
फल्ले (काठे फल्याक)छाने दुईतले घरको अघिल्तिर जोडिएको आधा आँगन, आधा मलखदा (मलखाद/मलखातो) । मलखदामा सोत्तर (झरेका खर्सु, बुराँस, ऐयार लगायतका पात) र सोत्तरमा ढलीमलीरत सुँगुर ।
मलखदा ठीकमाथि तलाजसरी नै भाटा (कप्टेरा नपारेको चोयाको सिंगो जीउ) वारपार गराएर बनेको टाँड थियो । टाँडमा ओछ्याएको काम्लो (कम्बल)मा बस्यौं । डुलडाँडाबाट थबाङ, झकेबाङ र जुर्बाङ राम्चायौं । पश्चिमपट्टि गुनाम, महत र लाबाङ चिहायौं । चुनबाङबाट थबाङ जाँदा लाबाङ (बाबुराम भट्टराईलाई कारबाही गर्दा माओवादी पोलिटब्युरो बैठक बसेको गाउँ) भएरै गएका थियौं ।
कालारङे सुँगुरले छक्कालैदेखि गाइरहेका थिए– घोँ घोँ च्होँ च्होँ । घरी ‘स्यानीमाया’ जस्तो छिटोछिटो घोँघोँ घोँघोँ त घरी रोल्पाली अर्को रैथाने गीत ‘साइँली बरै’जस्तो धिमा गतिमा च्होँच्होँ च्होँच्होँ । सोत्तरको सारामसोरोम संगीतमा थबाङखोला भने रुकुम (पूर्व) सदरमुकाम रुकुमकोटमुनि सानीभेरी जाँदैथियो ।
सुँगुर संगीत सुनेको पहिलोपालि थियो । कारण, थबाङबाट करिब पाँच घन्टा पैदल दक्षिण जैपाका जैपालीसँग सुँगुर संगत थिएन । मगर, क्षेत्री, ठकुरी र बाहुन मिश्रित जैपामा खसी खान्की संस्कृति प्रभुत्वले सुँगुर त के, सिस्नो समेत बिटुलो थियो । खाए पनि घरबाहिर पकाएर खान्थे, घरभित्र पस्दा तीतेपातीले हातमुख चोख्याएर भित्र पस्थे । झाँक्रीधामीकोे घरमा बिटुलो झन्झट झन् जर्जर थियो । कुनै बेला झन्डै घरैपिच्छे झाँक्री र धामी भएको जैपामा मेरी जेई (आमा) पनि झाँक्री थिइन् । सुँगुर सम्झना साट्न जैपाली थबाङ लगायत ढाङढुङ, लाबाङ, महत, मिरुल पुग्थें । उसो त, छिमेक रानीकोट, पहनेरा, राङ्कोटतिर पनि कसैकसैले सुँगुर नपालेका होइनन्, तर बेच्न पनि होइन ।
सुँगुर संगीत सुनेको डुलडाँडा थबाङको ठूलो गाउँ पल्लोपट्टि अवस्थित सानो गाउँ थियो । जलजला काखको थबाङबारे तपाईंलाई थाहा नहुने कुरा भएन । मगर र माओवादी मूलथलो थबाङ त ‘कम स्वदेशी र धेरै विदेशी’ अनुसन्धाताले लेख लेखेको, किताब कथेको, किस्सा कहेको गाउँ थियो । तर, थबाङकै सुखदुःखको सारथि ‘सुँगुर सम्झना’ र ‘टाँड ट्राजेडी’ पो कतिका मनमा मौजुद थियो, कोजानी ?
****
३० वर्ष जेठो जेठको तेस्रो साता रुकुम (पश्चिम) चौखाबाङ चुन गलम्पाटीका चक्रराम बुढामगर (जो माओवादी युद्ध थालनीको केही वर्षमै रुकुम (पश्चिम) सदरमुकाम मुसीकोटमा सरकारी सुरक्षा फौजले गिरफ्तार गरेर मार्यो) र जैपाका साल्दाइ (जैपा स्कूलका हेडसर) र म तीन ठिटा थबाङ गएका थियौं । बुद्धपूर्णिमामा लाग्ने जलजला मेला राम्चाउने एकल उद्देश्य थियो । मेला जाने बाँकी संख्या जलजलामा भाकल गरेका श्रद्धालु थिए । नेपालगञ्ज, बर्दियाबाट पनि स्हाँरा (भाले भेडा) चढाउन गएका थिए । भलै ती रोल्पा, रुकुमबाट बसाइ सरेका मानिस थिए ।
पहिलोपालि थबाङ टेकेका हामी हलाक् पर्यौं । मगर खामभाषा गुमाएका र एकल खसआर्य वा मिश्रित गाउँ जानुअघि बाटो तलमाथिका कान्लाकान्ली, खोल्साखोल्सी, ककेराककेरी र चोयाघारीमा जस्तो ‘दृश्य’ देखिन्थ्यो, त्यो दृश्य देखिएन । हामीले नाक थुन्न परेन ।
केको कमाल हो यो ?
आँखाकै सन्कारले एकअर्कालाई सोध्यौं ।
केको कमाल जान्नअघि तपाईंलाई रोल्पा वडाचौर जन्मेका श्यामकुमार बुढामगर (कमरेड चिन्तन)ले सुनाएको एउटा सम्झना सुनाउँछु है । जनमुक्ति सेना चिन्तन जो वैदेशिक रोजगारमा जापान छन् ।
युद्धकालको कुरा थियो । प्युठान भिङ्ग्री स्कूलमा एकाबिहानै एसएलसी परीक्षा हुँदैथियो । परीक्षा सुरक्षार्थ पुलिस पुग्थे । माओवादीले परीक्षाथलो पुग्ने पुलिसलाई पासो थाप्ने योजना बुन्यो । पासो थाप्नुलाई माओवादीले ‘एम्बुस’ भन्थ्यो ।
एम्बुसथलोमा त रामेरिमे उज्यालो नहुँदै गाउँले जान थाले ।
भयो फसाद् ।
गाउँले ‘पाखा बस्न’ गएका थिए । गाउँघरमा भनिने ‘पाखा बस्ने’लाई पश्चिमा शहरिया ‘नेचर कल’ भन्थे । पाखा बस्ने पनि दुईथरी हुन्थ्यो । ठूल्पाखा बस्ने भनेको दिसा गर्ने र स्यान्पाखा बस्ने भनेको पिसाब फेर्ने ।
पाखा बस्न गएकालाई नसमाते ‘एम्बुस एक्सपोज’ हुने, समाते पाखा बस्नेको मानहानि हुने । माओवादी जनमुक्ति सेना त एकछाङ्ङे अखट्टे भीरमा अड्के । गाउँघरमा भन्थे, ‘राजाको कर कि ‘गु’को कर ?’ यसको माने थियो, सामन्तवादमा राजा जति ठूलो कोही थिएन । राजाको कर सबभन्दा ठूलो थियो । त्यति ठूलो राजाको करभन्दा झन् ठूलो कर पनि थियो । त्यो थियो, दिसा लाग्नु । दिसा लागेपछि रोक्ने हब्बा कसको ? त्यसकारण राजाको करभन्दा पनि गुको कर झन् ठूलो भनियो होला ।
अन्त्यमा पाखा बस्न गएकाका ‘मानहानि’लाई नै माओवादीले ‘मानहानि’ गरे । गाउँलेलाई च्याप्प समाते, कब्जामा लिए ।
श्याम सम्झँदैथिए, ‘बड्डा, पुलिसलाई एम्बुस थापेको ठाउँ त हगनगौडा पो परेछ !’
त्यसताका गाउँघरमा ‘खुला दिसामुक्त’ नारा पुगेको थिएन ।
त्यसबेला गाउँलेले कसरी आफूलाई सम्हाले होलान् ?
सम्झना सुनाउँदा सुनाउँदै श्याम सम्झेर थकथकाएथे, ‘युद्धको जिन्दगी त यस्तोमा अखट्टेमा पनि जाक्कियो के, बड्डा ।’
****
थबाङ नै फर्कम् है । तर, ७० वर्षभन्दा पनि बूढो थबाङ फर्कम् ।
बिक्रम संवत् २००९ तिरको कुरा थियो । थबाङका मुक्खे कृष्णबहादुर झाँक्रीमगरलाई लाग्यो–
एक, सुँगुर र कुकुरलाई छोडुवा नछोड्ने नियम लगाउने ।
दुई, गल्लीमा हिलो हटाउन ढुंगा बिछ्याउने ।
मुक्खेले जुक्ति जुराएर सुनाए ।
एक, कुकुर र सुँगुर छाडा नछाड्ने, अनिवार्य खोरमा थुन्ने ।
दुई, आफ्नो घरअगाडि गल्लीमा हिलो हटाउन खोलाबाट ढुंगा बोक्ने, बिछ्याउने ।
मुक्खेको जुक्तिलाई जनताले ‘ज्यू’ गरेनन् । अब के गर्ने ? चुलिएको चुनौती चिर्न मुक्खेले ‘बल प्रयोग’को बाटो रोजे ।
गाउँका तन्नेरीहरूका काँधमा भरुवा बन्दुक बोकाए, हातमा खुकुरी । छाडा छाडिएका कुकुरलाई बन्दुकले हाने, सुँगुरलाई खुकुरीले । सुँगुर घायल देखेपछि जनअवज्ञा झन् चुलियो ।
केही वर्षपछि छाडा छाड्ने र हुल्ने द्वन्द्वको आगो समयको पानीले निभायो । कुकुरलाई खोरमा र सुँगुरलाई मलखदामा ‘अनिवार्य’ हुल्ने चलन चल्यो ।
२०१७ मा अलप बहुदल २०४६ मा फक्र्यो । २०४९ मा स्थानीय चुनाव भयो । संयुक्त जनमोर्चा नेपालबाट रुजबहादुर रोकामगर थबाङ गाउँ विकास समिति अध्यक्ष चुनिए ।
बहुदलीय व्यवस्थासँगै थबाङमा पनि ‘आधुनिकता’ पस्यो । एकथोक आधुनिकता ट्वाइलेट थियो । विकासे ट्वाइलेट जो सदरमुकाम लिबाङ बजारमा थियो ।
विकासे ट्वाइलेटलाई स्वागत गर्न थबाङ अन्कनायो । केही गाउँलेले भने टाँडबाट सिधै मलखदामा दिसा झर्ने गरी ‘टाँड ट्वाइलेट’ बनाए (पूर्व सभासद् एवं थबाङका स्थानीय सन्तोष बुढामगरसँगको कुराकानी) । टाँड ट्वाइलेट जनअनुमोदन भयो । जो रैथाने ज्ञान र अभ्यासमा नयाँ प्रविधि थपिएको थियो । थप विकास गरेको भए सुँगुर, कम्पोष्ट मल उत्पादन बढ्थ्यो । बारीमा बाली बढ्थ्यो । कम्पोष्ट मलले पानी, माटो र मानिस स्वस्थ हुन्थे । पानीजीव सकुशल हुन्थे । दुःखको कुरा, टाँड ट्वाइलेटको बल पुगेन, पश्चिमा ट्वाइलेटलाई गाउँलेले दिल दिएनन् । अन्ततः पश्चिमा विकासे ट्वाइलेट थबाङमा ठन्डाराम भयो ।
****
२०५२ जेठको छक्कालै सोत्तर सारामसोरोम संगीतमा सुँगुरले गाइरहेका थिए– मलखदामा मल बनाउन ओछ्याइदिएको सोत्तर संगीतमा घरी घोँ घोँ त घरी च्होँ च्होँ । मलखदा शिरमा टाँड थियो । टाँडबाट घर र भान्साको फोहोर मलखदामा हाल्थे । टाँडहुँदै दिसापिसाब मलखदामा खस्थ्यो । मलखदामा सफाइमन्त्री सुँगुरले ‘सत्कार’ गर्थे । सुँगुरले खाने चिज खान्थ्यो बाँकीलाई ओछ्याइदिएको सोत्तरसँगै मिसाउँथ्यो । सुँगुर गोडा र थुतुनोले सोत्तरलाई झन् सोत्तर पार्थ्यो । कम्पोष्ट मल बन्थ्यो । मल कम्द (बारी) मा हाल्थे । बाली हलक्क हल्कन्थ्यो । बाली खान्थे । सुँगुरको मासु खान्थे । जो परापूर्वकालदेखि खाद्यचक्र चलेको थियो ।
कम्पोष्ट मलले माटो ‘मस्त’, बाली स्वस्थ हुन्थ्यो । मानिस स्वस्थ, पानी स्वस्थ हुन्थ्यो । पानीजीव कुशलमंगल हुन्थे । त्यसै कहाँ चलेको थियो र, एक घर एक मलखदा । एक घर एक टाँड ।
मलखदावासी सुँगुरले आम्दानी पनि दिन्थे ।

एक टाँडका काम तमाम थिए । टाँडमै अग्लिएका खम्बामा कपडा सुकाउने टाट्ना थियो । बिस्कुन सुकाउने पनि टाँडमै थियो । भाँडाकुँडा माझ्ने, घर र भान्साको फोहोर टाँडबाटै मलखदामा विसर्जन हुन्थे । टाँडमै पोक्सरको चकट्टी, काठे, मान्द्रा र काम्लोमा बसी गफिने कुरा अलग्गै थियो ।
टाँडमुनि मलखदामा सोत्तर र सोत्तर संगीतमा गाइरहेका सुँगुर र तिनका सुरमै गाउँले जीवन लयबद्ध बगेको थियो । यति भनेपछि माथि सोधिएको थबाङमा कमाल कसको थियो ? तपाईंले थाहा पाइहाल्नुभयो । मलाई भने सुँगुर संगीत र टाँडले चोइयबारीमुन्तिर दुध्ला रूख सम्झाए ।
जैपा गाउँमुनि भीर । भीरको शिरमा चोयाघारी । चोयाघारीसँगै कम्दढिकमा उभिएको दुध्लाको अग्लो रूख । जसका कति हाँगा र डाली टाँडजसरी तेर्सिएका थिए त कति ठडिएका ।
कहिलेकसो दुध्लाको तेर्सेडालीमा पाखा बस्थें । पाखा बस्ने बहानामा करिब १५ मिनेट ओरालिए पुगिने चुनबाङगार पाल्लोकिनारमा हिंडेको घोरेटो बाटोमा रुकुमकोट र घोराही गर्ने घोडाखच्चर क्याराभान हेर्थें । तिनका गलामा झुन्डिएका कोलोका गीत घुमुरो सही, कानमा आइपुग्थ्यो । क्याराभानका बीच–बीचमा कालापारे टिनको बाकस बोकेर घर फर्किरहेका देख्थें । तिनका टिनका सेता बाकसमा सूर्यको प्रकाश ठोकिंदा झालाङझिलिङ झिल्का आँखामै आइपुग्थे । ती कालापारे कति भारतको गढवाल त कति हिमाचलबाट फर्केका हुन्थे । कालापारे माया र कमाइ बोकेर फर्किरहेका कालापारे काँधमा टेपरिकाट तुर्लुंंग झुन्डिएका हुन्थे । टेपरिकाटबाट बीमाकुमारी दुरा र राजु परियार झरेको घुइरोघुइरो सुनिन्थ्यो । मलखदामा गुञ्जेको सुँगुर संगीत टाँडमा जसरी टाँठ्ठै कहाँ सुनिनु र ?
पाखा बस्नुभन्दा पनि कहिले रुकुमकोट त कहिले घोराही गरिरहेका घोडाखच्चरका क्याराभान, कालापारे, हटारु र बटुवा हेर्न आनन्द आउँथ्यो ।
****
विक्रम संवत् २०५२ फागुन १ गते माओवादीले युद्ध थाल्यो । जसको केन्द्रविन्दु थबाङ थियो । माओवादीले थबाङमा ट्वाइलेट ब्युँताउँदै गाउँको छेउछाउतिर ट्वाइलेट बनायो । सरकारी गैरसरकारी संस्थाले ‘ट्वाइलेट सिट’ दिएर ट्वाइलेट बनाउन भने । तर, आम भएन ।
विक्रम संवत् २०६३ मा माओवादी युद्ध सकियो । युद्ध गर्ने विद्रोही माओवादी पनि सरकारमा सामेलियो ।
सरकारले सुनायो, ‘थबाङलाई नमूना गाउँ बनाउने ।’
सरकारले सोध्यो, ‘नमूना गाउँ बन्न ट्वाइलेट अनिवार्य बनाउनुपर्छ । टाँडमा हगेर नमूना गाउँ बन्छ ?’
सरकारले सोच्यो, ‘सुँगुर सहितको नमूना गाउँ हुन्न । गाउँबाट सुँगुर आउट् ।’
नमूना गाउँ बनाउने कि सुखदुःखको साथी सुँगुर सजाउने ?
थबाङ थला पर्यो । अन्त्यमा मुटुमाथि ढुंगा राखी खोलाकिनारमा सुँगुर सार्यो । एक घर एक मलखदा अभ्यासरत थबाङ, आधा थबाङले मात्र खोलाकिनारमा सुँगुर सार्यो (स्थानीय विद्यालयका सहायक प्रधानाध्यापक उदय घर्तीमगरसँगको कुराकानी) ।
थबाङको छिमेकी मगर गाउँ रुकुम (पूर्व) उत्तरगंगा नदी किनारको तकसेरामा ‘पर्यटक’लाई स्वागत गर्न सुँगुर निकाला गरेको पाँच वर्ष भयो, यसपालि त गाईभैंसी पनि निकाला भए (स्थानीय पत्रकार मैत्या घर्तीमगरसँगको कुराकानी) । मैत्याका अनुसार २०७३/७४ तिर सरकारी सुविधा रोक्का गरेपछि सबैले विकासे ट्वाइलेट बनाए ।
सरकारी आँखा र मूलधारे नेपाली समाज टाँड ट्वाइलेट र सुँगुरमैत्री थिएन/छैन । शासक खलकीय समाज र खसी संस्कृति प्रभुत्वले थलिएको आजको समाजले सुँगुर सहन्न । सुँगुर सम्झनु पनि बिटुलो हुन्छ ।
जस्तोः
–कति पाएको, सुँगुरले बच्चा पाए जस्तो ।
–कसरी खाएको, सुँगुरले खाए जस्तो ।
–कति असभ्य, सुँगुर जस्तो ।
–कति फोहोरी, सुँगुर जस्तो ।
–छिःछिः सुँगुर खाने कुजात !
शासक खलकीय मूलधारे समाजले यो दुनियाँमा भएजति नराम्रा सुँगुरलाई सुम्पेको थियो । सुँगुरप्रति असहिष्णु मूलधारे समाजमा सुँगुर सुन्नु, सुनाउनु र सम्झनु पनि निन्दनीय । त्यसैले त सुँगुर ‘आउट’ हुँदा नमूना गाउँ बन्यो, सुँगुर आउट भएर पर्यटक ‘इन’ भए । पश्चिमा ज्ञान प्रणाली र नेपालको शासक चश्माले हेर्दा टाँड ट्वाइलेट र सुँगुर असभ्य देखियो । फोहोर देखियो ।
सुँगुर सरेपछि सुँगुर सुरसाथ जिन्दगी जिएका जनका जीवनपद्धति कति बिथोलिएको होला ? जिन्दगीको साँझबिहान सुँगुर संगीतबाट सुरु हुने दैनिकी कसरी सम्हाले होलान् ? सुँगुर संगीतलाई लोरी बनाएका तिनका मन कति विचलित भयो होला ?
****
पोहोर पनि थबाङ पुगें । घर अगिल्तिरका आधा आँगन र आधा मलखदा अनि टाँडका अवशेष सायदै बचेका थिए । जो खण्डहर थिए (हेर्नुस्, थबाङको टाँड र सुँगुरबारे भिडियो)
थबाङमा फल्ले र ढुंगाछाने घर समेत सिला खोज्ने भएको थियो । घर जति कति टिनछाने त कति आरसीसी घरमा परिणत हुँदैथिए । नमूना गाउँ थबाङ आरसीसी भवन ‘विकास’ भाष्यले भरिंदैथियो ।
सुगुरमैत्री टाँड ट्वाइलेट कम्पोष्ट मलको बाटो हिंडेको थियो, विकासे ट्वाइलेट ढलको बाटो । कम्पोष्ट मलको बाटो बारीमा पुग्थ्यो । बालीनाली हलक्क हल्कन्थ्यो । माटो स्वस्थ हुन्थ्यो । पानी सफा हुन्थ्यो । पानीजीव सकुशल हुन्थे । कम्पोष्ट मलको बाटो सुँगुरमैत्री थियो । खोलामैत्री थियो । माटोमैत्री थियो । मानिसमैत्री थियो । पर्यावरणमैत्री थियो ।
विकासे ट्वाइलेट ढलको बाटो हिंडेको थियो । जो सिधै खोलामा पुग्थ्यो । ढलको बाटो सुँगुरविरोधी थियो । माटोविरोधी थियो । पानीविरोधी थियो । फलस्वरुप न सुँगुर जोगियो न बालीनाली स्वस्थ, न माटो जोगियो न मानिस न पानीको स्वच्छता न पानीजीव जोगिए । विकासे ट्वाइलेटले खाद्यचक्र बिथोलिएको थियो । आदिवासी ज्ञान प्रणालीको अभ्यास चुँडिएको थियो । जो ढलको बाटो पर्यावरणविरोधी पथ थियो । ढलको बाटोले खोलालाई बागमतीकरण गथ्र्यो । बागमतीकरणले भन्थ्यो– न पानी, न पानीजीव, न जिन्दगानी ।
विक्रम संवत् २०४९ मा थबाङमा बनेको नयाँ प्रविधि सहितको ‘टाँड ट्वाइलेट’लाई आजको अवस्था अनुसार विकास गरे माटो, मानिस र प्रकृति स्वस्थ हुन्थ्यो । खाद्यचक्र सुचारु हुन्थ्यो । जो आदिवासी ज्ञान प्रणाली पर्यावरणमैत्री थियो । त्यही ज्ञानप्रणालीमा टेकेर नयाँ प्रविधिलाई पहिल्याउँदै टाँड ट्वाइलेट विधि अपनाएको भए, न फोहोरको टन्टा हुन्थ्यो न त कम्पोष्ट मलको चिन्ता । न त मासुहर्जा । परापूर्वकालदेखि जारी खाद्यचक्र र पर्यावरण सकुशल हुन्थ्यो । रैथाने ज्ञान प्रणालीलाई आजको परिवेशमा ढालेको भए सुँगुर, मानिस, बालीनाली, माटो, पानी स्वस्थ हुन्थे ।
बस्, ढलको बाटो हिंडेको विकासे ट्वाइलेट खोलामा गयो । न सुँगुरलाई भयो न कम्पोष्ट मल भयो । न बाली सप्रियो न बारी । न मानिस स्वस्थ भयो न खोला । बागमतीकरण भयो । बागमतीकरणमा न सुँगुर, न मानिस न बालीनाली न पानी न त पानीजीव नै जीवित हुन्छन् । ढल पसेको पानी, कसरी रहला जिन्दगानी ?
सुँगुरले पर्यटक छेक्ने र सुँगुरले नमूना गाउँ बन्न नदिने दाताको विचार र विकासको भाष्य पुरानो भइसक्यो । आदिवासी ज्ञान प्रणाली र अभ्यास परम्परामा नयाँ प्रविधि थपेर जाने पर्यावरणमैत्री विकासको भाष्य बनाउन अब ढिलो भएन र ?
प्रतिक्रिया 4