
३१ चैत, काठमाडौं । पर्सामा क्रियाशील राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम गर्न आम जनसमुदायसँग अपिल गरेका छन् ।
शनिबार हनुमान जयन्ती मनाउन वीरगञ्जमा निकालिएको शोभा यात्राको क्रममा दुई समूहबीच उत्पन्न विवाद समाधान गर्ने विषयमा आइतबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले यस्तो अपिल गरेका हुन् ।
शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका र्याली, बन्द लगायत कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघसंस्था एवं समुदायले नगर्ने प्रतिबद्धता जनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहु सांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध संघसंस्थाहरू विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्म रहेअनुसार शान्ति अमनचयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका र्याली, बन्द आदि कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघसंस्था एवं समुदायले नगर्ने प्रतिबद्धतासहित सामाजिक सद्भाव कायम गर्न सबै आम जनसमुदायमा जोडदार अपिल गर्दछौं,’ बैठकपछि सार्वजनिक प्रतिबद्धतापत्रमा छ ।
यसैगरी शोभा यात्राको क्रममा उत्पन्न विवादको क्रममा घाइतेहरूको उपचार राज्यको तर्फबाट गर्नुपर्ने माग गरिएको छ ।
साथै शोभा यात्राको क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए कानुनको दायरामा ल्याइ कडा कानुनी कारबाही हुनु पर्ने माग समेत गरिएको छ ।
प्रतिक्रिया 4