+
+
Shares

६ घण्टामै रेलवे स्टेशन निर्माण गरेर जापानले राख्यो कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १४:३५

३१ चैत, काठमाडौं। राति जब अन्तिम रेल छुट्यो, त्यतिबेलासम्म रेलवे स्टेशनमा पूरानै भवन उभिएको थियो । तर, जब त्यसको ६ घण्टापछि भोलिपल्ट बिहान जब पहिलो रेल आयो, त्यसबेला रेलवे स्टेशनको पूरानो भवन देखिएन । त्यसको साटो त्यहाँ नितान्त नयाँ भवन ठडिएको थियो ।यो चमत्कार जापानमा भएको छ । त्यहाँ मात्र ६ घण्टामा रेलवे स्टेशन भवनको ठाउँमा विश्वकै पहिलो थ्री डी प्रिन्टेड रेलवे स्टेशन तयार पारेर विश्व कीर्तिमान कायम गरिएको छ ।

उक्त नयाँ रेलवे स्टेशन एउटा बगैँचाको टहरो जस्तै देखिन्छ । ओसाकाको दक्षिणस्थित ग्रामीण इलाका एरिडामा उक्त कीर्तिमानी रेलवे स्टेशन तयार भएको हो । त्यसमा थ्री डी प्रिन्टेड मोर्टार मोल्ड्सको प्रयोग गरिएको छ, जसलाई एसेम्बल गर्नका लागि त्यहाँसम्म ट्रकमा ल्याइएको थियो ।

क्रेनको सहायताले असेम्बलिंगको काम रातभर चल्यो । अन्ततः रातको अन्तिम रेल त्यहाँबाट छुटेपछि बिहानको पहिलो रेल नआउन्जेलसम्म स्टेशनको भवन बनेर तयार भयो ।

द इन्डिपेन्डेन्टका रिपोर्ट अनुसार ६ घण्टामा तयार भएको उक्त संरचना २.६ मिटर अग्लो छ । १ सय वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त स्टेशन रिइन्फोर्स्ट कंक्रिटबाट बनेको छ । उक्त सेतो आकारको संचरनालाई मन्दारित सुन्तला तथा स्क्याबर्डफिसबाट सजाइएको छ, जुन एरिडा क्षेत्रको एउटा विशेषता हो ।

पश्चिम जापान रेलवे कम्पनी (जेआर वेस्ट) का अुनसार गत महिना बनेर तयार भएको उक्त स्टेशन एरिडा विश्वकै पहिलो त्यस प्रकारको रेलवे स्टेशन हो । एरिडा एउटा माछा समाउने स्थनीय बन्दरगाह हो, जुन आफ्नो लोभलाग्दो पर्वत श्रृंखलाका लागि चर्चित छ ।

उक्त रेलवे स्टेशन निर्माण परियोजनामा पश्चिम जापान रेलवेसँग सहकार्य गर्ने जापानी आवास कम्पनी सेरेन्डिक्सका अनुसार उक्त नयाँ संरचनामा छत तथा पर्खालसहित चारवटा भाग छन् र यो प्रबलित कंक्रिट घरजस्तै भूकम्प प्रतिरोधी छ । त्यहाँ भवनको भौतिक संरचना निर्माण सम्पन्न भैसकेको भएपनि टिकट मेसिन तथा कार्ड रिडर जस्ता उपकरणहरु जडान गर्ने काम भने बाँकी नै छ । आगामी जुलाईमा सम्पूर्ण निर्माण सकिएर सर्वसाधारणका लागि खुल्ला हुने बताइएको छ ।

उक्त संरचनाको आन्तरिक कार्य पूरा भएर टिकट मेसिन समेत जडान गरेसँगै त्यहाँ ७५ वर्षदेखि प्रयोगमा रहेको काठको संरचना पूर्णरुपमा हटाइनेछ । स्थानीय अधिकारीहरुका अनुसार मात्र ६ घण्टामा तयार भएको रेलवे स्टेशनको उक्त संरचना निर्माणका लागि आम रुपमा २ महिनाको समय लाग्ने गरेको थियो ।

स्मरण रहोस्, कुमामोटो प्रान्तको एक कारखानामा उक्त थ्री डी प्रिन्टेड भवनका सबै हिस्साहरु तयार पारिएको थियो । त्यहाँ भवनका भागहरु प्रिन्ट गर्न र त्यसमा कंक्रिट भरेर बलियो बनाउनका लागि ७ दिन लागेको थियो । त्यसपछि मार्च २४ मा त्यसलाई करिब ८ सय किलोमिटर टाढा लगियो र क्रेनको सहायताले एरिडाको रेल स्टेशनमा मात्र ६ घण्टामा क्रेनको सहायताले जडान गरियो ।

त्यो अनौठो निर्माण कार्य हेर्नका लागि एरिडाका स्थानीय बासिन्दाहरु त्यसरात उक्त रेलवे स्टेशनमा जमम भएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?