+
+
Shares

चियामा झुत्तिँदै ‘जेन-जी’

पछिल्लो समय काठमाडौंमा ‘एक गल्ली तीन चिया पसल’ भन्दा फरक नपर्ने भइसकेको छ । प्रत्येक गल्लीमा अनेकथरी नाममा खुलेका चिया पसल बग्रेल्ती देख्न पाइन्छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ वैशाख १ गते २२:१७

१ वैशाख, काठमाडौं । ‘एक कप डढेको दूधको चिया, अनि अर्को कप मसला चिया ! जापानिज भाषाको ह्याङ उतार्नुपर्‍यो !’ ठूलो हाँसोले वातावरण गुञ्जायमान बन्यो ।

काठमाडौं बागबजारको एउटा कन्सल्टेन्सीमा जापानी भाषा पढेर बुद्धनगरको ‘फ्रेस बेक हाउस’ मा आएका सबिना र रञ्जुको चिया मगाउने ‘स्टाइल’ हो यो ।

एक घण्टाको भाषा कक्षा पढेर फर्किंदा फ्रेस बेक हाउसमा पसेर चिया पिउनु उनीहरूको दैनिकी हो ।

‘यहाँ बसेर एक कप चिया नपिई त कोठा जानै मन लाग्दैन,’ सबिनाले सुनाइन्, ‘मलाई डढेको दूधबाट बनेको चिया एकदमै मन पर्छ, रञ्जुलाई मसला चिया । चिया पिएपछि बल्ल मुड फ्रेस हुन्छ ।’

कैलाली घर भएका उनीहरू दुवै जना जापान जाने तयारीमा छन् । पढेर आएपछि २ घण्टा समय बिताउने थलो चिया पसललाई बनाएको रञ्जु बताउँछिन् ।

‘हाम्रा लागि ठूला रेस्टुरेन्टभन्दा यस्तै साना चिया पसल उपयुक्त छन्, सस्तो पनि मिठो पनि,’ उनले भनिन्, ‘चियाको चुस्कीसँगै गफ पनि मिठामिठा, हाहा..!’

दुवैजना आफूहरू चियाको पारखी भएको बताउँछन् । चिया पिउनकै लागि यी दुई साथीले उपत्यकाका तीन वटै जिल्ला चाहारेको सुनाए ।

‘हाम्रो शरीरमा रगतभन्दा बढी त चिया नै बग्छ होला,’ उनीहरूले ठट्यौली पारामा सुनाए, ‘तीन दिनअघि त हामी ललितपुरको ‘चिया माया’ मा पुगेर गुँढको चियाको स्वाद लिएर आएको ।’

‘एक गल्ली तीन चिया पसल’

बेकरीसँगै चोपेर खाने केही तरल त चाहियो भनेपछि उनले चिया पनि बेच्ने निर्णय गरेकी हुन् । चियाले नै यति धेरै ग्राहक बनाउला भन्ने चाहिँ उनले सोचेकी थिइनन्

पछिल्लो समय काठमाडौंमा ‘एक गल्ली तीन चिया पसल’ भन्दा फरक नपर्ने भइसकेको छ । प्रत्येक गल्लीमा अनेकथरी नाममा खुलेका चिया पसल बग्रेल्ती देख्न पाइन्छ ।

केही वर्षयता चिया पारखीको संख्या ह्वात्तै बढेको देख्न पाइन्छ । यस्तो संख्यामा उदीयमान पुस्ता अर्थात् ‘जेन–जी’ पुस्ता हावी भएको देखिन्छ । काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा चियामात्र बेच्न खुलेको पसल संख्या पनि हजारौं छ ।

चिया पसलसँगै चिया पारखीको संख्या हेर्दा काठमाडौं उपत्यकामा ‘चिया कल्चर’ तीव्र गतिमा बढ्दै गएको देख्न सकिन्छ । अहिले त ‘जेन–जी’ पुस्ता पनि चियामा झुत्ती खेलिरहेको देखिनु नौलो हुन छाडिसक्यो ।

भक्तपुर बालकोटकी रिता न्यौपानेले बुद्धनगरमा फ्रेस बेक हाउस सञ्चालन गरेको ४ वर्ष भयो । सुरुमा उनले चिया पसल सञ्चालन गर्दा वरिपरि चिया मात्रै बेच्ने पसल थिएनन् । अहिले धेरै सञ्चालनमा आएका छन् ।

रिता आफैं पनि चियाप्रेमी भएको सुनाउँछिन् । उनले सुरुमा सञ्चालन गरेको पसल बेकरी आइटमको थियो । तर, बेकरीसँगै चोपेर खाने केही तरल त चाहियो भनेपछि उनले चिया पनि बेच्ने निर्णय गरेकी हुन् । चियाले नै यति धेरै ग्राहक बनाउला भन्ने चाहिँ उनले सोचेकी थिइनन् ।

‘सुरुमा त मलाई चिया बेच्ने आइडिया थिएन, जसरी घरमा पकाइन्छ त्यसरी नै पकाएर बेचियो,’ रिता सुनाउँछिन्, ‘पछि पैसा लिने नै भएपछि कस्टमरलाई मिठै चिया खुवाउँ न त भनेर ल्वाङ, सुकुमेल पनि एड गरियो । त्यही स्वाद नै कस्टरमरको फेबरेट बन्यो ।’

अहिलेसम्म आइपुग्दा अफिसमा काम गर्नेहरू धेरै उनको चियाका नियमित ग्राहक (रेगुलर कस्टमर) हुन् । फ्रेस बेक हाउसको चिया मन पराउने ग्राहक संख्या बढ्दै जान थालेपछि उनले तीन थरी स्वादमा चिया बनाउने भनेर आइडिया निकालिन् ।

‘गाउँघरतिर दूध तताउँदै गर्दा धेरै डढ्यो भने त्यसको छुट्टै फ्लेभर (स्वाद) आउँछ, मैले पनि त्यस्तै गरी दूधलाई डढाएर त्यसको स्वादको चिया बनाएँ, त्यो चियाको फ्लेभर कस्टमरले औधी मन पराए,’ रिताले सुनाइन्, ‘डढेको दूधबाट बनेको चिया एकदमै फेमस भयो, अरू दुई फ्लेभरमा भने मसला चिया र नर्मल चिया समावेश छन् ।’

अहिले गर्मी सुरु भए पनि चिया पिउने ग्राहक नघटेको उनी बताउँछिन् । चिया पारखीले जाडो या गर्मी भन्ने मौसम ख्याल नराख्ने उनको अनुभव छ । उनको चिया पसल किङ्स कलेजका विद्यार्थीका लागि उपयुक्त ‘जंक्सन’ पनि हो ।

गौतमको पसलमा १० थरीका चियाको स्वाद चाख्न पाइन्छ । जसको मूल्य ३० देखि ७५ रुपैयाँसम्म पर्छ । दैनिक १ सय जना सुरुप्प चिया जिन्दगीमा चिया पिउन आउने गरेको सञ्चालक गौतम बताउँछन्

रिताको पसलमा पाइने चियाको मूल्य ३५ रुपैयाँबाट सुरु हुन्छ । उनका नियमित ग्राहक दैनिक ४० देखि ५० जना छन् । उनले दैनिक कम्तीमा १ सय कप र बढीमा चिया २ सय कपसम्म चिया बेच्ने गरेकी छिन् ।

‘अहिले पसलमा सबै उमेर समूहका चियाप्रेमीको उपस्थिति देख्न पाइन्छ,’ उनी सुनाउँछिन्, ‘यहाँ आउने ग्राहकमा एसईई सकाएका विद्यार्थीदेखि लिएर न्यायाधीशसम्म हुनुहुन्छ । उहाँहरू सबैले एप्रिसिएट गर्नुहुन्छ ।’

चिया जिन्दगी

भक्तपुर लोकन्थली करिडोरमा ‘सुरुप्प चिया जिन्दगी’ मा भेटिएका अभिरभव दुबे आफूलाई चियाको अम्मली भन्न रुचाउँछन् । उनको चिया गन्तव्य सुरुप्प चिया जिन्दगीमा उनी दिनमा २–३ पटक चिया पिउन पुग्छन् । उनको ४ जना साथीको समूह छ । चियाको तलतल लाग्यो कि उनीहरू त्यहाँ पुगिहाल्छन् । अभिरभवलाई भने त्यहाँको दूध हालेको मसला चियाले खुबै तान्ने गरेको छ । उनका अरू साथी गुँढको चिया खान मन पराउँछन् ।

‘म त यहाँको मसला चियासँगै पसलको सेवाबाट पनि प्रभावित छु,’ उनी सुनाउँछन्, ‘म एक्लै पनि चिया पिउन आउँछु । यहाँ म मसला चियासँग दिनै पनि बिताइदिन सक्छु । साथीभाइसँग आउनु परे पनि मेरो रोजाइ यहीँ हुन्छ । गफगाफको वातावरण पनि छ ।’

भक्तपुर बालकोटका दीपक गौतमले डेढ वर्षअघि सुरुप्प चिया जिन्दगी नामक पसल सञ्चालनमा ल्याएका हुन् । उनी आफैं चिया पारखी भएको हुँदा उनलाई ‘जहिले एउटा चिया पसल त म पनि खोल्छु’ भन्ने लागिरहन्थ्यो ।

‘म आफैं चियाप्रेमी, साथीभाइ भेटे चिया, अफिसमा पनि चिया, दैनिक १०–१२ कप चिया पिइन्थ्यो,’ उनी सुनाउँछन्, ‘चियाको पैसा तिर्दै गर्दा कमाइ त चिया नै बेचेर हुन्छ कि क्या हो भन्ने लाग्थ्यो, यही हुटहुटीले मैले पनि चिया पसल खोलिहाल्ने निर्णय गरेँ । अहिले मेरो चिया पसल गजबै चलिरहेको छ ।’

उनका अनुसार चिया पसलमा राजनीतिक गफ छाँट्ने, माया पिरतीका गफ गर्ने, चुट्किला सुनाउने, लुँडो खेल्ने लगायत वर्गको जमघट हुने गर्छ । दैनिक तनाव भुलाउन चियाका चुस्की लिनेहरू पनि प्रशस्तै छन् ।

३. सञ्चालक गुप्ता चियामा पनि मट्का चियालाई अलि बढी प्राथमिकता दिएको बताउँछन् । त्यहाँ १० थरी स्वादका चियाको लाभ चियाप्रेमीले लिन सक्छन्

उनका थरीथरी स्वादका चियाका दैनिक ग्राहक विशेषगरी विद्यार्थी, शिक्षक, पत्रकार, वकिल, नर्स, डाक्टर, इन्जिनियर लगायत छन् ।

‘दिनभरि काम गर्दा मान्छेलाई एक खाले मोनोटोनस नै हुन्छ, कामको ह्याङ उतार्ने उपयुक्त थलो भनेको चिया पसल हो,’ गौतम सुनाउँछन्, ‘रमाइलो वातावरणमा चियाको चुस्कीसँगै मनका कुरा पोख्ने उपयुक्त थलोका रूपमा अधिकांशले चिया पसल रोज्ने गरेको देख्छु म ।’

गौतमको पसलमा १० थरीका चियाको स्वाद चाख्न पाइन्छ । जसको मूल्य ३० देखि ७५ रुपैयाँसम्म पर्छ । दैनिक १ सय जना सुरुप्प चिया जिन्दगीमा चिया पिउन आउने गरेको सञ्चालक गौतम बताउँछन् ।

पछिल्लो ५–७ वर्षयता काठमाडौं उपत्यकामा चिया ‘कल्चर’ बढेको सुरुप्प चिया जिन्दगीका सञ्चालक गौतम बताउँछन् । उनका अनुसार पहिले जविकोपार्जन गर्न चिया व्यापार गरिने भए पनि पछिल्लो समय सोखका लागि पनि खोल्ने गरिएको छ ।

‘अहिले उपत्यकामा चिया पसल खोल्ने ट्रेन्ड नै चलेजस्तो देखिएको छ,’ उनी भन्छन्, ‘चिया व्यवसाय गरेर यसमै जमिरहेका सफल उदाहरण पनि प्रशस्तै छन्, थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सकिने हुँदा धेरै व्यवसायी ग्राहक तान्ने विभिन्न आइडिया लगाएर यसमा होमिएको पनि देखिन्छ । सिको गरेर यही व्यवसायमा लाग्नेहरू पनि बढ्दै गएका छन् ।’

दैनिक सयौं ग्राहक, व्यापार हुँदै अपार

पाँच वर्षअघि सञ्चालनमा आएको ‘देशी टी हाउस’ मा पनि चिया पिउन आउने ग्राहकको चाप नै हुन्छ । देशी टी हाउस सुरुमा नक्सालमा खुलेको थियो । अहिले त्यसको शाखा बुद्धनगरमा पनि सञ्चालनमा आएको छ ।

देशी टी हाउसमा दैनिक १ सय बढी ग्राहक चिया पिउनकै लागि आउने सञ्चालक कविर गुप्ता बताउँछन् । देशी टी हाउसले दैनिक २ सय कप बढी चिया बेच्दै आएको उनी बताउँछन् ।

‘अहिलेको भागदौडपूर्ण जिन्दगीमा मान्छेलाई मानसिक र शारीरिक दुवै शान्ति चाहिएको छ,’ उनी भन्छन्, ‘हामीले शान्त वातावरणमा फरक स्वादको चिया पस्किने जमर्को गरेका छौं ।’

सञ्चालक गुप्ता चियामा पनि मट्का चियालाई अलि बढी प्राथमिकता दिएको बताउँछन् । त्यहाँ १० थरी स्वादका चियाको लाभ चियाप्रेमीले लिन सक्छन् ।

‘यहाँको स्पेसल भनेको मट्का चिया नै हो,’ उनी भन्छन्, ‘हामीले फेरि केही नयाँ गरौं न भन्ने हिसाबले तन्दुरी चिया पनि ल्याएका छौं ।’

अहिले हरेक उमेर समूहका व्यक्ति रोजाइमा भिन्नभिन्न स्वादको चिया पर्ने गरेको छ । चिया पसल पनि चोक–गल्लीपिच्छे छन् । तर, गुप्ता भने प्रतिस्पर्धी बजारसँग भन्दा पनि ग्राहकको टेस्ट र फ्लेभरमा ध्यान दिएको बताउँछन् ।

‘५ वर्षमा धेरै उतारचढाव देखियो, कहिले तल झर्ने, कहिले माथि जाने त व्यवसायमा भई नै हाल्छ, हाम्रो चियाको रेगुलर कस्टमर हुनुहुन्छ,’ उनी भन्छन्, ‘हाम्रो पसलको चियाको स्वाद मन पराउने व्यक्ति अन्त जानुहुन्न, त्यसैले हामी ढुक्क छौं ।’

देशी टी हाउसले ग्राहकलाई चियाको चुस्की लिँदै विभिन्न पुस्तक पढ्न चाहनेका लागि पुस्तकहरूको पनि व्यवस्था गरेको छ । त्यहाँ बसेर ग्राहकले चियासँगै पुस्तकको पनि मजा लिन सक्नेछन् ।

बागबजार हुँदै बुद्धनगर

चियाका नाममा मट्का चिया, मट्का कोकोनट चिया, मट्का मसला चिया, आलमन्ड टी, केसर चिया, सखर दूध चिया, कालो चिया, इलाइँची दूध चिया, अदुवा दूध चिया, चक्लेट चिया, कटिङ चिया, मसला दूध चिया लगायत छन्

बुद्धनगरमै ६–७ महिनाअघि मात्रै अर्को चिया पसल ‘चाय वो क्लक’ सञ्चालनमा आएको छ । डोटीकी अनु ठकुरीले ५–६ वर्षअघि बागबजारमा चाय वो क्लक सुरुवात गरेकी थिइन् । त्यसकै शाखा अहिले बुद्धनगरमा ल्याइएको उनी बताउँछिन् ।

‘बागबजारमा दैनिक चिया पिउने संख्या २ सयदेखि २ सय ५० सम्म हुन्छ, त्यहाँ विभिन्न अफिसदेखि धेरै पसल सञ्चालन हुने ठाउँ हो, मान्छे कामले थकित भएपछि चिया पिएर फ्रेस हुन आउँछन्,’ अनु सुनाउँछिन्, ‘अहिले यहाँ पनि दैनिक ६० देखि ७० ग्राहकलाई हामीले अनेक स्वादका चिया पिलाइरहेका छौं ।’

डोटीबाट पढाइको सिलसिलामा काठमाडौं पसेकी अनुले सुरुवाती दिनमा चिया पसलमा काम गरेकी थिइन् । त्यहाँ काम गर्दै जाँदा उनलाई आफ्नै चिया पसल सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उनले बागबजारमा धेरै थरी र स्वादका चिया आइटम राखेर सुरु गरेको सुनाउँछिन् ।

बागबजारको चिया पसलले चिया पारखीहरूको मन जित्न सफल भएपछि बुद्धनगरमा पनि शाखा सञ्चालनमा ल्याएको उनले बताइन् ।

होटल–रेस्टुरेन्टका चियाको विकल्प गन्तव्य

काठमाडौं उपत्यकाका गल्ली–गल्ली र टोल–टोलमा सञ्चालनमा रहेका चिया पसल होटल र रेस्टुरेन्टमा पाइने चियाका विकल्प गन्तव्य बन्दै गएका छन् ।

नाम चलेका होटल र रेस्टुरेन्टमा चिया पिउनु सर्वसाधारण मात्र होइन, जेन–जी पुस्तालाई पनि एक पटक सोच्नैपर्ने हुन्छ ।

त्यही भएर पछिल्लो समय खुलेका थरीथरी नामका चिया पसलहरू जेन–जी पुस्ता र सर्वसाधारण चिया पारखीको चौतारी बनिरहेका छन् । गफगाफको थलो, भेटघाट, मिटिङ, बसिबियाँलोका लागि चिया पसल उपयुक्त गन्तव्य बन्दै गएका छन् ।

काठमाडौंमा अनेका नामका चिया

काठमाडौं उपत्यकामा खुलेका चिया पसलका अनेक नाम छन् । तिनै अनेक नामका कारण चिया पारखीहरू आकर्षित भएका देखिन्छन् । चिया पसलमा मौलिक संस्कृति झल्किने आकृति, प्रेरक भनाइ, शान्त वातावरण, लोप हुन लागेका परम्परागत वस्तु लगायतले पनि मान्छेको ध्यान तान्ने गरेको छ ।

कतै भने माटोकै भाँडामा चिया पकाउने, माटोकै गिलासमा खान दिने, कतै बाँसका भाँडामा पकाउने, बाँसकै कप तथा गिलासमा खान दिने, कतै डोकाडाला, नाङ्ला, भकारी राख्नेसम्म पनि गरिएको देख्न सकिन्छ ।

कुनै चिया पसलमा भने गाउँघर सम्झाउने आकृति पनि कोरिएका देख्न सकिन्छ । यसकै सेरोफेरोमा बसेर चिया पारखीहरूले आनन्द लिने गरेका छन् ।

चियाकै लागि मात्र भनेर खुलेका पसलका आफ्नै खाले स्वाद र विशेषता छन् । चिया पसलका नाम कटिङ, चियावाला, चियामान्डु, मट्का चिया, चिया घर, चिया माया, चिया चौतारी, चिया बारी, दाह्री भाइको चिया, चिया अड्डा, बेरोजगार चिया, चिया चौकी, चिया सागर लगायत छन् ।

फरक–फरक स्वाद

प्रत्येक चिया पसलका आफ्नै मेनु छन् । जसमा चियाका स्वाद र नाम उल्लेख गरिएका छन् । चियाका नाममा मट्का चिया, मट्का कोकोनट चिया, मट्का मसला चिया, आलमन्ड टी, केसर चिया, सखर दूध चिया, कालो चिया, इलाइँची दूध चिया, अदुवा दूध चिया, चक्लेट चिया, कटिङ चिया, मसला दूध चिया लगायत छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले

  

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?