
२९ चैत, काठमाडौं । १ वैशाखदेखि ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सुरु हुने भएको छ ।
काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रूपमा प्रसिद्ध पर्यटकीयस्थल नगरकोटलाई केन्द्रविन्दुमा राखेर भ्रमण वर्ष सञ्चालन गर्न लागिएको हो ।
चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा सञ्चालन हुने उक्त कार्यक्रमले नगरकोटमा एक लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले नगरकोट भ्रमण वर्षको सबै तयारी पूरा भएको जानकारी दिए ।
नगरकोट आउने पर्यटकहरूको बसाइ समय लम्ब्याउने उद्देश्यले भ्रमण वर्ष कार्यक्रम सुरु गर्न लागिएको उनले बताए ।
विभिन्न स्थानीय परिकार पर्यटकलाई चखाउने योजना अनुरूप गाउँगाउँमा नमुना होमस्टे समेत सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नो कार्यकालको पहिलो बैठकमै भ्रमण वर्ष मनाउने घोषणा गरेकामा अहिले चार वटै नगरपालिकाको सहकार्यसहित नगरकोटलाई पर्यटकीय केन्द्रविन्दु बनाउन भ्रमण वर्ष सफल हुने विश्वास व्यक्त गरे ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकलाई बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गराउन सकिने, यहाँका जात्रा परम्परामा पर्यटकलाई जोड्ने, जलजले ताल, गुम्बालगायतमा पर्यटकलाई लैजान सकिने बताए ।
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने बताए ।
मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोटको समग्र विकासका लागि चारवटै पालिकाको साझेदारीमा नगरपालिकाको डीपीआर बनाउने काम भइरहेको बताए ।
भ्रमण वर्षको शुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरू रहने आयोजकको भनाइ छ ।
त्यसैगरी खानाका स्टलका साथमा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको संग्रहालय तथा प्रत्येक स्थानीय तहका छुट्टाछुट्टै झाँकी प्रदर्शन गरिने छ ।
प्रतिक्रिया 4