
ढोका छुँदा करेन्ट लाग्ने, टेबुलबाट मोबाइल उठाउँदा करेन्ट लाग्ने अनि कसैको काँधमा हात लगाउँदा र हात मिलाउँदा समेत करेन्ट लाग्ने ।
सायद कसैले तपाईंलाई भन्दो हो, कस्तो करेन्ट लगाउने खालको छौ ?
यस्तो कुरा सायद हाँसीमजाकमै भनिन्छ । तर, आखिर कसैलाई छुँदा किन करेन्ट लाग्दछ ? भन्ने प्रश्न हामी सबैको मनमा उठ्दछ।
यो प्रश्नको एउटा मात्रै जवाफ छ स्टाटिक चार्ज वा स्टाटिक विद्युत ।
कुनै सामान छुँदा वा कोही मानिससँग हात मिलाउँदा करेन्ट लागेको महसुस हुन्छ भने त्यसका लागि त्यही स्टाटिक चार्ज जिम्मेवार छ । आखिर यो स्टाटिक चार्ज के हो ?
वास्तवमा यो तथ्यको रहस्य थाहा पाउनुअघि हामीले बच्चा हुँदाको बेला गर्ने बेलुनको जादुको याद गर्नुहोस् । त्यसमा हामीले बेलुनलाई टाउकोमा रगडेर पछि त्यसलाई भित्तोमा टाँसेर अड्याउँथ्यौं । त्यसमा जुन विज्ञानले काम गरेको छ, हामीलाई लाग्ने झट्कामा त्यही विज्ञान लुकेको छ ।
स्टाटिक चार्ज के हो ?
कुनै पनि सामान, वस्तु वा चिजको सतहमा उत्पादन हुने विद्युतीय चार्जलाई स्टेटिक चार्ज भनिन्छ । यसको अर्थ इलेक्ट्रोनको स्थानान्तरण हो । यो तब पैदा हुन्छ जब इलेक्ट्रोन कुनै एउटा पदार्थबाट अर्को पदार्थमा आवतजावत गर्दछ। दुई सतहको घस्रण वा कसैको सम्पर्कमा आउँदा यस्तो हुन्छ ।
यदि हामीले परमाणुको संरचना हेर्यौ भने इलेक्ट्रोन नै किन स्थानान्तरण हुन्छ भन्ने कुरा बुझ्न सजिलो हुन्छ ।
वास्तवमा इलेक्ट्रोन अर्थात ऋणात्मक चार्ज परमाणुको बाहिरी घेरामा घुम्दछ । यस्तोमा यदि इलेक्ट्रोनलाई पर्याप्त मात्रामा ऊर्जा प्राप्त भयो भने सो इलेक्ट्रोन उक्त परमाणुबाट बाहिर निस्किन्छ र अर्को वस्तुमा स्थानान्तरण हुन्छ ।
जबकि प्रोटोन अर्थात धनात्मक चार्ज परमाणुको न्युक्लियस अर्थात केन्द्रमा मजबुत ढंगले बाँधिएको हुन्छ। त्यसैले यो सजिलैसँग यताउता जान सक्दैन।
जब इलेक्ट्रोन कुनै परमाणुबाट बाहिर निस्किएर जान्छ तब त्यो परमाणु न्युट्रल रहन सक्दैन । किनकि त्यसबेला उसमा ऋणात्मक चार्जको तुलनामा धनात्मक चार्ज धेरै हुन्छ ।
बेलुनवाला जादुबाट यो कुरो बुझ्न सकिन्छ। जब हामी टाउकोमा बेलुन रगड्छौं तब कपाल धनात्मक रुपमा चार्ज हुन्छ र बेलुन ऋणात्मक रुपमा चार्ज हुन्छ। त्यसपछि जब तपाईंले बेलुनलाई आफ्नो कपालको नजिक ल्याउनुहुन्छ वा टाढा लैजान थाल्नुहुन्छ भने त्यसबेला कपाल र बेलुन एक अर्का तर्फ आकर्षित भइरहेको देख्न सकिन्छ ।
विज्ञका अनुसार सुक्खा मौसममा परमाणुसँग टाँसिएका इलेक्ट्रोनलाई निकै धेरै ऊर्जा प्राप्त हुन्छ र ती इलेक्ट्रोन कुनै पनि चिजको सतहमा माथिपट्टि जम्मा भएर बस्दछन । जब ती इलेक्ट्रोनहरू सतह रगड्दा वा सम्पर्कमा आउँदाका बखत एउटा वस्तुबाट अर्को वस्तुमा स्थानान्तरण हुन्छन तब त्यसबेला झट्का लाग्दछ ।
स्टाटिक चार्जका तीनवटा कारण हुनसक्छन्
१. घश्रण : जब दुईवटा वस्तु आपसमा रगडिन्छ तब इलेक्ट्रोनहरु एउटाबाट अर्कोमा स्थान्तरण हुन्छन जसबाट चार्ज असन्तुलन पैदा हुन्छ।
२. सम्पर्क : दुईवटा वस्तुहरूलाई एकअर्काको सम्पर्कमा ल्याउँदा पनि चार्ज स्थानान्तरण हुन सक्छ।
३ इन्डक्सन : कुनै चार्जयुक्त वस्तु सिधै सम्पर्कमा नआउँदा समेत नजिकको अर्को वस्तुमा चार्ज पैदा गर्न सक्छ।
यस्तो चार्जलाई किन स्टाटिक चार्ज भनिन्छ ?
वैज्ञानिकका अनुसार यस्तो चार्जलाई स्टेटिक चार्ज यसकारण भनिन्छ किनकि यो यताउति सर्दैन । हावा जब निकै सुक्खा हुन्छ र गर्मी हुन्छ, त्यसबेला इलेक्ट्रोनलाई पर्याप्त ऊर्जा प्राप्त हुन्छ। जसका कारण त्यो सतहमा आउँछ। त्यस्तो इलेक्ट्रोन सतहलाई छोडेर जान त सक्दैन तर त्यहाँ एकै ठाउँमा जम्मा भएर बस्दछ। त्यसपछि जब त्यो सतह रगडिन्छ वा अर्को सतहसँग त्यो सम्पर्कमा आउँछ तब त्यो एक ठाउँबाट अर्को ठाउँमा जान्छ जसलाई हामी स्टेटिक चार्ज भनिन्छ ।
अब प्रश्न उठ्छ आखिर झट्का किन लाग्छ ?
वास्तवमा जब हामीले ढोका छुन्छौं, कपडा छुन्छौं वा हात मिलाउँछौं त्यसबेला हाम्रो शरीरमा अतिरिक्त चार्ज प्रवेश गर्दछ। त्यो चार्ज नै झट्काको कारण बन्दछ। चार्ज ट्रान्सफरका कारणले यस्तो झट्का महसुस हुन्छ ।
स्टेटिक चार्ज कुन मौसममा धेरै हुन्छ ?
वर्षाको मौसममा बिजुलीको स्विचमा हात लगाउनुभन्दा पहिले हामीलाई कतै त्यसलाई छुँदा करेन्ट पो लाग्छ कि भन्ने डर हुन्छ । के बिजुलीको स्वीच छुँदा लाग्ने झट्का र गर्मीमा विभिन्न चिज छुँदा लाग्ने झट्का एउटै हो ? के स्टेटिक करेन्टको सम्बन्ध वर्षाको मौसमसँग छ ? यसको जवाफ हुन्छ, छैन ।
वास्तवमा वर्षाको मौसममा स्टेटिक चार्जको सम्भावना निकै कम हुन्छ। जब हावा निकै सुष्क हुन्छ तब स्टाटिक चार्ज धेरै पैदा हुन्छ। विज्ञका अनुसार स्टेटिक चार्जको सम्भावना सुक्खा मौसममा सदैव धेरै नै हुन्छ। तर, जब हावामा आद्रता धेरै हुन्छ स्टेटिक चार्जको असर धेरै देखिंदैन । यस्तो मौसममा कुनै वस्तुमा आद्रताको एउटा पत्र बन्दछ र त्यहाँबाट चार्ज लिक भएर जान्छ । जसका कारण स्टेटिक चार्ज बन्ने अवसर नै पाउँदैन ।
वर्षाको मौसममा, ठन्डी मौसममा वा कुहिरो लागेको समयमा स्टेटिक चार्ज निकै कम हुन्छ। र यसका लागि हावा शुष्क हुनु निकै आवश्यक हुन्छ।
स्टेटिक चार्जबाट बच्न के गर्ने ?
अहिले गर्मीको मौसम छ । यस्तोमा स्टेटिक चार्ज ले अझै केही महिना हामीलाई दुःख दिनेवाला छ । यस्तोमा कुनै काइदा अपनाएर यस्तो झट्काबाट बच्न सकिन्छ त ?
विज्ञहरुका अनुसार यस्तो स्टेटिक चार्जको झट्काबाट बच्नका निम्ति हामीले केही उपाय अपनाउन सकिन्छ ।
जस्तै, आफ्नो छालालाई धेरै सुख्खा हुनबाट बचाउनु । यसका लागि पर्याप्त मात्रामा पानी पिउनुहोस् ताकि शरीरमा डिहाइड्रेसन नहोस् । छालालाई सुक्खा हुनबाट बँचाउनको निम्ति मोइस्चराइजरको प्रयोग पनि गर्न सक्नुहुन्छ।
कतिपय मानिसहरू स्टेटिक चार्जको झट्काबाट बँच्नका निम्ति निकै धेरै केरा खाने गर्दछन् । यो वास्तवमा सही तरिका हो । किनकि केरामा पानीको मात्रा धेरै हुन्छ र त्यसका कारण शरीरमा पानीको आपूर्ति पर्याप्त हुन्छ। केरामा पानीका अतिरिक्त पोटासियम पनि हुन्छ जुन महत्त्वपूर्ण इलेक्ट्रोलाइट हो।
स्टाटिक झट्काबाट बँच्नका लागि हामीले लगाउने कपडामा पनि ध्यान दिनुपर्छ । तपाईंले यस्तो कपडा लगाउनुहोस जसमा धेरै विद्युत चार्ज पैदा नहोस् । सिन्थेटिक फाइबरको तुलनामा कटन वा सिल्कका कपडा लगाउँदा स्टेटिक चार्जको झट्का महसुस हुने सम्भावना कम हुन्छ।
अब यहाँनेर तपाईंको मनमा एउटा प्रश्न उठ्न सक्छ, के स्टेटिक चार्जका कारण लाग्ने झट्का मानिसको शरीरका लागि खतरनाक साबित हुन सक्छ ?
विज्ञका अनुसार आम रुपमा स्टाटिक चार्जबाट उत्पन्न हुने झट्का हानिकारक हुँदैन। तर, यदि तपाईंलाई यस्तो झट्काले बारम्बार दुःख दिइरहन्छ भने यसका लागि केही उपाय अपनाउन सक्नुहुन्छ ।
भलै स्टेटिक चार्जले दिने झट्का सामान्य खालको हुन्छ, तर बारम्बार यसको चपेटामा पर्दा मनोवैज्ञानिक असर पनि पर्नसक्छ । त्यसैले गर्मीको मौसमभर तपाईं स्टेटिक चार्जको झड्कासँग बँच्न नै उत्तम हुन्छ ।
– बीबीसीबाट
प्रतिक्रिया 4