
गत साउन महिनामा ९७औं जन्मोत्सव भव्य रूपमा मनाएका भैरव रिसाल अर्थात् सबैका प्रिय ‘भैरवदाइ’ २०८१ साल चैत २४ गते रामनवमीको दिन भौतिक संसारबाट सदाको लागि विदा हुनुभयो ।
जीवनभर बहुआयामिक पथप्रदर्शक बनेका भैरवदाइ मृत्युपश्चात् पनि हस्पिटललाई शरीर दान गरेर समाजलाई नौलो उदाहरण बन्नुभयो । जिउँदोमा हो सकेजतिको सेवा गर्ने, मृत्युपश्चात् क्रियाकर्मका नाममा कपाल मुण्डन गर्ने, सेतो कोराको पहिरन गर्ने, नुन नखाने, वैतरणी दान गर्ने, बरखी बार्ने केही गर्नुपर्दैन भनेर भन्नुभएको रहेछ । उहाँकी धर्मपत्नी, छोराछोरीहरूले उहाँको सदिच्छालाई पूरा गरेका छन् । संस्कृतमा आचार्य गरेका विद्वान् भैरवदाइले मृत्यु संस्कारमा पनि नौलो मार्ग रोज्नुभयो ।
भैरवदाइसँग २०४२ सालमा मेरो पहिलो भेट भएको हो । परोपकार केन्द्रका संस्थापक दयावीरसिंह कंसाकारसँग उहाँको राम्रो सम्बन्ध रहेछ । परोपकार प्राथमिक उपचार केन्द्र बराङ्दी पाल्पामा स्थापना गर्ने सन्दर्भमा मद्दत गरिदिनुहुन्छ भनेर भेटेको थिएँ त्यतिवेला । भैरवदाइ ठूलो मान्छे हो, विकासप्रेमी हुनुहुन्छ, उहाँको प्रयासले भक्तपुर दधिकोटमा विकासका धेरै काम भएका छन् भनेर डोरनाथ न्यौपानेले चिनाउनुभएको थियो । ‘एशियाली मापदण्ड मन्त्रिमण्डलको ठगिखाने भाँडो’ भन्ने लेख प्रकाशित गरेपछि उहाँलाई जेलमा राखेको थियो । उहाँ जेलमा हुँदा दोस्रो पटक भेट्न गएको थिएँ ।
भैरवदाइ आईडीएस (एकीकृत विकास प्रणाली)मा संलग्न भएपछि भने भेटघाट बाक्लो हुनथाल्यो । मैले पनि आईडीएस अन्तर्गत सञ्चालन भएको पाल्पामा स्वावलम्बन कार्यक्रममा काम गर्थें । भैरवदाइ आईडीएस मा आलुबाली विकास परियोजनाको राष्ट्रिय संयोजक हुनुहुन्थ्यो । आलुबाली विकासका लागि उहाँ बेला–बेला फिल्डमा जाने गर्नुहुन्थ्यो । भैरवदाइसँग कहिले २०–२२ दिन त कहिले हप्ता दिन सँगै हिंडियो, बसियो । सँगै खाने बस्ने गरेकोले उहाँको दैनीकी, भाषा, शैली, स्वभाव, व्यवहारसँग परिचित हुन पाइयो । बोली खरो, सबै कुरा खुलस्त भन्ने हृदय खुला, सरलपना अत्यन्त सहयोगी र परोपकारी उहाँका गुण थिए ।
भैरवदाइका उदाहरणीय दृष्टान्त धेरै छन् । हामी पाल्पामा काम गथ्र्यौं । झडेवा वगालेका भूमिहीन झिल्कबहादुर विश्वकर्मालाई स्वावलम्बन कार्यक्रमले कुटीर उद्योग फलाम, तामाका भाँडा बनाउने तालिम दिएर जीवनयापनमा सघाएको थियो । अर्काले दिएको जमिनमा छाप्रो हालेर बसेका थिए, वृद्ध आमा र बोल्न नसक्ने भाइसँगै उनी । आलुको बीउ जोगाउन रस्टिक स्टोर बनाउने सन्दर्भमा भैरवदाइ वगाले आउनुभएको थियो । झिल्कबहादुरको घर, जमिन केही नभएको बुझेपछि उनको लागि घर हुनुपर्छ, घर बनाउनका लागि उनको नाममा जमिन हुनुपर्छ भनेर भैरवदाइले आफ्नो खल्तीबाट ५ हजार दिंदै भन्नुभयो, “अब अरू ज–जसले जति सक्छौं सहयोग गरौं र घर बनाउन पुग्ने जमिनको व्यवस्था गरौं ।” भैरवदाइले थालनी गरेपछि झिल्कबहादुरको लागि घर बनाउने जमिनको व्यवस्था भयो र घर पनि बन्यो ।
पाल्पा रहबासको ओर्खेगौंडा गाउँ जंगलको बीचमा पर्छ । त्यहाँ स्कूल थिएन । प्राथमिक शिक्षाका लागि बालबालिकालाई जंगलको बाटोमा २ घन्टाको दूरी पार गर्नुपथ्र्यो । स्वावलम्बन कार्यक्रमको तर्फबाट ओर्खेगौंडामा स्याउलाको अस्थायी टहरा बनाएर प्राथमिक विद्यालय सञ्चालन भएको थियो । उक्त विद्यालयले सरकारी मान्यता पाउन सकेको थिएन । राससमा काम गरेको हुनाले मन्त्रालयहरूमा सरकारका उच्च तहमा काम गर्ने कर्मचारीहरूसँग भैरवदाइको राम्रो चिनाजानी थियो । ती कर्मचारीहरूले उहाँलाई व्यक्तिगत तवरमा पनि आदर–सम्मान गर्थे । म पनि संलग्न भएर उहाँको अगुवाइमा शिक्षा मन्त्रालयमा तत्कालीन सहसचिवलाई भेट्न गयौं । जसरी पनि ओर्खेगौंडामा प्राथमिक विद्यालयको लागि सरकारबाट स्वीकृति हुनुपर्छ भनेर दलिल पेश गर्नुभयो । त्यहाँको प्राथमिक विद्यालयले सरकारी मान्यता पायो । बालबालिकाले गाउँमा नै प्राथमिक तहको पढाइ पढ्ने अवसर पाए ।
भैरवदाइ, स्थानीय स्रोत, सीप र सम्भावनालाई उचित सदुपयोगबाट पनि धेरै परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । पाल्पाको देवीनगरमा विश्वकर्माहरूको ठूलो गाउँ छ । त्यहाँका समुदायसँग उनीहरूको जीवनयापनमा कसरी सुधार गर्न सकिन्छ भन्ने छलफल थियो । भैरवदाइले भन्नुभयो, हामीसँग जे छ त्यहीबाट परिवर्तनको थालनी गरौं न ! किसानहरू मुखामुख गरे । भैरवदाइले भन्नुभयो, तपाईंहरूले निस्तो रोटी खानुहुन्छ सितन नभएर भन्दै । तपाईंहरूको गोठको बारमा गोलभेंडा पाकेर त्यसै खेर गएको छ । त्यही टिपेर चटनी बनायो भने रोटीका लागि मिठो सितन हुन्छ । तर, तपाईंहरूले त्यति पनि बनाउनुहुन्न । मकै रोप्नु बाहेक घर वरिपरिको जमिन त्यसै बाँझो हुन्छ । त्यहाँ करेसाबारी गर्यौं भने सधैंभरि हरियो सागसब्जी खान पाइन्छ ।
तपाईंहरूको घर वरिपरि बाटोमा जतासुकै दिसा छ, फोहोरले गाउँ नै दुर्गन्धित छ । घर नजिक खाली जमिनमा अस्थायी खाल्टे चर्पी बनाएर प्रयोग गरौं त ! यति गर्नलाई अरूको सहयोग केही पनि चाहिंदैन । भैरवदाइका यी कुरालाई किसानले आत्मसात् गरे । छोटो समयमा गाउँको स्वरुप नै बदलियो ।
भैरवदाइले भन्नुहुन्थ्यो– “हामी सबैको आम मान्यता जनताले ढाँट्दैनन् भन्ने छ, तर मेरो उक्त आम मान्यता प्रति भने विमति छ । मेरो अनुभवमा जनताले ढाँट्छन् । जनताले आफूमा नभएको कुरालाई पनि छ भन्छन् । भएको कुरालाई पनि छैन भन्छन् । आफ्नो आवश्यकता के हो त्यो भन्दैनन् । जनताले आफूले जे–जति बुझेका छन् त्यसैलाई पूर्ण बुझेको ठान्छन् । उनीहरूलाई झुट नबोलेर सही सत्य बोल्नुपर्छ भनेर बुझाउन र अभ्यासमा ल्याउन अत्यन्त गाह्रो हुन्छ । त्यही गाह्रो काममा लागियो भने बल्ल परिवर्तन हुन्छ ।”
भैरवदाइ, वातावरण पत्रकारितामा पनि लामो समय खट्नुभयो । जुम्लामा सोलारबाट बिजुली बत्ती बाल्ने काममा अगुवाइ गरेर हिंड्नु भयो । यस्ता समाजसेवी कामको लागि उहाँले आफैं खर्चबर्च पनि उठाउँदै हिंड्नुहुन्थ्यो ।
भैरवदाइ, मायालु र दयालु पनि हुनुहुन्थ्यो । २०५१ सालको जेठ महिनाको आखिरीमा हाम्रो बुवाको स्वर्गारोहण भयो । असारको पहिलो साता वर्षात्को सुरुवात थियो । हाम्रो परिवार १३ दिनको क्रियामा शोकमा थियौं । भैरवदाइ त्यतिबेला शोकमा भएको हाम्रो परिवारलाई समवेदना दिन हाम्रो घर पाल्पा बराङ्दी जानुभएको थियो । तानसेनबाट पैदल हिंड्नुपर्ने राति–राति घरमा जानुभएको हाम्रो आमाले बाचुञ्जेल उहाँलाई सम्मानपूर्वक सम्झिरहनुहुन्थ्यो ।
जिम्मेवारीप्रति भैरवदाइ उत्तिकै निष्ठावान् हुनुहुन्थ्यो । एउटा दृष्टान्त यहाँ उल्लेख गरौं । पूर्वी पाल्पाका गाउँहरूमा एक हप्ताको भ्रमण सकेर त्यही दिन काठमाडौं पुग्नेगरी भैरवदाइ र म बिहान ४ः०० बजे बहादुरपुर गाउँबाट निस्कियौं । होचो भए पनि भैरवदाइको पैदल हिंडाइ धेरै छिटो हुन्थ्यो । उहाँसँगको हिंडाइमा साथ दिन जो–कसैलाई हम्मे पथ्र्यो । बहादुरबाट चरङ्गे, ओर्खेगौंडा, देउरालीहुँदै हामी बिहान ११ः०० बजे नवलपरासीको सर्दी–चुकाहामा पुग्यौं ।
२०५२ सालको कुरा हो, दुम्कीबासदेखि चुकाहासम्म सानो गाडी पुग्थ्यो । सोही दिन काठमाडौं पुग्ने लक्ष्यका साथ गाडीमा आउँदै गर्दा नौबिसे पुग्नु भन्दा १० किलोमिटर पहिले हामी चढेको गाडी बिग्रियो ।
रातको १०ः०० बजेको थियो । जति नै प्रयास गर्दा पनि त्यो गाडी बनेन । भैरवदाइ मलाई जसरी पनि पुग्नुपर्छ काठमाडौं भनेर मूल सडकमा गुडेका ट्रक, बस जे देखिन्छ रोक्नलाई हातले इशारा दिनुहुन्थ्यो । कुनै पनि गाडीले रोकेनन् । लौ म त अब हिंड्छु तपाईं के गर्ने भनेर रातको १०ः३० जति बजेको थियो भैरवदाइले झोला भिर्नुभयो र हिंड्ने तरखर गर्नुभयो ।
रातको समयमा कसरी एक्लै छाडिदिने मलाई पर्यो फसाद ! गाडी चालक र सहचालकलाई त्यहीं छाडेर आफ्नो पीडा लुकाएर जबर्जस्ती म दाइको पछिलागें । बिहान ४ः०० बजेदेखिको ७ घन्टाको चर्को पैदल हिंडाइको थकाइ अनि लगातार गाडीको यात्रा छँदैथियो । बिहानको खाना ११ बजे खाएपछि बीचमा अरू केही खाने मौका मिलेको थिएन । भोकले उति नै सताएको थियो । साथमा खानेकुरा केही थिएन ।
हामी मूल सडकमा टर्च बाल्दै नौबिसे आउँदा रातको १२ः३० बजेको थियो । नौबिसेमा एउटा होटलमा पिलपिल बत्ती बलेको देख्यौं । त्यतिबेला मोबाइल फोनको चलन शुरु भइसकेको थिएन । होटल साहुसँग अनुरोध गरेर ल्यान्डलाइन फोनबाट भैरवदाइले काठमाडौंमा आफ्नी बैनीसँग कुरा गर्नुभयो र जसरी हुन्छ ट्याक्सीको व्यवस्था गरेर नौबिसेमा पठाउन भन्नुभयो ।
फोनमा कुरा भएको एक घन्टामा नै ट्याक्सी आइपुग्यो । बिडम्बना कलंकी पुगेपछि फेरि हामीलाई ल्याउने त्यो ट्याक्सी पनि बिग्रियो । अब फेरि के गर्ने ? बिहान पौने तीन भएको थियो अरू ट्याक्सी पाइन्छ कि भनेर खोजी गर्यौं, पाएनांै । काठमाडौंमा सार्वजनिक बस पनि त्यतिबेला हिंडिसकेका थिएनन् । कलंकीबाट पैदल हिंडेर तीनकुनेमा भैरवदाइको कान्छी छोरीको घरसम्म गयौं । उहाँले छोरीलाई उठाउनुभयो । कफी बनाउन लगाउनुभयो । कफी पिएपछि मलाई भन्नुभयो, अब तपाईं यहीं आराम गरेर जानुहोला म दधिकोट जान्छु । दाइ, निस्कनुभयो । उहाँहरूको त्यतिबेला दधिकोटमा नै थियो बसाइ ।
बिहानका बसहरू चल्न लागेकाले म पनि दाइसँगै निस्किएर पुरानो बानेश्वर आफ्नै डेरामा आएँ । भैरवदाइ कान्तिपुरमा साप्ताहिक रूपमा नियमित लेख लेख्नुहुन्थ्यो । त्यो दिन उहाँले कान्तिपुरलाई लेख दिनुपर्ने रहेछ । यही जिम्मेवारी पूरा गर्नका लागि उहाँले यो जोखिम उठाउनुभएको थियो । भैरवदाइको यात्रामा बोलिरहने स्वभाव थियो । कुरैपिच्छे हँसाउने गर्नुहुन्थ्यो । यात्रा कष्टप्रद भए पनि भैरवदाइका राजदरबार, पञ्चायत, बहुदल पछिका संगत गरेका व्यक्तिसँगका अनुभवहरू, आफूले गरेका कामका अनुभवहरू सहित ज्ञानवद्र्धक कुराले यात्रालाई रमाइलो बनाउनुभएको थियो ।
भैरवदाइ, वामपन्थी विचारबाट प्रेरित सच्चा लोकतन्त्रवादी हुनुहुन्थ्यो । बहुदलप्राप्तिका लागि भएको २०४६ सालको जनआन्दोलन र २०६२–६३ को गणतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनमा भैरवदाइले नागरिक अगुवाका रूपमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । तर, राजनीतिक रूपमा उहाँ स्वयं भने त्यति सफल हुनुभएन । नेमकिपाबाट २०४८ सालमा उहाँले सांसदको लागि भक्तपुरबाट टिकट पाएर चुनाव पनि लड्नुभएको थियो । तर थोरै भोटले हार्नुभयो । त्यसपछि भने उहाँ चुनावमा लड्नुभएन ।
व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने सोच, इमानदारी, निष्ठाप्रति अटल, परोपकारी, सादा जीवनशैली भएका बहुआयामिक प्रतिभाका धनी सबैका प्रिय र प्रेरणाका स्रोत आदरणीय भैरव रिसाल भौतिक रूपमा हामीबाट अब सधैंका लागि विदा हुनुभएको छ ।
हार्दिक श्रद्धाञ्जली भैरवदाइ !
प्रतिक्रिया 4