+
+
Shares
वार्ता-चित्तरञ्जन त्रिपाठी :

‘रैथाने नाटक गरौं, भारतमा आदिवासी रंगमञ्चमा काम थालेका छौं’

रैथाने रंगमञ्चको बारेमा राम्रो कुरा के हो भने कसैले फरक हुन वा तथाकथित अन्तर्राष्ट्रिय वा समकालीन हुन जतिसुकै प्रयास गरे पनि, तिनीहरूले आफ्नो आधारभूत सांस्कृतिक पहिचान छोडेका छैनन्, जुन पहिले नै उनीहरूको डीएनएमा घुलेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते २२:०३

भारतीय नाटक र सिनेमाको दुनियाँका एक प्रतिष्ठित व्यक्तित्व चित्तरञ्जन त्रिपाठी नयाँदिल्लीस्थित राष्ट्रिय नाटक विद्यालय (एनएसडी)का निर्देशक समेत हुन् ।

पछिल्लो समय नेटफ्लिक्स सिरिज सेक्रेड गेम्समा त्रिवेदीको भूमिका निर्वाह गरेर चर्चामा आएका त्रिपाठी एक कुशल अभिनेता मात्र नभएर नाटक निर्देशक, संगीतकार, गायक र फिल्म लेखक, निर्माता एवं निर्देशक पनि हुन्।

म्यूजिकल थिएटरमा विशेषज्ञता हासिल गरेका त्रिपाठीसँग नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाल–भारत रंग महोत्सवका क्रममा नेपाली रंगकर्मी सोमनाथ खनालले गरेको कुराकानी-

नेपाल भारत रंग महोत्सव र नेपालमा तपाईंको अनुभव कस्तो रह्यो ?

राम्रो रह्यो। छोटो सूचनाको बाबजुद पनि महोत्सव सफल भइरहेको छ, र यो सबै निशाजी (कुलपति) र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कडा परिश्रमको कारणले भएको हो।

राष्ट्रिय नाटक विद्यालय (एनएसडी) का निर्देशकको रूपमा, तपाईं समाजलाई आकार दिनमा नाट्य शिक्षाको भूमिकालाई कसरी देख्नुहुन्छ ?

रंगमञ्च समाजको प्रतिबिम्ब हो। नाटक गरेर समाजलाई धेरै राम्रो तरिकाले चिन्ने अवसर प्राप्त हुन्छ। नाट्य शिक्षा रंगमञ्चको अनेक आयाममध्ये एक हो। त्यसैले, यदि रंगमञ्च प्रतिबिम्ब हो भने, यो शैक्षिक हुनुपर्छ र यसमा सबै सहभागीहरूलाई समाजको ज्ञान र बुझाइ प्रदान गर्ने विशाल क्षेत्र त्यसमा हुनुपर्छ।

शिक्षा र प्रशिक्षणको सन्दर्भमा भारत र दक्षिणएशियामा रंगमञ्च कसरी विकसित भएको छ ?

धेरै ठूलो तरिकाले। विशेषगरी, राष्ट्रिय नाटक विद्यालयले धेरै योगदान पुर्‍याएको छ। पद्धति र शिक्षाशास्त्रको हिसाबले यो विश्वको उत्कृष्ट नाट्य विद्यालयहरू मध्ये एक हो। भारत धेरै सांस्कृतिक विविधता भएको देश भएकोले यसको प्रभाव धेरै ठूलो छ। चाइना, सिंगापुर लगायत अरू देशमा पनि आफ्नै हिसाबले काम भइरहेका छन्। अन्य देशहरूमा हाम्रो कुनै अन्य क्याम्पस छैन। तर सांस्कृतिक आदानप्रदानको सन्दर्भमा हामी विगत ६५ वर्षदेखि अग्रणी शक्तिहरू मध्ये एक हौं।

रंगमञ्चका परम्परागत रूपहरू संरक्षण गर्दै यसलाई आधुनिक समयसँग अनुकूलन गर्न कसरी काम गर्नुपर्छ भन्ने तपाईंलाई लाग्छ ?

हाम्रो आफ्नै सांस्कृतिक लोकाचार, लोककथा, परम्परा, पौराणिक इतिहास आदि प्रयोग गरेर कथा भन्ने सन्दर्भमा काम गरिनुपर्छ। हामीले गरिआएको रैथाने रंगमञ्च परम्परागत हो र समकालीन होइन भन्नु भनेको यसको सम्भावनालाई नदेखे जस्तो गर्नु हो। यदि तपाईंले आफ्नो संस्कृतिलाई समकालीन संस्कृतिको रूपमा हेर्नुहुन्न भने यो धेरै खतरनाक कुरा हो। कुनै पनि संस्कृति कहिल्यै पुरानो हुन सक्दैन। कुनै पनि भाषा कहिल्यै पुरानो हुन सक्दैन।

नेपालमा औपचारिक रंगमञ्च शिक्षाको लागि अवसरहरू एकदमै सीमित छन्। धेरैजसो कलाकारहरू छोटो अवधिको प्रशिक्षण कार्यक्रमहरूमा भर पर्छन्, जुन प्रायः दिगो रंगमञ्च करिअरको लागि आवश्यक सीपहरू प्रदान गर्न अपर्याप्त छ। सामुदायिक संलग्नता र सामाजिक प्रभावलाई जोड दिने एप्लाइड थिएटर (अनुप्रयुक्त रंगमञ्च)ले परम्परागत नेपाली रंगमञ्च र समकालीन अभ्यासहरू बीचको खाडललाई कम गर्ने प्रयास गर्दै आएको छ। यद्यपि, केही रंगकर्मीहरू एप्लाइड थिएटरलाई विकासे अभ्यासको रूपमा हेर्छन्। एक थिएटर शिक्षाकर्मीको रूपमा, तपाईं थिएटर शिक्षा र अभ्यासलाई आकार दिन एप्लाइड थिएटरको भूमिकालाई कसरी व्याख्या गर्नुहुन्छ ?

यो धेरै दोहोरिने सैद्धान्तिक प्रश्न हो। यसको कुनै स्पष्ट उत्तर छैन। एप्लाइड थिएटर वास्तविक रंगमञ्च होइन भन्ने मानिसहरू उनीहरूको दृष्टिकोणबाट सत्य हुन सक्छन्। तर जब हामी थिएटर भन्छौं, हामी त्यो शब्द थिएटर थप्छौं, थिएटर त्यहाँ छ, चाहे त्यो एप्लाइड थिएटर होस् वा अरू कुनै किसिमको। यसमा कुनै विवाद हुनुहुँदैन। एप्लाइड थिएटर रंगमञ्चको एक विशिष्ट रूप हो र जसका आफ्नै तर सकारात्मक उद्देश्यहरू छन्। तर यो धेरै सीमित पनि छ। यो राजनीति विज्ञान भन्नु र त्यसपछि चाणक्यको राजनीतिक दर्शन भन्नु जस्तै हो। यदि तपाईं चाणक्यको राजनीतिक दर्शनको बारेमा मात्र कुरा गर्दै हुनुहुन्छ भने, यो राजनीति विज्ञानको एकदमै सानो भाग हो। तर जब तपाईं राजनीति विज्ञानको बारेमा कुरा गर्नुहुन्छ, यसमा राजनीतिक इतिहास, चाणक्यको राजनीतिक झुकाव समावेश हुन्छ। विस्तृत रंगमञ्चको अध्ययन गर्न जाँदा त्यहाँ यी सबै प्रकारहरु समेटिएको हुन्छ।

त्यसो भए एप्लाइड थिएटरलाई रंगमञ्च प्रशिक्षणको बृहत् ढाँचाभित्र प्रभावकारी रूपमा समेट्न के गर्न सकिन्छ ?

एप्लाइड थिएटरको उदय पश्चिमबाट भएको हो। त्यसैले यसलाई भित्र्याउनुअघि आफ्नै संस्कृतिको बारेमा पढ्नु, जान्नु, पत्ता लगाउनु र अन्वेषण गर्नु राम्रो हुन्छ। त्यसपछि बल्ल यो अर्थपूर्ण र बलियो हुनेछ। रंगमञ्चले मानव कथा सञ्चार गर्छ, त्यसो भए मानव कथा भनेको के हो त? यो तपाईंको विशिष्ट सांस्कृतिक कथा हो। अन्यथा तपाईं नेपाली रंगमञ्च र ब्रिटिश रंगमञ्चबीच कसरी भिन्नता छुट्याउन सक्नुहुन्छ ? र यदि तपाईं ब्रिटिश रंगमञ्च बन्ने हतारोमा हुनुहुन्छ भने भगवानले तपाईंलाई आशीर्वाद दिनुहोस्। कसैले पनि तपाईंलाई चिन्ने छैन। कसैले पनि तपाईंलाई त्यो रंगमञ्चको दर्जा दिने छैन किनभने तिनीहरू आफ्नै तरिकाले मौलिक छन्। यदि तपाईं रंगमञ्चमा मौलिक हुनुहुन्न भने, नक्कल गर्नेहरूको लागि कुनै सम्मान छैन।

नेपालमा एनएसडीको च्याप्टर स्थापना गर्ने बारेमा कुराहरू आइरहेका छन्। के राष्ट्रिय नाट्य विद्यालय र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबीच यस विस्तारको बारेमा कुनै ठोस छलफल भएको छ ?

अहिलेसम्म हेर्दा दुवै देशका सरकारहरू यस दिशामा केही सहकार्य गर्न इच्छुक छन् भन्ने देखिन्छ। यसो भन्दैगर्दा म राष्ट्रिय नाट्य विद्यालय र नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानबीचको वर्तमान समझदारीमा पनि जोड दिन चाहन्छु, जस अन्तर्गत हामी नेपाल भारत रंग महोत्सव मनाइरहेका छौं र यसैअन्तर्गत नेपालमा नाटक र रंगमञ्चका विविध विषयमा कार्यशालाहरू सञ्चालन गर्ने योजना बनाइरहेका छौं। जहाँसम्म स्थायी र दीर्घकालीन पाठ्यक्रम वा एनएसडी क्याम्पस स्थापनाको सवाल छ, यो एक ठूलो निर्णय हो जुन उच्च अधिकारीहरूले लिनेछन्। तर, एनएसडीको निर्देशक भएको नाताले यदि यो चाँडै नै भयो भने म सबैभन्दा खुसी हुनेछु।

नेपालमा एनएसडी च्याप्टर स्थापना गर्दा यसलाई प्रभावकारी र दिगो बनाउन कुन मुख्य तत्वहरूलाई विचार गर्नुपर्छ ?

अनुशासन र कडा परिश्रम। प्रशिक्षण प्रक्रियाका दुई पक्षहरू छन्। एउटा सैद्धान्तिक र अर्को व्यावहारिक। यसको बारेमा कुरा गर्न धेरै घण्टा लाग्नेछ। त्यसैले मैले कडा परिश्रम र अनुशासन भनेको हुँ।

किनभने एनएसडी एउटा सैन्य एकेडेमी जस्तै गरी चल्छ। हाम्रा विद्यार्थीहरू समय र अन्य सबै कुराहरूमा धेरै मिहिनेती, समयनिष्ठ र अनुशासित छन्। तिनीहरू कडा परिश्रम गर्छन्, दिनमा १८ घण्टासम्म काम गर्छन्। त्यसैले, यदि मानिसहरू त्यति धेरै मिहिनेती र अनुशासित हुन सक्छन् भने हामीसँग धेरै क्याप्सुलहरू छन् जुन यहाँ पनि वितरण र उपभोग गर्न सकिन्छ।

नेपाली रंगमञ्चले छनोट गरेको विषयवस्तु, कथा कथन र प्रदर्शन शैलीको सन्दर्भमा तपाईंको धारणा के छ ? नेपाली रंगमञ्चका कुन विशेषताहरुलाई ठूला अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न सकिन्छ जस्तो तपाईंलाई लाग्छ ?

मैले धेरै नेपाली नाटकहरू हेरेको छैन तर यो महोत्सव हेरेर र अन्य स्रोतहरूबाट बुझेर म भन्न सक्छु कि नेपाली रंगमञ्चले राम्रो काम गरिरहेको छ। रैथाने रंगमञ्चको बारेमा राम्रो कुरा के हो भने कसैले फरक हुन वा तथाकथित अन्तर्राष्ट्रिय वा समकालीन हुन जतिसुकै प्रयास गरे पनि, तिनीहरूले आफ्नो आधारभूत सांस्कृतिक पहिचान छोडेका छैनन्, जुन पहिले नै उनीहरूको डीएनएमा घुलेको छ।

तपाईं चेखभको वा इब्सनको नाटक गर्दै हुनुहुन्छ, तर म सजिलै भन्न सक्छु कि नेपालीहरूले चेखभ वा इब्सनको नाटक प्रदर्शन गरिरहेका छन्। भारतीयहरूलाई पनि त्यस्तै हुन्छ, किनभने हाम्रो शरीरको भाषा फरक छ। हाम्रो भावनात्मक आदानप्रदान अभिव्यक्ति फरक छ। चाहे तपाईं भगवान् बुद्ध वा भगवान राममाथि नाटक गर्नुहुन्छ वा तपाईंका लोककथाहरू वा कुनै विदेशी नै, जबसम्म त्यो रैथानेपन त्यहाँ छ, यो राम्रो छ। जुन क्षण तपाईं ती सबै गुमाउनुहुन्छ, तपाईं अरू कोही बन्नुहुन्छ। र, त्यो सबैभन्दा खतरनाक कुरा हुनेछ।

यदि तपाईं ठूलो अन्तर्राष्ट्रिय मञ्चमा जाँदै हुनुहुन्छ भने, तपाईंको आफ्नै सांस्कृतिक पहिचान हुनुपर्छ। तपाईं संयुक्त राज्य अमेरिका गएर मेथड एक्टिङको बीउ बाँड्न सक्नुहुन्न, किनभने उनीहरूको दर्शन पूर्ण रूपमा फरक छ, उनीहरूको आफ्नै समाज, आफ्नै सामाजिक लोकाचारद्वारा सञ्चालित छ। भारत र नेपाल केही हदसम्म नजिक हुन सक्छन्, तर पश्चिम पूर्णतया फरक छ। त्यसैले यदि तपाईं अन्तर्राष्ट्रिय मञ्चमा केही प्रस्तुत गर्दै हुनुहुन्छ भने त्यो तपाईं र केवल तपाईं हुनुपर्छ, उनीहरू होइन।

भारत र नेपाल बीचको सीमापार सांस्कृतिक सहकार्यले दुवै देशमा रंगमञ्चको विकासमा कसरी मद्दत गर्न सक्छ भन्ने तपाईंलाई लाग्छ ?

यदि हामी एकसाथ आउन सक्यौं भने, यसले दुवै राष्ट्रहरूलाई हाम्रो रैथाने सोचाइको तरिकालाई धेरै ठूलो तरिकाले अन्वेषण गर्न मद्दत गर्नेछ भन्ने कुरामा कुनै शंका छैन। जब म रैथाने भन्छु, यसका धेरै तहहरू छन्। एउटा मौलिक हुनु, तपाईं हुनु हो। यसको अर्थ तपाईंको भाषा र तपाईंको मुख्यधाराको संस्कृति हो। र त्यसपछि दोस्रो तपाईंको उप–मुख्यधाराको संस्कृति हो, वा प्रकृतिको धेरै नजिकको संस्कृति। यसरी हामीले गर्नुपर्ने धेरै कुराहरू छन्। भारतमा हामीले ट्राइबल थिएटर (आदिवासी रंगमञ्च)मा काम गर्न थालेका छौं। यो हामी सबैको लागि नयाँ क्षेत्र हो। अहिलेसम्म हामी पश्चिमी सिद्धान्तहरू प्रयोग गरेर हाम्रो स्थानलाई प्रस्तुत गरिरहेका छौं। तर जब हामी हाम्रा संस्कृतिलाई हेर्छौं, विभिन्न भाषा समूह, जातीय समूह, राज्य, क्षेत्र र विभिन्न जनजातिहरू भेट्छौं। हाम्रो परम्परा धेरै समृद्ध छ, तर हाम्रो अभिव्यक्ति धेरै नै सीमित छ। हामीले यसलाई विस्तार गर्नुपर्छ।

हिन्दुस्तान टाइम्ससँगको अघिल्लो अन्तर्वार्तामा, तपाईंले एनएसडीका ९६ प्रतिशत पूर्वविद्यार्थीहरू रंगमञ्चको काम गरेरै आफूलाई टिकाइरहेको सर्भे नतिजाको बारेमा बोल्दै हुनुहुन्थ्यो। नेपालमा पनि धेरै युवा कलाकारहरू रंगमञ्चमा दिगो करिअर बनाउन संघर्षरत छन्। तपाईं उनीहरूलाई के सल्लाह दिनुहुन्छ ?

हेर्नुहोस्, यदि कोही रंगमञ्च गरेर अर्बपति बन्न चाहन्छ भने, मसँग कुनै अनुभव छैन, उनीहरूलाई दिने कुनै सल्लाह छैन। किनकि म अर्बपति होइन, त्यो मेरो चाहना होइन। तर म एक जीवित व्यक्ति (सर्भाइभर) हुँ, र म एक खुसी व्यक्ति हुँ, जो लामो समयदेखि रंगमञ्च अभ्यास गर्दै आइरहेको छु, एक सभ्य र सम्मानजनक जीवन बिताइरहेको छु। करिअर दिगो हुन, यो तत्काल फास्ट फूड जस्तो होइन। रंगमञ्चको परम्परा धेरै पुरानो छ, तर यसमा प्रयोग गर्न र प्रभाव देखिन समय लाग्छ त्यसैकारण करिअरको वृद्धि पनि ढिलो छ। यो समाजको दृष्टिकोणसँग पनि सम्बन्धित छ। समाजमा रंगमञ्चलाई मुख्यधाराको गतिविधि नभएर अतिरिक्त क्रियाकलापको रूपमा लिइन्छ। जब समाज आफैं यति उदासीन छ, तपाईंको समायोजन हुन समय त लागिहाल्छ नि ! यसो भनिए पनि रंगमञ्चको सैद्धान्तिक दृष्टिकोणसँगै अभ्यास पक्षलाई राम्रोसँग बुझेको खण्डमा अनुशासित र मिहिनेती मानिसहरु कहिल्यै बेरोजगार हुने छैनन्।

पछिल्लो समयमा कथाकथनका लागि डिजिटल माध्यम जस्ता वैकल्पिक प्लेटफर्महरूको उदयसँगै रंगमञ्चको भविष्य कस्तो देख्नुहुन्छ ?

डिजिटल क्रान्तिले धेरै मानिसलाई मद्दत गरेको छ। तर यदि तपाईंले यसलाई सूक्ष्म दृष्टिकोणबाट हेर्नुभयो भने, त्यो फरक छ। तपाईंसँग धेरै फलोअर्स छन् भने मात्र तपाईं प्रतिभाशाली हुनुहुन्छ भन्ने कुरा हुँदैन। प्रतिभा भनेको अर्कै कुरा हो जुन डिजिटल संसारले परिभाषित गर्न सक्दैन। अहिले डिजिटल संसारले प्रतिभाको नक्कली दृष्टिकोणलाई परिभाषित गरिरहेको छ। तर रंगमञ्च तपाईंको अगाडि प्रत्यक्ष छ। यसमा नक्कली दृष्टिकोणलाई स्थान छैन। यसमा सधैं कलात्मकता मात्र हुन सक्छ। र, जबसम्म यसमा कलात्मकता छ, यो बाँच्नेछ। बडो राम्रो तरिकाले, सम्मानजनक तरिकाले बाँच्नेछ। निश्चित रुपमा यो यात्रामा उतारचढावहरु आउनेछ र त्यति सहज यात्रा हुनेछैन। किनभने, रंगमञ्च आफैंले एउटै दृष्टिकोणमा विश्वास गर्दैन।

म्युजिकल थिएटर (संगीतमय रंगमञ्च)मा तपाईंको लामो शैक्षिक र व्यावसायिक अनुभव छ। नेपालको लोक रंगमञ्च पनि संगीत, नृत्य र कथाकथनको आधारमा समृद्ध छ। यसरी हेर्दा नेपाली रंगमञ्चले लोक परम्पराहरूमा आधारित एक मौलिक पहिचान विकास गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

म्युजिकल थिएटर रंगमञ्चको एकदमै राम्रो रूप हो, जुन अहिलेका धेरैजसो दर्शकहरूले बुझ्दैनन्। उनीहरू सांसारिक यथार्थवादी अभिनय नै अभिनयको एक मात्र र उत्कृष्ट रूप हो भन्ने भ्रम धेरैलाई छ। मलाई त्यस्तो लाग्दैन। पश्चिममा म्युजिकल थिएटर धेरै नै फस्टाएको र धेरै लोकप्रिय पनि छ। त्यहाँ यसको व्यवसायीकरण भइसकेको छ, अन्य रंगमञ्च शैलीहरूको तुलनामा धेरै पैसा पनि कमाउँछ। हामीले यसबाट के सिक्नुपर्छ भने संगीत धेरै शक्तिशाली छ। नेपाल र भारत जस्ता देशहरूमा हामी संगीतमा धेरै धनी छौं। हामी संगीतका विभिन्न रूपहरूमा धनी छौं। त्यसैले हामीले यसलाई राम्ररी अन्वेषण गर्‍यौं भने एक समृद्ध रंगमञ्च समुदाय बन्नेछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?