
अमेरिकी कम्पनी एप्पलले अमेरिकामा ट्रम्प सरकारले लागू गरेको भारी भन्सार दरबाट बँच्नका लागि करिब ६ सय टन आइफोन अमेरिका पठाएको छ । समाचार अनुसार एप्पलले चाटर्ड एयर कार्गो विमानका माध्यमबाट एप्पलले १५ लाख गोटा आइफोन भारतबाट अमेरिका लगेको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।
किन उठाइयो यस्तो कदम ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिकामा आयात हुने सामानहरुमा १ सय २५ प्रतिशत सम्मको भन्सार महसुल लगाएका छन् । जबकी भारतबाट अमेरिकामा आयात हुने वस्तुमा चाहीँ यस्तो दर २६ प्रतिशत मात्रै छ । यसमा पनि भारतीय निर्यातमा लगाइएको नयाँ भन्सार महसुल ९० दिनका लागि स्थगित भएको र चीनमाथि लागेको महसुल अहिले पनि कायमै रहेको अवस्था छ ।
त्यसैले चीनबाट आइफोन अमेरिका ल्याउँदा भन्सार दरका कारण निकै महंगो पर्ने र उता भारतमाथि लागू भएको नयाँ भन्सार दर स्थगित भएको समयावधिभित्र भारतबाट अमेरिकामा आइफोन ल्याउन सकिएमा त्यो सस्तो पर्ने भएकोले एप्पलले यति ठूलो परिमाणमा आइफोन भारतबाट लगेको हो ।
एप्पलले यसका लागि चेन्नई विमानस्थलमा भन्सार क्लियरेन्सको प्रक्रियालाई शीघ्र बनाउनका लागि भारत सरकारका अधिकारीहरुको सहयोग लिएको थियो । त्यसक्रममा भन्सार क्लियरेन्सको समयलाई ३० घण्टाबाट घटाएर ६ घण्टामा झारिएको थियो । यो त्यहीँ मोडेल हो, जसलाई एप्पलले चीनमा पनि उपयोग गर्ने गर्दछ । एयरपोर्ट भन्सारको यो शीघ्र र सरल भन्सार प्रक्रियालाई ग्रीन करिडोर भनिन्छ ।
समाचार अनुसार मार्च देखि अहिलेसम्म ६ वटा कार्गो विमानले भारतबाट अमेरिकाका लागि उडान भरेका छन् । प्रत्येक विमानको क्षमता १ सय टनको थियो । एउटा आइफोन र त्यसको चार्जरको प्याकेटको वजन करीब ३५० ग्राम हुन्छ । यसबाट पनि अनुमान लगाउन सकिन्छ कि कूल ६ सय टन कार्गोमा करीब १५ लाख गोटा आइफोन थिए ।
भारतमा आइफोनको उत्पादनमा वृद्धि
भारतको चेन्नईमा रहेको फक्सकनको कारखानामा एप्पलको उत्पादनमा २० प्रतिशतले वृद्धि भएको छ । यसका लागि कर्मचारीहरुको संख्या पनि बढाइएको छ र आइतबार विदाको दिनमा पनि काम गराइएको छ । उक्त कारखानाले अघिल्लो वर्ष करिब २ करोड गोटा आइफोन उत्पादन गरेको थियो ।
एप्पलले पछिल्लो समय आइफोन उत्पादनमा चीनमाथिको निर्भरतालाई कम गर्दै भारतलाई एक प्रमुख म्यानुफ्याक्चरिंग हब बनाइरहेको छ । भारतमा एप्पलका प्रडक्ट निर्माणको क्षेत्रमा फक्सकन र टाटा दुई मूख्य सप्लायर्सको रुपमा रहेका छन् ।
भारतमा आइफोन उत्पादनका लागि कूल ३ वटा कारखाना चालु अवस्थामा छन् भने थप दुई काराखाना निर्माणधीन अवस्थामा छन् ।
अमेरिकामा बढ्नेछ आइफोनको मूल्य
ट्रम्पले पछिल्लो समयमा चीन लगायतका आइफोन उत्पादन कारखाना भएका देशहरुमा लगाएको उच्च भन्सार महसूलका कारण अमेरिकी बजारमै आइफोनको मूल्य निकै महंगो पर्ने देखिएको छ।
आइफोनको सबैभन्दा ठूलो बजारको रुपमा रहेको अमेरिकामा खपत हुने आइफोनमध्ये अधिकांस चीनबाट आयात गर्ने गरिएको छ, जुन देशमाथि ट्रम्पले १२५ प्रतिशतको भन्सार महसुल थोपरेका छन् ।
एप्पलले विश्वभर गरी वार्षिक २२ करोड थान आइफोन बिक्री गर्ने गर्दछ । काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार अमेरिकामा आयात हुने आइफोनमध्ये २० प्रतिशत भारतबाट हुने गरेको छ भने बाँकी चीनबाट हुने गरेको छ ।
ट्रम्पले चीनमाथिको भन्सार दर बढाएर ५४ प्रतिशत पूराउँदाखेरी नै अमेरिकामा आइफोन १६ प्रो म्याक्सको मूल्य १५९९ डलर बाट बढेर २३०० डलर पर्ने देखिन्छ । भन्सार दर १२५ मा चीनबाट आयात गरेर अमेरिकामा आइफोन बिक्री गर्नुपर्दा आइफोनको मूल्य उपभोक्ताको पहुँच बाहिर पुग्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4