३० चैत, काठमाडौ । तारा कार्की चित्रकारले नेपाल महिला ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छिन् ।
रोयल नेपाल गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा ताराले ३७ अंक प्राप्त गर्दै उपाधि जितेकी हुन् । उपाधिसँगै राष्ट्रिय टिमकी खेलाडी ताराले इलेक्ट्रिक स्कूटर र आर्शिया कोउटुरबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
राष्ट्रिय टिमकी अर्की खेलाडी सम्झना खत्री ३६ अंकसहित दोस्रो भइन् । सम्झनाले पनि ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन् । उनले तीन बर्डी प्रहार गर्दै मोस्ट बर्डिजको उपाधि पनि हात पारिन् ।
अभानी राईले यु–१९ तर्फको उपाधि जितिन् । उनले ३४ अंक जोडिन् । सन्ध्या राईले २६ अंकका साथ सिनियरतर्फको उपाधि हात पारिन् । यस्तै, सुपर सिनियरमा कल्याणी मोक्तान सफल रहिन् । उनले १३ अंक जोडिन् ।
प्रतियोगितामा पार्वती सुवेदीले बेस्ट फ्रन्ट नाइन र अञ्जली योञ्जनले बेस्ट ब्याक नाइनको उपाधि जिते । पार्वतीले १८ र अञ्जलीले १९ अंक जोडेका थिए ।
प्रतियोगितामा जुनी गुरुङले लङ्गेस्ट ड्राइभ, बलकाशी गुरुङले क्लोजेस्ट टु द पिन, अञ्जलिका सिन्हाले स्ट्रेट ड्राइभ, रिजु राईले बेस्ट स्पोर्ट्सम्यानसीप र न्यायाधीश सपना प्रधान मल्लले लक्की ड्र को पुरस्कार प्राप्त गरे ।
यसैबीच, शीर्ष १० खेलाडीहरूले आइतबार हुने दोस्रो तथा अन्तिम राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । तारा कार्की चित्रकार, सम्झना खत्री, अञ्जली योञ्जन, अभानी राई, पार्वती सुवेदी, रानु बानियाँ, सुषमा सिंह, सुमित्रा लिम्बू, सन्ध्या राई र देवी पुलामी मगर लागि छनोट भएका छन् ।
विजेताहरूलाई अभिनेत्री मनीषा कोइराला, न्यायाधीश सपना प्रधान मल्ल, आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बा, क्याप्टेन मिथुन राई, लेडी क्याप्टेन तथा प्रमुख आयोजक अर्शिया बानु, र नेपाल गल्फ संघका अध्यक्ष टासी घले लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको मुख्य प्रायोजक अर्शिया बुटिक रहेको छ भने लामी होल्डिङ्स, सिटी एक्सप्रेस, ह्वाइट हाउस रिसोर्ट, इन्द्र ट्राभल्स एण्ड टुर्स, स्किल ३६०, विमेन्स प्लानेट, भास्कर तेजश्री मेमोरियल फाउन्डेसन, होटल कृष्ण, रिगल होटल, एयर डाइनेस्टी हेलि सर्भिस, लामा एक्सकर्सन्स र श्री बालाजी डायमण्ड प्रतियोगिताका सहयोगी संस्था हुन् । प्रतियोगितालाई नेपाल गल्फ संघले पनि सहयोग रहेको छ ।
प्रतिक्रिया 4