१ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज अर्को डबल हेडर डे । आज पनि लिग चरणका दुई खेल हुँदैछन् र यस सिजनको यो तेस्रो तथा अन्तिम डबल हेडर हुनेछ ।
काठमाडौं रेजर्सले एफसी चितवनसँग प्रतिस्पर्धा गर्नेछ भने धनगढी एफसी र झापा एफसीबीच खेल हुनेछ । यसलाई टपको दुई टिम भर्सेस बटमको दुई टिम भन्न सकिनेछ । धनगढी दोस्रो र चितवन तेस्रो स्थानमा छ भने काठमाडौं पाँचौ र झापा छैटौं स्थानमा छ ।
समान ४ खेलबाट धनगढीको ८ र चितवनको ७ अंक छ । ५ खेल खेलिसकेको काठमाडौंको ५ अंक छ भने ४ खेलबाट झापाको ४ अंक छ ।
आजको खेलमा धनगढी र चितवनको नजर प्लेअफतिर हुनेछ भने काठमाडौं र झापाका लागि शीर्ष चारको होड कायम राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ । त्यसैले आजको दुवै खेल चारै टिम र बाँकी एक टिमका लागि पनि महत्वपूर्ण हुनेछ ।
टेबल टपर ललितपुर सिटी एफसी यसअघि नै प्लेअफमा पुगिसकेको छ भने बुटवल लुम्बिनीको प्लेअफ होड समाप्त भइसकेको छ । ललितपुर ५ खेलमा ११ अंक जोडेर शीर्ष स्थानमा छ भने समान खेलबाट १ अंकसहित बुटवल पुछारमा छ ।
आज खेल्ने चार टिम बाहेक पोखरा थण्डर्सको नजर पनि आजको खेलमा हुनेछ ।
पहिलो संस्करणको विजेता काठमाडौं लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछ । यसअघि दुवै संस्रकणमा प्लेअफ पुगेको काठमाडौंका लागि लगातार तेस्रोपटक प्लेअफ सम्भावना कायम राख्न आज चितवनलाई जित्नैपर्ने छ भने बाँकी खेलको नतिजा पनि कुर्नुपर्नेछ ।
काठमाडौंले यस सिजन ५ मध्ये जम्मा १ खेल मात्र जितेको छ भने २ खेल बराबरी खेल्दा २ खेलमा पराजित भएको छ । आजको खेलमा हारले भने काठमाडौंको प्लेअफ यात्रा सकिनेछ । यस्तै आजै हुने दोस्रो खेलमा झापा विजयी भए काठमाडौं हार वा बराबरी दुवै नतिजामा बाहिरिनेछ ।
उता यस सिजन उत्कृष्ट प्रदर्शन गर्नका बावजुत पनि पछिल्लो दुई खेलमा सम्भावित ६ मध्ये १ अंक मात्र जोडेपछि चितवनलाई पनि आजको खेल महत्वपूर्ण छ । चितवनले सुरुवाती दुई खेलमा पोखरा र बुटवल लुम्बिनीलाई पराजित गरेको थियो । तर, त्यसपछि झापासँग १-१ को बराबरीमा रोकियो भने ललितपुर सिटीसँग पराजित भयो ।
चितवनले अन्तिम खेल धनगढी एफसीसँग खेल्नुपर्नेछ । त्यसैले आजको खेलमा जित हात पार्न सके चितवनले अन्तिम खेलअघि नै प्लेअफमा स्थान पक्का गर्नेछ ।
यस्तै साँझ ६ बजे धनगढी र झापाबीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुरसँगै धनगढी र झापा दुवै टिम यस सिजन अपराजित छन् । तर धनगढी र झापाको स्थिति भने फरक छ । दुई पटकको उपविजेता धनगढी प्लेअफको नजिक छ । उसले बाँकी दुई खेलमा १ अंक जोडे पनि प्लेअफमा स्थान पक्का गर्नेछ । तर, झापाका लागि भने खेल महत्वपूर्ण छ । यदि आजको पहिलो खेलमा चितवनले काठमाडौंलाई पराजित गरेमा झापाका लागि धनगढीलाई हराउनैपर्ने दबाब बढ्नेछ ।
झापाले धनगढीलाई हराउन सक्ने प्लेअफ सम्भावना बढ्नेछ । बराबरी वा हारले भने सम्भावना कमजोर बन्नेछ । झापाले अन्तिम खेलमा प्लेअफ पुगिसकेको साविक विजेता ललितपुर सिटीसँग खेल्नेछ ।
प्रतिक्रिया 4