+
+
Shares
संगीत :

मौसमको चुनौती छिचोल्दै गोकर्णेश्वरमा गुञ्जियो ‘नेपथ्य’

‘नेपथ्य मेरो सिँगै पुस्ताको प्रतिनिधित्व गर्ने ब्याण्ड हो,’ दर्शकमध्ये चर्चित उपन्यासकार सुविन भट्टराइको प्रतिक्रिया थियो, ‘यसका गीतहरू सुनिरहँदा म आफ्नो युवा र किशोरकालमा पुगेको महसुस गर्छु । नेपथ्यको बारेमा लेखिएको पुस्तक पढिसकेर पनि होला कन्सर्टले तानेको ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १६:५८

काठमाडौं । पश्चिमी भेगमा सुरु भएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि एकाएक काठमाडौं उपत्यका अँध्यारो बन्न पुग्यो । त्यसपछिको लगातार झरीले खुला आकाशमुनी तयार पारिएको नेपथ्यको मञ्च र त्यहाँ भित्रका विद्युतीय संयन्त्रलाई जोगाउने चुनौती थपियो । अब, साँझको कन्सर्ट के होला ? यो चिन्ता र चाँसो कै बीच बेलुकीको ओभानोमा गोकर्णेश्वर कन्सर्ट निर्धारित समयमै सुरु भएर भब्य रुपमा सम्पन्न भएको छ ।

अनलाइन र स्थानीय टिकट बुथबाट अग्रिम टिकट काटेका दर्शकको उपस्थितीलाई मध्यनजर गर्दै सर्ट सुरु हुनुभन्दा दुई घन्टा अगावै अर्थात् बेलुकी साढे चार बजे प्रवेशद्वार खुला गरिएका थिए । घडीले ठीक साढे ६ बजाउने बित्तिकै कन्सर्ट सुरु भयो ।

ब्याण्ड मञ्चमा उभिनासाथ ‘कोशीको पानी’बाट सुरु भएको गीतहरुको क्रम त्यसपछि लगातार मध्यम र धिमा गतिका लोकरक सिर्जनाबाट अघि बढ्दै गयो ।

‘नेपथ्य मेरो सिँगै पुस्ताको प्रतिनिधित्व गर्ने ब्याण्ड हो,’ दर्शकमध्ये चर्चित उपन्यासकार सुविन भट्टराइको प्रतिक्रिया थियो, ‘यसका गीतहरू सुनिरहँदा म आफ्नो युवा र किशोरकालमा पुगेको महसुस गर्छु । नेपथ्यको बारेमा लेखिएको पुस्तक पढिसकेर पनि होला कन्सर्टले तानेको ।’

ब्याण्डको बाह्रौं प्रस्तुति ‘गाउँ गाउँबाट उठ’ देखि भने कार्यक्रम तीव्र गतिका गीतमा प्रवेश गर्‍यो । ‘यसरी हजारौं दर्शक, श्रोताका बीचमा उभिएर नाच्दै, चिच्याउँदै कन्सर्टको मज्जा लिँदा बेग्लै रमाइलो हुँदोरहेछ,’ यसअघि बन्द कोठा भित्र बजेका नेपथ्य गीत मात्र सुनेको अनुभव बोकेका र पहिलोपटक सपरिवार कन्सर्टमा उपस्थित भएका उपन्यासकार भट्टराईको भनाइ थियो, ‘नभएको ऊर्जा पनि आफूमा सञ्चार भएको महसुस गरेँ’

इलामका इन्जिनियर सन्तोष श्रेष्ठ भने तन्नेरीवयमा साथीहरूसँग बसेर क्यासेट प्लेयर बजाउँदै नेपथ्यको गीत सुनेको क्षण सम्झना गर्दैथिए । ‘नेपथ्यका गीतमा सँगै बसेर रमाउने ती साथी अहिले कता गए थाहा छैन,’ सन्तोष थपिरहेका थिए, ‘तर, कन्सर्ट हेरिरहँदा भने एकैछिन भए पनि त्यो समय फर्केर आएको महसुस हुँदोरहेछ ।’

कन्सर्ट हेर्नकै लागि उपत्यकाको उत्तरपूर्वी कुनासम्म पुगेका दर्शकको भीडमा विदेशी अनुहार पनि उत्तिकै देखिन्थे । तिनैमध्ये एक वैवाहिक समारोहमा सरिक हुन इस्टोनियाबाट आएकी मारिया इभानोभो पनि थिइन् ।

‘मलाई मौलिक पहिचान बोकेका संगीतमा असाध्यै रुची छ,’ उनले भनिन्, ‘त्यसबाहेक यो कन्सर्टमा गाइएका गीत भित्री मनैबाट निस्केका आवाजजस्तो लागिरहेको छ ।’ अष्ट्रेलियाबाट अध्यनको लागि आएका जेम्स स्मिथ भने साथीहरूले यो कन्सर्टका बारेमा उल्लेख गरेपछि हेर्नआएको सुनाइरहेका थिए ।

कन्सर्टमा मुख्य गायक अमृत गुरुङले सँधैजस्तै नेपालको सुन्दरताको बयान गर्दै स्वदेशको भ्रमण गर्न दर्शकलाई प्रोत्साहित गरेका थिए । त्यसक्रममा उनले आफ्ना गीत यात्राकै क्रममा संकलन गरिएको जानकारी पनि दिएका थिए ।

‘बिहानैदेखि झरीले गर्दा यत्रो ठूलो आयोजना हुन लागेको कार्यक्रम अब के होला भनेर एकछिन आत्तिएका थियौं,’ स्थानीय आयोजक संस्था ‘ग्राउण्ड अफ इभेन्ट्स्’ का श्याम श्रेष्ठ भन्छन्, ‘तर, नेपथ्यसँगको हाम्रो पहिलो सहकार्य चिताएको भन्दा पनि भव्य प्रस्तुती र उपस्थितीका साथ सम्पन्न भएको छ ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?