
काठमाडौं । सविना राना मगर र शिरिषा २०८१ सालका ‘सर्वोत्कृष्ट फेसन डिजाइनर’ घोषित भएका छन् । ‘मिस नेपाल’ आयोजक संस्था द हिडन ट्रेजरले शनिबार आयोजना गरेको ‘डिजाइनर अफ द इयर’को पहिलो संस्करणको उपाधि यी दुईजनाको फेसन सहकार्य ‘एस एण्ड एस क्रिएसन’ले जितेको छ ।
यी दुईले ९ जना प्रतिस्पर्धीलाई उछिने । भक्तपुरको सूर्यविनायकस्थित ‘फिड फेसन’ कलेजका यी दुई विद्यार्थीले जितसँगै २०२५ को मिस वर्ल्ड, मिस इन्टरनेसनल र मिस अर्थजस्ता प्रतिष्ठित प्रतियोगितामा सहभागि हुने नेपाली सुन्दरीको पहिरन डिजाइनको मौका समेत पाएका छन् ।
उनीहरूले डेढलाख नगदसहित ज्याक सिउने मेसिन पनि प्राप्त गरे । प्रतिस्पर्धात्मक फिनालेमा सविना र शिरिषाले क्याप्सुल राउण्डअन्तर्गत ब्रम्हाण्ड प्रेरित पहिरन, गहना र परिधान प्रस्तुत गरेका थिए । पृथ्वीभन्दा परको संसारबाट प्रभावित रहेर ब्रम्हाण्ड सौन्दर्यको आकर्षक डिजाइन र्याम्पमा देख्न पाइयो ।
‘इभिनिङ गाउन’ राउण्डमा समुन्द्री सतहको आकर्षक दृश्य, रङ र प्रकृतिलाई पहिरनमा उतारेका थिए । नेसनल कस्ट्युममा विभिन्न सांस्कृतिक तत्वलाई समेटेर ‘रानी’ थिममा पोशाक प्रस्तुत गरे ।
‘पहिलो नै हुन्छौं भनेर त सोचेका थिएनौं । एकदमै खुसी छौं । रातदिनको मिहेनत हो हाम्रो’ खुसी हुँदै सविनाले भनिन्, ‘सानैदेखिको मेरो सपना आफै लुगा सिलाएर आफै लगाएर हिँड्ने थियो । १५ वर्षदेखि टेलर सुरु गरेकी हुँ । अहिले सबैका राम्रो लुगा देखेर सिलाउन मन लागेर फिड फेसन फेसनमा ज्वाइन गरेकी हुँ । यहाँसम्म पुग्छु भनेर त होइन ।’
शिरिषाले आफूलाई पनि सानैदेखि फेसन डिजाइनिङमा रुचि रहेको बताइन् । ‘हाम्रो घरमा अनुमति नभएकाले चािहँ ब्याचलर सकिएपछि फेसन डिजाइनिङ ज्वाइन गर्या हो । त्यहीँ साथीसँग भेट भयो’ उनले भनिन् ।
यी दुईजना २ महिनाअघि मात्र भेटेका हुन् । त्यही भेटमा यी दुईले ‘एस एण्ड एस क्रिएसन्स’ जन्माए । त्यहीँबाट उनीहरूको फेसन डिजाइनिङको करिअर सुरु भयो ।
‘अब अन्तर्राष्ट्रिय मञ्चमा यो भन्दा भिन्न तरिकाले गर्छौं कि भन्ने सोच छ । अहिलेसम्म चरा र फूलबाट मात्र प्रभावित भएर नेसनल कस्ट्युम प्रयोग हुँदै आएको छ । अब भिन्ने दिने सोच्दैछौं’ सविनाले भनिन् ।
उनले नेपालमा फेसनको भविष्य उज्वल रहेको बताइन् । ‘पहिले र अहिलेकोमा भिन्न छ । फेसन लुगा मात्र लगाएर हिँड्ने सोचेका थियौं । फेसन भनेको आफूमा भएको कथा भन्ने हो’ उनले भनिन् ।
फिनालेमा डिजाइनरको पहिरनलाई मोडलहरूले र्याम्पमा प्रस्तुत गरेका थिए । वर्तमान र पूर्वमिस नेपालहरूले पनि आकर्षक पहिरनलाई र्याम्पमा प्रस्तुत गरेका थिए ।
पूर्वमिस नेपाल माल्भिका सुब्बा, फेसन डिजाइनर मनिष राई, मेकअप आर्टिस्ट लेमी तामाङ, सौनक अमोनकार र प्रणय जेट्ली जजको रुपमा थिए । कलालाई उद्यमशिलतासँग जोड्ने उद्देश्यसहित द हिडन ट्रेजरले यसवर्षदेखि प्रतिस्पर्धा सुरु गरेको हो ।
प्रतिक्रिया 4