
१ वैशाख, काठमाडौं । २०८१ सालमा समग्र सेयर बजारको परिसूचक नेप्से ३१.५ प्रतिशत बढेको छ । गत वर्ष २ हजार २३ अंकमा रहेको बजार २०८२ सालको सुरुवाती दिनमा २ हजार ६६२ अंकमा छ ।
२०८१ को साउन ३१ गते बजार ३ हजार अंकमा पुगेको थियो । तर बजारले यसअघि २०७८ भदौ २ गते बनाएको रेकर्ड तोड्न सकेको छैन । सो दिन बजारले ३१९८ अंकको उच्चतम रेकर्ड बनाएको थियो । समग्रमा लामो अवधिलाई हेर्दा बजार ‘बुलिस’ यात्रामै देखिएको छ भने अल्पकालीन अवधिमा उतारचढाव र गिरावट बढी देखिएको छ ।
बजार जम्मा ३१ प्रतिशत बढ्दा गत वर्ष केही कम्पनीको मूल्य ३ सय प्रतिशत बढेको छ । तर मूल्य अचाक्ली बढेका धेरै कम्पनीको वित्तीय स्थिति कमजोर छ । कमजोर धरातलमा बढेका कम्पनीमा जोखिम पनि उत्तिकै बढी छ ।
खासगरी वित्तीय स्थिति कमजोर रहेका र लोक्याप विकास बैंकको सेयर मूल्य गत वर्ष उच्च दरले बढ्यो । अहिले पनि यी कम्पनीलाई माथि नै टिकाउने प्रयास भइरहेको देखिन्छ । गत वर्ष ८ कम्पनीको मूल्य २ सय प्रतिशतभन्दा धेरै बढ्यो ।
२०८१ मा मूल्य धेरै बढेका १० कम्पनी
कम्पनी | अन्तिम समायोजित मूल्य | वृद्धिदर प्रतिशत |
नारायणी डेभलपमेन्ट बैंक | १७९८.१२ | ३३२.४५ |
कर्पोरेट डेभलपमेन्ट बैंक | १८१५.८४ | ३२०.६३ |
सीईडीबी होल्डिङ्स | २५५५.४६ | २६०.९२ |
एनआरएन इन्फ्रास्ट्रक्चर | १७६३.४७ | २५८.५८ |
ग्रीन डेभलपमेन्ट बैंक | १२३७.३८ | २४४.८८ |
सप्तकोशी विकास बैंक | १०१७.८५ | २३३.७२ |
आत्मनिर्भर लघुवित्त | ५४४२.०० | २२२.०२ |
सिन्धु विकास बैंक | १०९१.७९ | २०६.६८ |
उपकार लघुवित्त | ३२२७.७९ | १३९.९५ |
कुथेली बुखरी स्मल हाइड्रोपावर | २१८९.०८ | १३३.१५ |
कस्ता छन् मूल्य धेरै बढेका कम्पनी
सबैभन्दा धेरै मूल्य बढेको नारायणी विकास बैंक नोक्सानीमै छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नोक्सानी ५२ लाख १३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ जम्मा २० रुपैयाँ ९४ पैसा छ । करिब १८ सय मूल्य रहेको यो कम्पनीमा लगानी धेरै जोखिमपूर्ण छ ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले पुस मसान्तसम्म १ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ तर रिटर्न अन इक्वीटी जम्मा २ रुपैयाँ ८० पैसा छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९ पैसा छ । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ छ ।
सीईडीबी होल्डिङ्स लगानी समूहको कम्पनी हो । गत पुस मसान्तसम्म कम्पनीको खुद नाफा २० करोड ९४ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ६ पैसा छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरले गत पुस मसान्तसम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा छ । प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १० पैसा छ ।
ग्रिन डेभलपमेन्ट बैंक चालु आवमा पुस मसान्तसम्म ८७ लाख रुपैयाँ नाफामा छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २४ पैसा छ ।
अर्को सप्तकोशी विकास बैंक पुस मसान्तसम्म २ करोड ९९ लाख रुपैयाँ नोक्सानीमै छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १७ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ जम्मा ७६ रुपैयाँ ९३ पैसा छ ।
आत्मनिर्भर लघुवित्तले गत आवको पहिलो ६ महिनामा ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ३४० रुपैयाँ छ ।
सिन्धु विकास बैंकले गत आवको दोस्रो त्रैमाससम्म ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४७ पैसा छ । प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ छ ।
उपकार लघुवित्तले पुस मसान्तसम्म १ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावर सेक्टरकै महँगो कम्पनी हो । यसले गत आवको दोस्रो त्रैमाससम्म ८८ लाख ४६ हजार खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ ।
प्रतिक्रिया 4