
३१ चैत, काठमाडौं । सरकारले संघीय संसद्को वर्षे अधिवेशन बोलाउनेबारे छलफल थालेको छ ।
सरकारी अधिकारीहरूका अनुसार वैशाख पहिलो साताको अन्तिम वा वैशाख दोस्रो साताभित्र वर्षे अधिवेशन बोलाइसक्नेबारे परामर्श चलिरहेको छ ।
राष्ट्रिय स्तरका कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले आइतबार सभामुख देवराज घिमिरेसँग भेट गरेका थिए । उनीहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई समेत भेटेका थिए ।
संघीय निजामती सेवा ऐन छिटो ल्याउने माग गर्न पुगेका कर्मचारी नेताहरूसँग सभामुख घिमिरे र संसदीय समितिका सभापति खतिवडाले आफूहरू गम्भीर रहेको बताए । त्यसक्रममा संसदीय समितिका सभापति खतिवडाले सरकारले ७ वैशाख वरिपरि वर्षे अधिवेशन बोलाउनेबारे छलफल गरिरहेको जानकारी गराएका थिए ।
संसद् सचिवालयका अधिकारीहरूका अनुसार सरकारले वर्षे अधिवेशन बोलाउनेबारे सरकारले औपचारिक सुझाव लिएको छैन । तर, कहिलेसम्म अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भनेर अनौपचारिक रूपमा संसद् सचिवालयका अधिकारीहरूसँग सरकारका प्रतिनिधिहरूले राय लिएका छन् ।
वर्षे अधिवेशनलाई बजेट अधिवेशन समेत भनिन्छ । १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट संसद्मा प्रस्तुत गर्नुभन्दा १५ दिन अगाडि संसद्मा प्रि-बजेट छलफल गरिसक्नुपर्छ । प्रि-बजेट छलफलमा प्राप्त सुझाव समेतका आधारमा सरकारले बजेट ल्याउने विश्वास गरिन्छ ।
प्रि-बजेट छलफल सकिएपछि नीति तथा कार्यक्रम आउँछ । नीति तथा कार्यक्रम संसद्ले पास गरेपछि सरकारले संसद्मा बजेट ल्याउँछ । यस निम्ति वैशाख पहिलो साताभित्र वर्षे अधिवेशन बोलाउन उपयुक्त हुने राय संसद् सचिवालयका अधिकारीहरूको राय छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया 4