रसूति गराउने सेन्टरमा राख्नुपर्ने हुन्छ । यस्ता जनशक्तिलाई ट्रमा सेन्टर वा अन्य अस्पतालमा राखेर काम गराइरहेका छौं ।’

केसीले नर्समाथि निजी मेडिकल कलेजले गरेको श्रम शोषण उजागार गरिन् ।

‘निजी अस्पतालको आम्दानी बढाउने नर्सले मासिक ८ हजारमा काम गरिहेका छन्, उनले प्रश्न गरिन्, ‘रात दिन भोकै काम गर्ने नर्स कसरी गुणस्तरीय सेवा दिन सक्छन् ? ।’

सरकारी अस्पतालमा पनि बिरामी र नर्सको अनुपातमा जनशक्ति नहुँदा स्वास्थ्य सेवा गुणस्तरीय हुन नसकेको उनको भनाई छ ।

निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)का अध्यक्ष डा. पदम बहादुर खड्काले तीन तह बीचको समवन्य नहुँदा गुणस्तरीय सेवा प्रवाह गर्न असर परिहेको बताए ।

‘दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीलाई आकर्षण गर्न सकिएको छैन । भवन र उपकरण मात्रै भएर राम्रो सेवा दिन सकिँदैन, ’ डा. खड्काले भने, ‘ सरकारले स्रोत साधनदाई सर्वसुलभ बनाउने वातावरण बनाउन आवश्यक छ ।’

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले सरकारले स्वास्थ्य प्रतिको दायित्व बुझाउनका लागि संवाद श्रृंखला सुरु गरेको बताए ।  संवादबाट आएको सुझावलाई स्वास्थ्य मन्त्रालयमा पेश गर्ने समेत उनले जानकारी दिए ।

‘यस्तो संवाद हामीले अघिल्लो वर्षदेखि नै सुरू गरेका हौं । यस्तो संवाद २०औं वर्ष चल्ने छ,’ डा. शर्माले भने ।

अघिल्लो वर्षबाट सुरु भएको संवाद श्रृंखलालाई ह्याम्सले हरेक वार्षिकोत्सवमा निरन्तरता दिने जनाएको छ।

वार्षिकोत्सवका अवसरमा ‘स्वास्थ्य सबैको सरोकार’ नारासहित एक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नीतिगह बहस सुरु गरिएको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।

नागरिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबारे बृहत् छलफल गरी समाधानका उपाय र सुझाव निकाल्नु कार्यक्रमको उद्देश्य रहेको भण्डारीले बताए ।

ह्याम्स अस्पतालले विगत ७ वर्षदेखि धुम्वाराहीमा अत्याधुनिक भौतिक पूर्वाधारसहित सेवा दिँदै आएको छ । ह्याम्स स्थापना भएको २८ वर्ष पुगेको छ ।

अस्पतालले उच्चतम प्रविधि, अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

अध्यक्ष भण्डारीका अनुसार स्वास्थ्य क्षेत्रका जटिल चुनौती समाधान गर्न समाजमा बहसको वातावरण आवश्यक भएकाले ह्याम्सले सामाजिक उत्तरदायित्व बोध गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

अस्पतालमा बिरामीको चाप पनि बढ्दो क्रममा छ । अस्पतालले एक वर्षमा एक लाखभन्दा बढी बिरामीलाई सेवा दिने गरेको छ । अस्पतालले वैशाखदेखि चैत तेस्रो सातासम्म एक लाख २६ हजार बिरामीलाई ओपीडी र अन्तरंग सेवा दिएको छ । अस्पतालमा यो वर्षको फागुनसम्म ३ हजार २ सय ६१ जनाले शल्यक्रिया सेवा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?