+
+
Shares

औसत रह्यो ०८१, नयाँ साल राम्रो गरौं : प्रचण्ड

‘२०८१ ले २०८२ का लागि आधार भने दिएको छ, राम्रो काम गर्नका लागि’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १०:४८

३१ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका हिसाबले २०८१ साल औसत भएको टिप्पणी गरेका छन् । साथै २०८२ सालमा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको उनको बुझाइ छ ।

आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले २०८१ सालको समीक्षा सुनाउँदै भने, ‘२०८१ सालमा सकारात्मक काम पनि भयो, नकारात्मक पनि भयो । समग्रमा भन्दा त्यस्तो उत्साहवर्द्धक भन्ने पनि भएन, धेरै निराशाजनक भन्ने पनि होइन ।’

अब नयाँ वर्षमा २०८२ सालमा जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नुपर्ने उनले बताए ।

‘२०८१ ले २०८२ का लागि आधार भने दिएको छ, राम्रो काम गर्नका लागि,’ प्रचण्डले भने, ‘राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र, जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको छ, नयाँ वर्षमा संकल्प गर्नु नै छ ।’

उनले सबै चितवनबासी, देशभरका नेपाली र विदेशमा बसोबास गर्ने नेपालीहरुलाई नयाँ वर्षको शुभकामना समेत दिए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने परिस्थिति बन्दै गएको जिकिर गरे ।

शिक्षक, डाक्टर, नर्स र राजनीतिक दलहरु समेत वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको भन्दै प्रचण्डले परिस्थिति निकै गम्भिर र पेचिलो बनेको विश्लेषण सुनाए । त्यसैले वर्तमान सरकार धेरै लामो समयसम्म नजाने बताउँदै उनले नयाँ सरकारमा माओवादी केन्द्रले भने ध्यान नदिएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?