
३० चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार बनेपछि मुलुकमा विकासको गति बढेको बताएका छन् । देशमा आर्थिक, सामाजिक विकास र कूटनीतिक सम्बन्धका क्षेत्रमा पनि धेरै काम भएको उनको भनाइ छ ।
नेकपा एमाले सोलुखुम्बू–काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन ज्ञवालीले सरकार बनेपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुन बनेर पीडितले न्याय पाउने आधार निर्माण भएको बताए ।
उनले छिमेकी देशबीच सन्तुलित सम्बन्ध कायम गरी देशलाई अघि बढाउने काम भएको, सहकारीका बेथिति अन्त्य गरेर पीडितलाई न्याय दिलाउन पहल गर्ने लगायतका काम भएको पनि दावी गरे । सहकारी ठगीमा संलग्न जो भए पनि उनीहरूको मुख नहेरी कानुनी कारबाहीको प्रक्रिया अघि बढेको ज्ञवालीको भनाइ थियो । ‘जो सुकै मानिस जिम्मेवार होस्, कानुनका नजरमा सबै समान छन्,’ उनले भने ।
मुलुकले अहिले एउटा कोर्स समातेको बताउँदै पूर्वमन्त्री ज्ञवालीले यो कोर्स उल्टाउने र मुलुकलाई अस्थिरता तिर धकेल्ने कोसिस विभिन्न कोणबाट भइरहेको बताए । नेपालको सबैभन्दा ठूलो समस्या अस्थिरताको भएको बताएका उनले अहिले पनि तिनै तत्वहरूले देशलाई अस्थिरतामा लैजाने प्रयास गरिरहेका दावी गरे ।
‘पानी धमिल्याउने, माछा मार्ने, कमजोर राज्य बनाउने दोहन गर्ने, मुख्य पार्टीलाई किनारा लगाउने र बिचौलियाहरूले राज्य चलाउने, यो खालको श्रृंखलालाई हामीले रोक्ने प्रयत्न गर्यौं, अहिले त्यसलाई फेरि उल्टाउने खेल भइरहेको छ,’ उनले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि पनि अस्थिरताको खेल खेल्ने प्रयासमा रहेको ज्ञवालीले बताए । प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले सघाउने र माओवादी सरकारमा पनि नजाने भनेर लोभ्याउन खोजेको उनको भनाइ छ । तर, प्रचण्डको प्रस्तावमा कांग्रेस नलोभिने ज्ञवालीले विश्वास व्यक्त गरे ।
मुलुकमा अस्थिरताभित्र खेल्न खोज्नेहरूले विभिन्न प्रयास गरिरहेको चर्चा गरेका उनले सामन्ती राजतन्त्रले समेत टाउको उठाउन खोजेको बताए । ‘आफूलाई राजावादी भन्ने र पूर्वराजाका समर्थक ठान्नेहरू फेरि सलबलाउन लागेका छन्,’ उनले भने, ‘पूर्वराजावदीले चैत १५ गते तीनकुनेमा गरेको आन्दोलन राजनीतिक थिएन, उनीहरूको प्रयत्न आयल निगमको इन्धन स्टोरमा आगो लगाएर देशलाई तहसनहस बनाउने आपराधिक सोचतर्फ लक्षित थियो, पत्रकालाई ज्युँदै जलाउनेसम्मका हरकत भए ।’
नेकपा एमाले देश बन्छ र बनाउन सकिन्छ भन्ने विचारको प्रतिनिधित्व गर्ने पार्टी भएको उनले दावी गरे । लोकतन्त्र र राजतन्त्रसँगै जान सक्दैन भन्ने निष्कर्षका साथ नेपालमा राजतन्त्र फालिएको भन्दै उनले अब नेपालमा राजतन्त्र नफर्किने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4