
३१ चैत, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको ६२ जनाले जग्गा धनीपुर्जा प्राप्त गरेका छन् ।
भूमि समस्या समाधान आयोग मकवानपुरले आइतबार बकैया पुगेर जग्गा धनीपुर्जा वितरण गरेको हो । दोस्रो चरणमा आइतबार बकैयाको ७ र ४ नम्बर वडाका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई पूजा प्रदान गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए ।
७ नम्बर वडाका ४३ जना भूमिहीन सुकुमबासी र ४ नम्बर वडाका १९ अव्यवस्थित बसोबासीहरू (गाउँ ब्लक) लाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए । ७ नम्बर वडाका २ जना भूमिहीन सुकुमबासीको परिवार सम्पर्कमा नआएका कारण वडा कार्यालयलाई जग्गा धनीपुर्जा उपलब्ध गराइएको सांगामीले बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनहरूलाई पुर्जा प्रदान गरेका थिए । आवास र कृषि प्रयोजनका लागि एक कठ्ठादेखि पाँच कठ्ठासम्मको जग्गा धनीपुर्जा प्रदान गरिएको उपलब्ध गराएको भूमि समस्या समाधान आयोग मकवानपुरले जनाएको छ ।
पछिल्लो पटक गठन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिले पहिलोपटक बकैयाबाट जग्गा धनीपुर्जा बाँडेको हो । बकैयामा यसअघि ६ साउन २०८० मा ५ नम्बर वडाका ११ जनालाई जग्गा धनीपुर्जा प्रदान गरिएको थियो । ११ जनालाई ३४० वर्ग मिटर क्षेत्रफलको जग्गाको पुर्जा दिइएको थियो ।
प्रतिक्रिया 4