+
+
Shares

चार दशकपछि व्यक्त भएको कलेज जीवनको प्रेम

वीरेन्द्र क्याम्पस भरतपुर, चितवन । कक्षामा आधा केटा आधा केटी । कक्षाकी एउटी केटी असाध्यै मन पर्थिन् । उनलाई भेट्न र हेर्न पनि दिन नबिराई कलेज जान्थें । चार दशकपछिको ‘भ्यालेन्टाइन डे’ मा उनैसँग भेट्ने मेसो मिल्यो, एउटा कफी शपमा ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८१ चैत ३० गते १३:४६

भेलेन्टाइन डे, राजधानीको कफी हाउस । उनीसँग भेट्ने डेट मिलेकोमा मेरो खुशी उम्लिएर पोखिएला झैं भइरहेको थियो । छिट्टै कफी हाउस पुगें । कफी हाउस खचाखच थियो । सरासर अनलाइन रिजर्भ गरेको टेबलमा गएर बसें । टेबलको भासमा सजिएका गुलाफका रङ्गीविरङ्गी फूलहरू मुसुक्क मुस्कुराइरहेका थिए, मेरो मन झैं ।

वरिपरिका टेबलमा बस्ने मान्छेहरू आ–आफ्ना धुनमा मस्त थिए । मनमा खुल्दुली चलिरह्यो । सोच्दासोच्दै मन कलेज पढ्दाका रमाइला दिनहरूमा टहल्न पुग्यो । वीरेन्द्र क्याम्पस भरतपुर, चितवन । थोरै विद्यार्थी, राम्रो पढाइ । हाम्रो कक्षामा विद्यार्थी, आधा–आधा थिए, केटा र केटी ।

राजनीतिशास्त्र र अर्थशास्त्र पढ्ने गरी हामी विभाजित थियौं । अनिवार्य विषयहरूको कक्षामा सबैको भेट हुन्थ्यो । मलाई हाम्रो क्लासकी एउटी केटी असाध्यै मन पर्थिन् । उनलाई भेट्न र हेर्न खुब रमाइलो लाग्दथ्यो । दिन नबिराई कलेज जान्थें । नबोली नबोली मन पर्दै गएको थियो ।

त्यो वेला, ‘उनलाई मन पराउँछु’ भन्दै साथीहरूसँग गफ गर्न खुब आनन्द लाग्थ्यो । उनलाई हेर्ने, भावुक बन्ने र गीत, कविता कोर्ने मेरो दिनचर्या बन्दै गयो । कलेजको पढाइ सकेर छुट्टिएको चार दशक कटिसकेछ । भेटघाट छैन । उसवेला भावनामा बगेर लेखेको गीत ‘कसरी अल्झे आँखा तिम्रो बल्छीमा माछा झैं, म आफंैभित्र हराउँछु आफैं आँधीको चरा झैं’ आजकल पनि वेला–मौकामा गुन्गुनाउँछु ।

कलेजमा उनी असाध्य राम्रीमा कहलिएकी थिइन् । म उनलाई मन पराउँथें । अरू साथीहरू पनि उनको पिछा गर्दथे । उनीसँग अरूहरू बोले मात्र पनि मलाई डाह हुन्थ्यो । मन बेचैन हुन्थ्यो । रीस उठ्थ्यो, कुटुँ झंै । उनलाई आफूतर्फ खिच्ने उपाय खोज्दै म छट्पटाउँथें ।

अरूभन्दा छिटो उनीसँगको सामीप्यता बढाउन मैले युनिट परीक्षामा धेरै अंक ल्याएर पास गर्ने निष्कर्ष निकालें । अठोट गरें । रात रातभर पढ्न थालें । उनीसँगको ‘मौन प्रेम’ मेरा लागि पढ्ने ऊर्जा बनेको थियो । परीक्षामा अंक पनि राम्रै आउन थाल्यो ।

नेपाली राम्रो, अंग्रेजीमा कमजोर थिएँँ, म । म्याथमा स्कूलदेखि नै चलाख । कक्षाका साथीहरूलाई सिकाउने गर्दथें । म्याथ जान्नु र अंग्रेजी नजान्नु मेरा लागि वरदान बनेको थियो । अंग्रेजी सिक्न उनीसँग सामीप्यता बढाउँदै गएँ ।

म्याथका प्रोब्लेमहरू लिएर उनी मलाई खोज्दै आउँथिन् । त्योभन्दा खुशी मेरा लागि केही हँुदैनथ्यो । म रमाईरमाई सिकाउँथें । सिकाउन रात रातभरि पढेर तयार हुन्थें । हामी वेला–मौकामा नोट कापी साटासाट गर्दथ्यौं । नजिकपन बढ्दै गएको थियो ।

म्याथ सिक्न आएपछि म उनलाई धेरैभन्दा धेरै समय आफ्नो साथमा राख्ने प्रपञ्च गर्दथें । प्रोब्लेम घुमाईफिराई ढिलो गरी हल गर्दथें । उनी पनि ‘तिमीलाई पैंचो तिर्नु पर्‍यो नि’ भन्दै अंग्रेजीमा गाइड गर्न रमाउँथिन् । साथीहरू मसँग जल्दथे ।

म्याथका प्रोब्लेमहरू लिएर बारम्बार मकहाँ आउनुको अर्थ उनी मप्रति आकर्षित हुनु हो । मैले सिद्धान्त सिर्जना गरें । भावुकता बढ्दै गयो । अन्य ग्रहले सूर्य परिक्रमा गरे झैं म उनको वरिपरि घुम्न थालें । म्याथको प्रोब्लेम नभएको दिन अंग्रेजी सिक्ने बहाना बनाउँथें । हामी दुवै एकअर्काको साथमा रमाउँथ्यौं । भेटघाट कुराकानी बाक्लिंदै गएको थियो ।

‘कलेज जीवनभर तिम्रो न्यानो माया पाउन छट्पटाइरहें । आज तिम्रो कुरा सुनेर चुकचुकीको ज्वालामुखीमा होमिनु बाहेक अर्को विकल्प रहेन नि !’ म पश्चात्तापको पोखरीमा खसें ।

सोच्दासोच्दै कुर्सीबाट उठेर नगिचैको ऐनाछेउ गएँ । कञ्चटनेरको कपाल सेतै देखियो । फुलेको कपालले टाउकामा यताउता सेता धर्साहरू खिचिए झैं लाग्यो । सेतो जुँगा बत्तीको उज्यालोमा टलक्क टल्कियो । घाँटीको छाला झोलिएर चाउरिएको झैं लाग्यो । हातको छाला पातलो । मुसुक्क हाँस्दा आँखा र गालाको बीचमा चाउरी देखियो । मन चसक्क भयो । ऐना हेर्न सकिनँ । कुर्सीमा फर्किएँ ।

उनी आउने बाटो हेरें । घडी हेरें । उनलाई दिएको समय भइसकेको थिएन । म भेट्न आतुर थिएँ । टेबलमा बसेका किशोरकिशोरीहरू रमाइलोसँग हाँसोठट्टा गरिरहेका थिए । एउटा टेबुलबाट एक प्रेमी उठेर गए । एक हुल मानिसहरू आएर बसे । बेयराले मेनु ल्याएर अगाडि राखिदियो । उनीहरू मेनु हेर्न थाले ।

रेस्टुराँको ढोकाबाट एउटी सुन्दरी महिला पसिन् । मैले घडी हेरें । उनलाई दिएको समय ठ्याक्कै मिलेको थियो । उनको हिंडाइको चाल सम्झिएर चिनी पनि हालें ।

‘नमस्कार !’ मैले आफ्नो नाम बताउँदै दुईहात जोडें ।

‘भो भो नाम भन्नुपर्दैन । हात जोड्नु पनि पर्दैन’, उनले एकदम अनौपचारिक बन्दै मेरो हात छुट्याइदिइन् ।

‘थ्याङ्कस् !’ म पनि मुस्कुराएँ ।

‘बस्नुस्’, मैले टेबल देखाएर अनुरोध गरें ।

उनी मुसुक्क हाँसिन् । ‘के को तपाईं तपाईं भन्दै औपचारिक भइराखेको तिमी । ल बस, तिमी पनि’, मेरो हात समाउँदै उनले तानिन् ।

हुन्छ, हुन्छ; म लजाउँदै बसें ।

‘हेरन, मैले त धेरै साथीहरूको नामै बिर्सिसकें । तिम्रो भने बिर्सेको छैन’, उनी कुरा उप्काउँदै मसक्क मस्किइन् ।

हामी दुवै कुर्सीमा बस्यौं । सञ्चो–बिसञ्चोको आदानप्रदान भयो । विदेशबाट कहिले आयौ भन्ने कुरा भयो । परिवारको बारेमा कुरा भयो । पेशा रोजगारीको बारेमा कुरा भयो ।

थप परिचित भयौं, वर्तमान जीवनमा । सुकेको आत्मीय सम्बन्धको बिरुवा एकाएक पल्लवित भयो ।

‘तिमीसँग भेट्दा तिमीले लजाउँदै म्याथ सिकाएको सम्झना आइरहेछ । धन्यवाद ल, भेट्ने प्रोग्राम मिलाएकोमा’, उनले सानो औपचारिकता निभाइन् ।

‘तिम्रो बिहे भयो रे भन्दा म छाँगाबाट खसे झैं भएँ । नरमाइलो त आजसम्मै छ । कलेजमा तिमीसँग जिस्कने मेरो मन अझै ज्युँदै छ । आज तिमीसँग गफ गर्दा पीडा र आनन्द सँगै भइरहेछ’, मैले उनको अनुहारमा हेर्दै भनें

‘तिमी कहिल्यै मिलाउँदिनौ । सुटुक्क नेपाल आउँछ्यौ, लुसुक्क फर्किन्छ्यौ’, मैले थोरै गुनासो राखें ।

बेयरा हाम्रो अर्डर लिएर गयो । बाहिर हुरी चल्यो, बोलेको नै नसुनिने गरी । केहीबेर चुप भयौं एकअर्कालाई हेर्दै ।

‘म जस्तै तिमी पनि फुलिछौ नि, कञ्चटनेर’ मैले कञ्चटनेर औंलाले देखाउँदै भनें ।

‘हो त !’, उनी मुस्कुराइन् ।

‘तिम्रो सुन्दरतामा झन् निख्खरता आएछ’, मैले उनको प्रशंसाको पुल बाँध्दै भनें ।

‘मेरो सुन्दरता चिन्ने तिमी त हो, थ्याङ्क्यू’ उनको आँखामा उही पुरानो मादकता दौडियो ।

साँच्ची हो । म ढुक्क थिएँ ।

‘तिमी त अलि पातलो थियौ हैन, भन्या ? अहिले पहलमान जस्तो भएछौ मोटाएर । लजालुपन भने अझै उस्तै रहेछ’, वर्षौंपछि भेट भएको भए पनि हामी एकैछिनमा पुरानो घनिष्टतामा पुग्यौं ।

उनको गोरो अनुहारमा बुढ्यौलीका चिह्नहरूले सुन्दरता बढाइरहेका थिए । बोलीमा उही कलेज जीवनको लालित्य स्वर । चार दशक पुरानो उही लोभ्याउने हाँसो । जसले मेरो मुटु छियाछिया पार्दथ्यो । म अहिले पनि भुतुक्क भएँ ।

बेयराले खानेकुरा टेबलमा राखेर गयो । कुराकानीको भर्‍याङ ओर्लंदै हामी हाम्रो कलेज जीवनमा पुग्यौं ।

‘तिमी सरकारी जागिर खाने धुनमा लागेर होला माष्टर डिग्री पढ्न कीर्तिपुर आएनौ । तिमी डिग्री पढ्न नआउँदा म निकै खिन्न भएँ । किन किन तिमीलाई भेट्न मन लागिरह्यो ।

कुरा गर्न पाए हुन्थ्यो झैं भइरह्यो । अहिले जस्तो टेलिफोेन थिएन । पढ्न पनि जाँगर आएन’– हामीबीच सँगालिएको आपसी मायाको तुना एकतर्फबाट उनी तान्दै गइन् ।

‘कताको सरकारी जागिर खान जानु । म त ठेकेदार बनेर हिंडें नि, डिग्री भर्ना हुने वेलामा । पछि हो सरकारी जागिरमा छिरेको’, मैले उनका आँखामा हेर्दै भनें ।

‘आबुई ! तिम्रा आँखा त उस्तै चुम्बकीय पो रहेछन् । क्लासमा सरले पढाउँदा तिमीले कर्के आँखा लगाएर हेरेको म अझै सम्झन्छु’, उनले जिस्कँदै भनिन् ।

‘मेरो हेराइको सम्झना त रहेछ’, म उही पुरानो लाजको पोखरीमा खसें । कान ताता र राता भएँ ।

‘तिम्रा आँखाको तीरले बनाएको घाउ अझै ताजा छ, मेरो मुटुमा’, उनले निर्धक्क त्यसवेलाको वास्तविकता सुनाइन् ।

मैले मुटु छामें । ती दिनहरू एकआपसी आकर्षणका पहेलु रहेछन् । म गम्भीर भएँ ।

‘हो, नि !’ एकैछिन उनको अनुहारबाट पनि चमक हरायो ।

‘म तिमीलाई धेरै माया गर्थें । कलेजमा तिमीसँग छुट्टिन नपरे हुन्थ्यो जस्तो लाग्दथ्यो । कलेज विदा भएको मन पर्दैनथ्यो । तिम्रो विषयमा कुरा गर्न मात्र पनि औधी रमाइलो लाग्थ्यो । सपनाहरू सजाएको थिएँ । कथाहरू बुनेको थिएँ । कति पटक त मैले गीतहरू लेख्दै तिम्रो किताबको पानामा पनि राखिदिएको थिएँ’, मैले पुरानो गोप्यता खोल्दै गएँ ।

मिस गरे झैं भयो ? ‘आज, तिमीसँग बस्दा म पनि फुर्किरहेछु । लाग्छ, म तिम्रो र तिमी मेरो अझै पनि आसिक रहेछौं । प्रेम अमर हुँदोरहेछ । उसवेला, मौनतामा नै पनि बलियो प्रेमभाव हुर्केको रहेछ’, उनले सार निकाल्दै भनिन्

‘कसरी अल्झे आँखा तिम्रो बल्छीमा माछा झैं, म आफैंभित्र हराउँछु आफैं आँधीको चरा झैं’ तिमीले लेखेको गीत हो ? ‘म मेरो आसिकीले मलाई पठाएको गीत भनेर आजसम्म पनि गुन्गुनाइरहन्छु । मलाई तिमीले त्यस्तो बदमासी गर्छौ भन्ने नै लागेन नि !’ कर्के नजर लगाउँदै उनी हाँसिन् । म भावुक बनें ।

आँखा–आँखा जुधे । म मसक्क मुस्कुराएँ । उनी पनि मुस्कुराइन् ।

‘तिमीलाई भेट्ने आशमा उवेला म हरेक शनिवार तिम्रो घरतिर गइरहन्थे, साइकलमा’, म आज निर्लज्ज भइरहेको थिएँ ।

‘तिमी हाम्रो घरतिर साइकल गुडाउँदै बरालिएको देख्दा मलाई पनि शंका लाग्दथ्यो । बोलाएर झपारुँ जस्तो हुन्थ्यो । तर सक्दिनथें । पछि पछि त तिमी आइरहे हुन्थ्यो जस्तो पो लागेर आउन थाल्यो । तिमीलाई लुकी लुकी हेर्थें नि म’, उनले पनि लाजको घुम्टो उठाउँदै गइन् ।

हामी दुवै एउटै भावनामा बगिरहेका रहेछौं तिनताका । हामी दुवैको मनबाट एकैसाथ फुत्त निस्कियो । हामी जोडले हाँस्यौं । रेस्टुराँका सबै ग्राहकहरूले एकैचोटि हामीलाई हेरे । तर पनि, हामी प्रकृतिस्थ हाँसोमा लीन भइरह्यौं ।

‘कलेजमा तिमीसँग म्याथ सिक्न निकै रमाइलो लाग्थ्यो । झन् तिमीले लाज मानेको खुबै मन पर्थ्यो । म म्याथ नजानेको निहुँ पारी–पारी तिमीकहाँ धेरै पटक आउँथें । त्यसवेला हामीले पढाइका भन्दा अरू कुराकानी गर्न सकेनौं’, उनले विगतको रहस्य केलाउँदै गइन् ।

म उनको कुरा सुनेर बोल्ने शब्द हराए झैं अवाक् भएँ । के गरुँ कसो गरुँ भयो । कुर्सीबाट उठेर एक फन्को लगाएर थचक्क बसें ।

साँझ पर्र्दै गयो । हामी गफमा डुब्दै गयौं । आ–आप्mना पुराना भावना र रहरहरू सम्झँदै रमायौं । गफले चपक्क बाँध्दै लग्यो । दिल खोलेर बात मार्दै आनन्दको सागरमा पौडिरह्यौं ।

‘वास्तवमा, म तिम्रो प्रेमी थिएँ’, आज मेरो लाज हराइसकेको थियो ।

‘किन प्रेमको प्रस्ताव राखेनौ त ?’, मलाई पुलुक्क हेरेर उनी ठसक्क ठुस्किइन् ।

उनको कुराले मलाई गिज्याए जस्तो लाग्यो । ट्वाल्ल परें ।

‘कता हरायौ ?’ उनले आँखा छेउ हात हल्लाइन् ।

‘कलेज जीवनभर तिम्रो न्यानो माया पाउन छट्पटाइरहें । आज तिम्रो कुरा सुनेर चुकचुकीको ज्वालामुखीमा होमिनु बाहेक अर्को विकल्प रहेन नि !’ म पश्चात्तापको पोखरीमा खसें ।

‘तिमीसँग म रिसाएकी थिएँ त्यसवेला । पछि पछि लाग्ने तर मायापिरतीका कुरा व्यक्त गर्न नसक्ने लाछी भनेर’, उनी मेरो घाउमा नुन छर्कन नै रमाइरहेकी थिइन् ।

‘बुझें, आज तिमी मलाई रुवाउने योजना बनाएर आएकी रहिछौ । तिम्रा हरेक वाक्य सुनेर तातो तावामा राखेको माछा जस्तो बनेको छु’, मैले हाँस्दै मनको बह पोखें ।

‘विचरा ! तिमीले बुझेनौ नि ! म तिमीलाई मन पराउथें र त तिम्रो साथमा पढ्न आउँथें, रमाउथें । हामी दुवै मन पराएर पनि रिजर्भ’, कर्के आँखा लगाउँदै उनी कलेज जीवनमा फर्किइन् ।

‘तिमीले प्रस्ताव राखेको भए पनि त हुन्थ्यो । मलाई आज तिमीसँग बाझौं जस्तो भयो ।’

‘म पनि अन्तरमुखी’, उनले भुल स्वीकार गरिन् ।

मैले बेयरालाई बोलाएँ र दुई वटा क्यापाचिनो अर्डर गरें ।

‘कलेजमा तिमीसँग धेरै पटक मनको कुरा राख्ने प्रयास गरें । बेनामी चिठी लेखेर लेटर बक्समा पनि खसालें । मोहनी लगाउने विधि सिक्न झाँक्रीकहाँ पुगें । तैपनि, प्रेम प्रस्ताव राख्ने आँट गर्न सकिनँ । मनको रहर मनभित्र सुकेर गयो । आज त रोइदिउँ जस्तो भएर आयो’, मैले विगत छरपस्ट गर्दै गएँ ।

कठै ! उनी जिस्किन थालिन् ।

विवाह गर्ने हतार गरेर हो नि तिमीले । मैले उनीमाथि आरोप थोपरें ।

‘मेरो विवाह त अपर्झट भएको हो नि ! तिमीलाई भेटेर भागौं जस्तो लागेको थियो मलाई’, उनले मेरो मुखमा पुलुक्क हेर्दै सुनाइन् ।

के भन्छ्यौ ? म हतप्रभ भएँ ।

‘तिमीलाई जिस्क्याएको होइन । त्यो मेरो पनि पीडा हो’, उनले साखुल्ले बन्दै भनिन् ।

‘तिम्रो बिहे भयो रे भन्दा म छाँगाबाट खसे झैं भएँ । नरमाइलो त आजसम्मै छ । कलेजमा तिमीसँग जिस्कने मेरो मन अझै ज्युँदै छ । आज तिमीसँग गफ गर्दा पीडा र आनन्द सँगै भइरहेछ’, मैले उनको अनुहारमा हेर्दै भनें ।

छ्या, नहेर, लाज लाग्यो, उनले मुन्टो बटारिन् ।

‘फेरि कलेज जीवनमा फर्कन पाए हुने नि !’, मैले रहरको पेटारो खोलें ।

मिस गरे झैं भयो ? ‘आज, तिमीसँग बस्दा म पनि फुर्किरहेछु । लाग्छ, म तिम्रो र तिमी मेरो अझै पनि आसिक रहेछौं । प्रेम अमर हुँदोरहेछ । उसवेला, मौनतामा नै पनि बलियो प्रेमभाव हुर्केको रहेछ’, उनले सार निकाल्दै भनिन् ।

बेयराले टेबलमा कफी राखेर गयो ।

म उनलाई हेरेर अकिञ्चन टोलाइरहें । कफीको वाफ हावा सँगसँगै लटारिंदै लटारिंदै माथि–माथि गयो ।

लेखक
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?