
२९ चैत, वीरगञ्ज (पर्सा) । खानेपानी मन्त्री प्रदीप यादवले विद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव नहुने बताएका छन् । शुक्रबार वीरगञ्जस्थित ओम नेशनल एकेडेमीद्वारा आयोजित विद्यार्थी बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा चित्रण गरिएको बताए ।
‘विद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव हुँदैन । बिद्यार्थी भनेका केवल पुस्तकको सीमामा बाँधिने पात्र मात्र होइनन्,’ मन्त्री यादवले भने, ‘उनीहरू भविष्यका कर्णधार, राष्ट्रका निर्माता र परिवर्तनका संवाहक पनि हुन् ।’
उनले विद्यार्थीहरूलाई आगामी वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गरी देशभरमा आफ्नो नाम रोशन गर्नका लागि शुभकामना समेत दिए ।
‘म विश्वासका साथ भन्छु, भोलिका इञ्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै बिद्यालयहरूबाट जन्मिनेछन्,’ उनले भने, ‘सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिइ पर्सा मात्र होइन, समग्र देशको पनि नाम रोशन गर्नुहोला ।’
एक छुट्टै प्रसङ्गमा बोल्नु हुँदै मन्त्री यादवले अब वीरगञ्जवासीका घरघरमा पाइपमार्फत निःशुल्क रुपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताए ।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एशियन विकास बैंकको सहकार्यमा तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको बताए ।
‘जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एडिबीको सहकार्यमा तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ । चाँडै यहाँका नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ,’ उनले भने ।
यस्तै, मन्त्री यादवले अबका दिनहरूमा सिंगो वीरगञ्ज नगरभर निःशुल्क खानेपानी वितरण गरिने प्रतिबद्धता समेत जनाए ।
ढल व्यवस्थापनका लागि डेढ अर्बको बजेट छुट्याइएको र वीरगञ्ज महानगरपालिकाका वडानं. २०, ३०, ३१, नगवा लगायतका क्षेत्रमा योजना कार्यान्वयनमा रहेको जानकारी उनले दिए ।
प्रतिक्रिया 4