+
+
Shares
पुस्तक समीक्षा :

‘अनुभूतिको अवतरण’मा युगीन पदचाप

रञ्जनाका निबन्धमा स–साना प्रसङ्गहरूमा गुजुल्टिएर आउने जीवन दर्शन, प्रेरणा र प्रतीकात्मकतामा जीवनको शाश्वत सत्य अनि समग्रता भेट्टाइन्छ । हाम्रो चिन्तन पद्धति, चरित्र र चित्र अनि संस्कार र संस्कृतिहरूमा देखिएका विकृतिले शीघ्र परिमार्जन खोजिरहेको संकेत गर्छ ।

श्रीबाबु कार्की श्रीबाबु कार्की
२०८१ चैत ३० गते २१:५८

समकालीन पुस्ताकी प्रभावोत्पन्न सर्जक हुन्, रञ्जना निरौला । कवि, लेखक, समीक्षक, सम्पादक तथा निबन्धकारका रूपमा यशस्वी छवि निर्माण भएकी साहित्य साधक हुन्, उनी । केही समयअघि मात्र उनको ‘अनुभूतिको अवतरण’ नामक सघन भावायुक्त निबन्धसंग्रह प्रकाशित भएको छ । यो संग्रहका अधिकांश निबन्धको प्रवाह निजात्मक छ ।

नेपाली निबन्धमा आत्मपरक र निजात्मक अनुभूतिको नैबन्धिक मार्ग साँघुरिंदै गएको बेला रञ्जनाको उपस्थिति सार्थक देखिएको छ । निबन्धका सन्दर्भमा पाश्चात्य साहित्यका विद्वान् मोन्तेयको परिभाषा छ– ‘छरिएर रहेका विचार चिन्तनलाई सूत्रबद्ध गर्ने विशिष्ट विधा हो, जसमा वैयक्तिक भाव, आडम्बरशून्य भाषा र अनौपचारिक अभिव्यक्ति रहेको हुन्छ ।’ यो परिभाषालाई गहिरोसँग अनुभूत गरेर रञ्जनाका निबन्ध आएका छन् । अनुभूतिको अवतरणमा आत्मा अभिव्यक्तिको बेजोड नमूना र विशृंखलित चिन्तन रहेको देखिन्छ ।

रञ्जनाले नेपाली आत्मपरक निबन्धलाई नयाँ स्वाद र शैली र स्वरुप मात्रै प्रदान गरेकी छैनन्, उनका प्रत्येक निबन्धहरू शब्दका अनुपम कला हुन् । हृदयका गहिरो उच्छवास हुन् । मोन्तेयकै निबन्ध सम्बन्धी अर्को प्रसिद्ध भनाइ छ– ‘मेरो निबन्धको विषय म आफैं हुँ ।’ यो उक्तिलाई हेर्ने हो भने रञ्जनाको पनि अधिकांश निबन्धको पात्र रञ्जना नै हो भन्ने लाग्छ । यसरी हेर्दा रञ्जना मोन्तेयमार्गी निजात्मक निबन्धकी अब्बल स्रष्टा हुन् ।

नेपाली निबन्धको उत्तरवर्ती समयमा हम्मेसी निबन्ध लेख्न कोही अघि सरेको पाइँदैन । त्यहींमाथि आत्मपरक निबन्धको झाङ त क्रमशः सुक्दै गएको देखिन्छ । आत्मपरक निबन्ध आफैंलाई टकटक्याउने र मानिसभित्रको बौद्धिक सौन्दर्य र व्यक्तिको स्वः पोख्ने साहित्यको एउटा विधा हो । जीवन र जगतलाई मसिनोसँग चियाउने यो विधामा रञ्जना निरौलाको उपस्थितिले पक्कै पनि आशा जगाएको छ । बलियो भरोसा दिलाएको छ । रञ्जनाले आफ्ना निबन्धभित्र आफैंलाई कलात्मक, सिर्जनात्मक र ललित रूपमा पोखेकी छन् । जीवन जिउने नयाँ–नयाँ दर्शन र सौन्दर्यको उजागर भएको छ ।

समाजका अनेकौं आयाम र यथार्थहरू खोतलिएको छ । उनका निबन्धहरू हामीले भोगेको समयका दसी–प्रमाण र अर्थपूर्ण दस्तावेज बनेका छन् । निबन्धकार रञ्जनाका हरेक वाक्यमा दर्शन घुसेको छ । कालिक चिन्तन, गहिरो आत्मानुभूति र हृदयसंवेद्य विषय समाविष्ट छन् । कल्पनाको स्वच्छन्द अनि शान्त उडान भरेका यी निबन्धभित्र हाम्रो सामाजिक सभ्यता, सौन्दर्य र इतिहासको गहिरो दर्शन अटाएको छ ।

रञ्जना निरौला सूक्ष्म विषयमा गहन भाव, तर्क र मानिसको मनोविज्ञान खोतल्ने ल्याकत राख्ने स्रष्टा हुन् । त्यसैले उनका निबन्धहरू प्रवाहमय र प्रभावकारी हुन्छन् । बिम्बमा समय प्रतिबिम्बित गर्न सक्ने सामथ्र्य बोकेका यी निबन्धहरू भाषागत नवीन प्रयोगका कारण काव्यात्मक विशिष्टताले भरिएका छन् । रञ्जना कवि भएको प्रमाण उनका निबन्धमा व्यक्त भएको भाषागत शिल्पले सिद्ध गर्दछ ।

निबन्धहरू जति सरल छन् त्यतिकै अबोधगम्य र बहुअर्थी । अनुभूतिको अवतरणभित्रका निबन्धहरूलाई अनेकौं अर्थ अनि विविध आयामबाट पाठकहरूले आस्वादन गर्न सक्छन्— त्यो निबन्धकारको वैशिष्ट्य र निजत्व पनि हो ।

नेपाली साहित्यमा रञ्जनाको नैबन्धिक स्वाद र शैली मात्रै पृथक् छैन, आलोचनात्मक दृष्टिकोण पनि निकै प्रखर देखिन्छ । यस हिसाबले उनको निबन्ध झन् खारिएका र अझ पोटिला बनेका छन्

विविध रङका पन्ध्र वटा निबन्ध सङ्गृहीत ‘अनुभूतिको अवतरण’मा पहिलो निबन्धको रूपमा ‘शिरीषसँग शब्द–संवाद’ प्रस्तुत भएको छ । जसले प्रसिद्ध साहित्यकार पारिजातको गौरव र गहिरो गुञ्जन अभिव्यक्त गरेको छ । ‘फेसबुकमा सम्मोहित समय’ले सीमाविहीन संसारको कल्पना र समयको सौन्दर्य उजागर गरेको पाइन्छ ‘छिंडीभरिको संसारबाट’ कोरोना कहर र मृत्युभयले गाँजेपछि पृथ्वी र पर्यावरणीय चिन्तनमा चुर्लुम डुबाउँछ । ‘बङ्करमाथि उभिएको म’ निबन्धले युद्धको बीभत्सता र सिर्जनात्मक सौन्दर्यको पृष्ठभूमिलाई मन्थन गर्छ । ‘स्वको पक्षमा’ निबन्ध जीवनको क्षणभङ्गुरता, चर्वाक दर्शन, लैङ्गिक विभेद र कुरुप संस्कारप्रति भुतभुते खेलाउँछ ।

‘आर्तनाद’ मा बलात्कारपछि मारिएकी निर्मलाको आत्मालाई सम्बोधन गरिएको छ । त्यो दारुण चित्रणमाथि निबन्धकारको मन, मुटु निकै उद्वेलित भएको देखिन्छ । ‘अनुरागको अङ्कुर’ मा प्रेम र जीवनको गहिरो अनुभूतिमा अङ्कुरित भएको पाइन्छ । ‘प्रार्थना’ निबन्ध मृत्युको कहालीलाग्दो अत्यास र ईश्वरीय चमत्कारको आशामा उभिएको देखिन्छ । ‘अन्त्यारम्भ’ यो बिम्बात्मक निबन्ध हो । अन्त्य र आरम्भको संयोगलाई लेखकीय स्वैरकल्पनाको तीव्र पुट दिन खोजिएको आभास हुन्छ । यो निबन्धमा स्वैरकल्पनाको प्रयोग नूतन लाग्छ ।

निबन्धहरू पढ्दा प्राप्त हुने अनेकौं मिथकको स्वाद, लेखकीय काल्पनिकता र भावुकपनले निबन्धको ओझ अझै गह्रौं बनाउँछ । हरेक कुरालाई हेर्ने निबन्धकारको गहन दृष्टिकोण र दर्शनले पाठकको हृदय सजिलोसँग पगाल्न पुग्छ र मस्तिष्कमा बेग्लै ऊर्जा प्रवाह गर्छ । ‘स्नेहको अभिलाषा’मा छोरी यशस्वीलाई सम्बोधित गरिएको ममतामयी मातृत्वको गौरव र गरिमा वर्णित छ । ‘सर्वविद्याको राजधानीमा म’ निबन्धमा आध्यात्मिक संसार छ । हिन्दूहरूको ज्ञानार्जन गर्ने पवित्र नगर वाराणसीको पवित्रतामाथि पोखिएको भाव छन् । ‘प्रेमको शिविरबाट’ मा भगवान् कृष्णप्रतिको गहिरो उपासना अभिव्यक्त छ ।

‘विरोधाभाषी चिन्तन’ निबन्धभित्र जीवनलाई यात्रामा उतारिएको छ । ‘जीवन बाँचुन्जेल त हो नि !’ भन्दै निबन्धकारबाट मृत्युका अघिल्तिर रमेरै बाँच्नुपर्ने दर्शन सम्प्रेषण भएको छ । ‘कुमारी स्वप्न’ ले निबन्धको प्रतीकात्मक सौन्दर्यको रुमानी स्वाद आस्वाद गराउँछ । स्वप्नको भर्‍याङ चढाएर पाठकलाई स्वप्न–शहर घुमाउँछ । यो निबन्धबाट अनेकौं अर्थहरू निस्पत्ति हुन्छन् । संग्रहको अन्तिम निबन्ध ‘आस्थाको भ्रष्टीकरण’ हो । यो निबन्धमा देश र माटोप्रति सघन चिन्तन छ । नेतृत्वप्रति अविश्वास छ । झट्ट हेर्दा यो जनताको आस्थाबाट निर्मित भएको निबन्ध हो भन्ने लाग्छ । यसमा जनताको आक्रोश प्रतिबिम्बित भएको पाइन्छ ।

रञ्जनाका निबन्धमा स–साना प्रसङ्गहरूमा गुजुल्टिएर आउने जीवन दर्शन, प्रेरणा र प्रतीकात्मकतामा जीवनको शाश्वत सत्य अनि समग्रता भेट्टाइन्छ । हाम्रो चिन्तन पद्धति, चरित्र र चित्र अनि संस्कार र संस्कृतिहरूमा देखिएका विकृतिले शीघ्र परिमार्जन खोजिरहेको संकेत गर्छ ।

नेपाली साहित्यमा रञ्जनाको नैबन्धिक स्वाद र शैली मात्रै पृथक् छैन, आलोचनात्मक दृष्टिकोण पनि निकै प्रखर देखिन्छ । यस हिसाबले उनको निबन्ध झन् खारिएका र अझ पोटिला बनेका छन् । निबन्धकार जति कठोर देखिन्छन्, उत्तिकै हार्दिक र कोमल पनि ।

निबन्धकार रञ्जना निरौला मुख्यतः निजात्मक निबन्धकी सर्जक हुन् । निरौलाका प्रत्येक निबन्धमा हृदयको उद्घाटन र वैयक्तिकताको सुललित प्रवाह छ । युगीन यथार्थको मीमांसा गर्ने रञ्जनाका निबन्धमा समकालीन युगको स्पष्ट पदचाप देख्न सकिन्छ । उनमा जीवन र जगतको यथार्थ छाम्ने तागत छ । सूक्ष्म विषयमा गम्भीरतापूर्वक शब्दमा प्रतिबिम्बित हुने सामर्थ्य छ । हरेक असामान्य कुरालाई सामान्य आँखाले हेर्ने तीक्ष्ण चेत, गहन संवेदनशीलता र निष्ठायुक्त सौन्दर्यको रुझान भएको निबन्धकार व्यक्तित्व पनि छ ।

हृदय संवेद्य निबन्धकार रञ्जना निरौलालाई आगामी यात्राका लागि अप्रतिम शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?