
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, खेलकुद तथा शारिरिक सुगठन शिक्षायलय अन्तर्गत नेपाल एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्रालिको सहकार्यमा प्रथम ‘एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड २०८१’ समारोह सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौं हलचोकस्थित नेपाल एपीएफ क्लबको कृष्णमोहन स्मृति भवनमा आयोजना गरिएको समारोहमा खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै संगठन तथा राष्ट्रको गौरवका लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेल व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
समारोहमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी परिवार महिला संघ अध्यक्ष अनिता लामिछाने अर्याल, अग्नि ग्रुप अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुप प्रबन्ध निर्देशक सुजन वैद्य श्रेष्ठ, अग्नि ग्रुप कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बंगलादेश प्रमुख चैतन्य कागलकार, अग्नि ग्रुप उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अग्नि ग्रुप अनुसन्धान तथा विकास प्रमुख वेदान्त श्रेष्ठ लगायत उपस्थित थिए ।
‘यो अवार्डका माध्यमबाट हामीले खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै, राष्ट्रको गौरवका लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेलकर्मी व्यक्तित्वको कदर तथा सम्मान गर्ने उद्देश्य लिएका छौं,’ अग्नि ग्रुप कार्यकारी निर्देशक शर्माले भने, ‘यस वर्षबाट सुरु गर्दै उत्कृष्ट खेलाडी पहिचान र सम्मान गर्ने यो प्लेटफर्मलाई हामी आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा खेलकर्मीलाई सम्मान गरियो । गृहमन्त्री लेखकले जनही ५० हजार नगद सहित महिला फुटबल खेलाडी रेनुका नगरकोटीलाई ‘एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१–महिला’ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई ‘एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१–पुरुष’ को उपाधि र सम्मानपत्र हस्तान्तरण गरे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले २५ हजार नगद पुरस्कार सहित कराँते खेलाडी मोहम्मद सेखु आलमलाई ‘मस्ट पपुलर एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१–पुरुष’ को उपाधि सहित सम्मानपत्र हस्तान्तरण गरे ।
त्यसैगरी २५ हजार नगद पुरस्कार सहित महिला फुटबल खेलाडी प्रीति राईलाई ‘मस्ट पपुलर एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१–महिला’ को उपाधि सहित सम्मानपत्र हस्तान्तरण गरियो । ‘एपिएफ महिन्द्रा टिम अफ द इयर २०८१’ उपाधि सहित ५० हजार नगद पुरस्कारबाट एपीएफ महिला फुटबल टिम सम्मानित भएको छ ।
‘एपीएफ कोच अफ द इयर २०८१–पुरुष’ र ‘एपीएफ कोच अफ द इयर २०८१– महिला’ को अवार्ड जनही नगद २५ हजारबाट क्रमशः फुटबल प्रशिक्षक जिवेशकुमार पाण्डे र कराँते प्रशिक्षक गंगादेवी अधिकारी सम्मानित भएका छन् ।
त्यसैगरी ‘एपीएफ महिन्द्रा योङ प्लेयर अफ द इयर २०८१–पुरुष’ र ‘एपीएफ महिन्द्रा योङ प्लेयर अफ द इयर २०८१–महिला’ को अवार्ड सहित जनही २५ हजार नगदबाट क्रमशः यू–१६ फुटबल खेलाडी तेञ्जिङ शेर्पा र सावित्री किशन सम्मानित भएका छन् ।
त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ क्लबका पूर्व प्रशिक्षक तथा पूर्व खेलाडीलाई ‘एपीएफ आइजीपी कमेन्डेसन’ का रूपमा कदरपत्र तथा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई कदरपत्र सहित मायाको चिनो हस्तान्तरण गरे ।
खेलकुद क्षेत्रमा उत्कृष्ट खेलाडी उत्पादन तथा विकास गर्दै नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याउन सफल एपीएफ क्लबद्वारा खेलाडीलाई प्रोत्साहन स्वरूप यो अवार्ड आयोजना गरिएको हो ।
अग्नि ग्रुप महिन्द्रा नेपालले नेपाली खेलकुदको विकास तथा प्रवर्द्धनमा विभिन्न प्रायोजन तथा सहकार्य मार्फत १० वर्षदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । ग्रुपको यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै अग्नि ग्रुपले एपीएफ क्लबसँग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4